|

म्याग्दी : कसैलाई होच्याएर गाली गुर्नपर्यो भने ‘तँ मुला’ भन्ने गरिन्छ। मुला शब्दलाई खासै राम्रो रुपमा प्रयोग गरिँदैन। तर, म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन भएका मुला नै टोड्केका पहिचान बनेको छ। यहाँका दुई परिवार मुला बेचेर नै मालामाल भएका छन्।

समुद्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा अवस्थित टोड्केमा बसोबास गर्ने चार परिवारमध्ये दुई परिवारको पुर्ख्यौली पो नै मुला खेती रहेको छ। वर्षौं पहिलेदेखि मुला खेती गर्दै खाएकी टोड्केकी तिजमाया पाइजाले मुला बिक्री गरेर नै वार्षिक एक लाख रुपैयाँभन्दा बढी कमाइ हुने बताइन्। ‘हाम्रो आम्दानीको प्रमुख स्रोत भनकै मुला, आलु र फापर हो,’ पुनले भनिन्, ‘यही बेचेर वर्षभरीका लागि खर्च पुग्छ।’

करिब दुई रोपनी क्षेत्रफलमा मुला खेती गरेकी पाइजाको बारीमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमणमा आएका आन्तरिक पर्यटकहरु मुला खरिदका लागि जाने गर्दछन्। पहिला पहिला म्याग्दी, बाग्लुङ र पर्वतका विभिन्न गाउँहरुबाट धान लिएर मुला साट्न मानिसहरु आउने गरेकामा पछिल्लो समय गाउँगाउँमा व्यवासायिक मौसमी वा बेमौसमी तरकारी खेतीको लहर चलेकाले पहिलाको जस्तो बिक्री हुन छोडेको पाइजाले बताइन्। यहाँका एउटै मुला दुई देखि पाँच किलोसम्मका हुने गर्दछन्।

मुला किन्नका लागि बेनी नगरपालिका–६ बाट टोड्के आएका दयाराम पौडेलले यहाँको मुला स्वादिष्ट र आर्गानिक हुने भएकाले स्वास्थ्यका लागि पनि उपयोगी हुने बताए। दुई बोरा मुला (३० किलो) किनेर घर लैजान तयारी गर्दै गरेका पौडेलले सागको गुन्द्रक र मुलाको धजरा बनाएर हिउँदभरी खाने बताए।

यस क्षेत्रमा रातो र सेतो गरी यहाँ दुई प्रकारका रैथाने जातका मुला उत्पादन हुने गर्छन्। सेता मुलाको तुलनामा रातो मुला ग्राहकहरुको रोजाइमा पर्ने पाइजाले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.