'गरिबमाथि भगवानले न्याय गरेनन्, सहयोगी हातको आस'

|

पर्वत : पर्वतको कुस्मा नगरपालिका-४ जिरो किलोमिटरकी सविता परियार काखमा ११ दिनको बच्चा लिएर कुस्माकै नारायण माध्यमिक विद्यालयमा प्रवेश गरिन्। उनले काखमा च्यापेको बच्चा भने उनको थिएन।

सविताले परिवारमा भएको घट्नाको बारेमा विद्यालयका विद्यार्थी र शिक्षकलाई सुनाउँदा सबैका आँखा रसाए। विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूले शिक्षक र विद्यार्थीसमक्ष पुगेर घटनाको बारेमा जानकारी गराउँदै ८ हजार रुपैयाँ सहयोग संकलन गरे। मानवीय संवेदना बुझ्दै विद्यार्थीहरूले खाजा खानको लागि ल्याएको पैसाबाट थोरै भए पनि सहयोग गरे।

यस्तो छ घटना

गत कात्तिक ६ गते सविताकी देउरानी बिसकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण भयो। कुस्मामा बच्चा जन्माउनको लागि शल्यक्रियाको सुविधा नभएकोले धौलागिरी अञ्‍चल अस्पताल बागलुङमा रिफर भयो।

त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो। यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा पठायो। कात्तिक १७ गते पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी हस्पिटलमा शल्यक्रिया गरेर बिसकाको पेटबाट छोरी निकालियो।

आमा छोरी दुवैको अवस्था ठिकै थियो। तर शल्यक्रिया गरेको २४ घण्टासम्म अर्थात् कात्तिक १८ गतेसम्म पिसाब भएन। उनको शरीर र पेट पूरै फुलेको थियो। मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स-रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखियो।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गयो। तत्कालै  अक्सिजन दिएर आइसियुमा भर्ना गरेर राखियो। तर, विडम्बना आमाको पोसिलो दूध चुस्नुपर्ने १ दिनको बच्चालाई आइसियुमा राख्न मिलेन। बच्चालाई संक्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको बिसकाकी जेठानी सविताले बताइन्।

बिसका ११ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन्। एक/एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नु परिरहेको छ।

उनको उपचारको लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। अब कति लाग्ने हो भन्ने निधो छैन। चिकित्सकहरूले कम्तीमा पनि ३ हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन्। सविताका अनुसार बिसकाको शरीर फुलेकोले नशाहरूमा राम्रोसँग रक्त सञ्चार भइरहेको छैन।

उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठिक पार्नुपर्ने छ। रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नशामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ। अझैसम्म पनि बिसकाको शरीरको पिसाब प्रणालीले काम गरेको छैन।

डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उनका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प छ। तर मिर्गौला दिनको लागि मान्छे पाउनै पनि समस्या रहेको सबिताले जानकारी दिइन्।

नवजात शिशुले पाएन आमाको दूध

कोख चिरेर निकालिएकी पहिलो सन्तान छोरीकै मुख देख्न पाएकी छैनन् बिसकाले। न त आफैँले जन्माएको छोरीलाई एक थोपा दूध चुसाउन पाएकी छिन्। जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएको नवजात शिशुलाई ल्याक्टोजीन खुवाएर प्राण धानिएको छ। ‘यतिसम्म पीडा हुने रहेछ कि कुरै नगरौँ, ११ दिनकी छोरीलाई मसँग राखेर ल्याक्टोजिन खुवाएर प्राण धानेकी छु।’ सविताले भनिन्, ‘जसोतसो आमालाई बचाउन पाए त यो छोरीको प्राण बाँच्ने थियो। जन्मँदै टुहुरी जस्ती भई।’

आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकोले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनले सुनाइन्। छोरी जन्मिएकै रातबाट सविता सुतेकी छैनन्।

‘रातभर नवजात शिशु रातभर रुन्छ, फकाउनै गाह्रो हुन्छ।’ सविता भन्छिन्, ‘छोरी रोएपछि म उठ्छु अनि मेरो गालामा उसको गाला टसाउँदै न्यानो पार्छु। तर पनि मनाउनै मुस्किल।’ शिशुलाई आमाको अभाव हुन नदिन आफैँले दूध चुसाउने गरेको र त्यो बेलामा मन भक्कानिने गरेको बताउँदै सबिताले आफ्नो बोली पूरा गर्न सकिनन्। सविताकी छोरी ६ वर्ष पुगिसकेकोले उनको दूध पनि राम्रोसँग आउँदैन। त्यही कारण दूध चुसाउन लागेको बेलामा ल्याक्टोजिन खुवाउनुपरेको उनको भनाइ छ।

सहयोगको अपिल

बिसकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको अपिल गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ चहारिरहेकी छिन्। मिडिया क्षेत्रका मान्छेसँग खासै परिचय नभएका कारण आफ्नो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने सबिताले बताइन्।

देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भए पनि सविताले जिल्लाका विभिन्न ठाउँहरूमा सहयोग माग्दै हिँड्न थालेकी छिन्। वडा कार्यालयमा हालै मात्रै निवेदन दिएको भए पनि अन्य कार्यालयहरूमा नगएको तर विद्यालयमा गए केही उपाय लाग्ने आसामा हिँडेको उनको भनाइ छ।

आमा र बच्चाको अवस्था बुझेपछि कसैको मन सहयोगका लागि तयार भएमा मेघा बैङ्क, पर्वत शाखामा सविता परियारको नाममा सञ्चालनमा रहेको खाता नं. ०४८००५००११३१९ मा पैसा जम्मा गर्न सकिने उनले बताइन्।

गरिबमाथि भगवानले न्याय गरेनन्

मिर्गौला फेल भएकी बिसकाको परिवारको आर्थिक अवस्था पनि निकै कमजोर छ। आइसियुमा राखिएकी बिसकाका श्रीमान् कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्छन्। उनको कमाई त्यति धेरै छैन, जसले फेल भएका मिर्गौलाको उपचार गर्न सकियोस्।

बिसकाका ससुरा पदम परियारको पनि खुट्टा चल्दैन। नशा सम्बन्धी रोगको कारण गरिएको शल्यक्रियापछि उनको खुट्टा चल्न छाडेको हो। जसोतसो सानो सिलाई पसल सञ्चालन गरेको भए पनि व्‍यापार खासै छैन। बिसकाकी जेठानी सविताको परिवारले पनि मजदुरी गरेर नै जीवन धानिरहेको छ। उनीहरूको जग्गामा उब्जिने खाद्यान्नले परिवारको छाक टर्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.