|

इनरुवा : फौजी किराले खाएर योपटक धानको उत्पादन सोचे जस्तो छैन। उत्पादन भएको धानलाई पनि जोगाउन कोसीटप्पु आसपासका बासिन्दालाई सकस छ। बल्लबल्ल उत्पादन गरेको धान थन्काउने बेलामा हात्तीले नष्ट गरिदिएपछि सुनसरी, सप्तरी, उदयपुरका आरक्ष आसपास बस्ने स्थानीय तनाव छन्।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएका पाँचवटा हात्तीको समूहले काट्न ठिक्क पारेको र काटेको धान खाने गर्ने गरेको छन्। केहीदिन सुनसरीको कोसी गाउँपालिका, बराहक्षेत्र उदयपुरको बेलका नगरपालिकाको क्षेत्रमा किसानले लगाएको धानवालीमा क्षति पुर्‍याएको छ।

हात्तीले पाक्न लागेको र भण्डारण गरेको धान खानेदेखि आरक्ष आसपासको घरसमेत भत्काउने गरेको छ। प्राय दिनभरि हात्ती जंगलतिरै हुन्छ। रात पर्नेबित्तिकै हुलसहित गाउँघर छिरेर धान खाने गर्छ।

विधुतीय बत्तीमा हात्ती खेदाउन अलि सहज हुन्छ। तर, सुनसरीको श्रीलंका टापुमा भने विधुतको पहुचबाट अझै टाढा भएकाले हात्ती खेदाउन जोखिमय छ। 'टर्च लाइट र ठामठाममा बत्ती बाल्न पाएको भए हात्ती अलि कम आउँथे,' श्रीलंका टापुका बासिन्दा श्रीदेव चन्द्रवंशीले भने ’हात्ती आएको बेला टायर र राको मात्र बालेर खेदाउँदै आएका थियौँ।’

यहाँका किसानले हात्ती खेदाउन परम्परागत रूपमा आगोको राको, टिन ठटाएर भगाउने गरेको छन्। 'आगो र टिन ठटाएको आवाजमा आजकाल हात्ती अव्यस्त भएकाले भाग्दैनन' चंद्रबंशिले भने ’त्यसैले आजकाल पट्का पड्काएर हात्ती खेदाउने गरेका छौँ। तर, पनि धानवाली त नोक्सान गरि हाल्छ अहिले पनि।’

उदयपुरमा मात्र गत एक महिनामा हात्तीले आधा दर्जन घर र तीनजनालाई घाइते बनाएको थियो। हात्ती आतंक नियन्त्रण गर्न स्थानीयले नगरपालिका,  स्थानीय प्रशासन, डिभिजन वन कार्यालय कोषिटप्पु वन्यजन्तु आरक्षण क्षेत्र र सुरक्षार्थ खटिएका नेपाली सेनासँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.