|

दाङ : घोराही उपमहानगरपालिका-१६ का अध्यक्ष पदका लागि सातजनाले मनोयन दर्ता गराएका छन्।

१४ मंसिरमा हुने उपनिर्वाचनमा (नेकपा)बाट सुरेश बहादुर केसी, नेपाली कांग्रेसका ताराबहादुर डाँगी, राप्रपाका प्रकास केसी, समाजवादी पार्टीबाट विमला पुन र स्वतन्त्रमा (नेकपा)को असन्तुष्ट पक्षबाट जगलाल चौधरी, समीर वली र पहलमान आलेले स्वतन्त्रबाट मनोयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ।

बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता अन्य दलको तर्फबाट पनि भएको छ। गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका-१६ का अध्यक्ष लक्षीमान बुढाको निधन भएपछि मंसिर १४ गतेको उपनिर्वाचनका लागि बुधबार मनोयन दर्ता गरीएको हो।

उक्त वडामा ४ हजार ४ सय ५३ जना मतदाता रहेका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए। ३७ विभिन्न जिल्लाका स्थानीय तहअन्तर्गत एक नगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्षका लागि उपनिर्वाचन हुनेछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरिएको थियो।

यसैबीच, उपनिर्वाचनको मतदाता शिक्षाको लागि दाङका २६ वटा वडामा ५२ जना कर्मचारी खटाइँदैछ। मतदाताले हालेको मत बदर नहोस् भन्नको लागि मतदातालाई मतदाता शिक्षा दिनको लागि कर्मचारी खटाउन लागेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।  यही मंसिर ५ गतेदेखि १२ गतेसम्म मतदाता शिक्षा कार्यक्रम गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी जिल्ला निर्वाचन अधिकारी बुद्धि खत्रीले बताए।

उपनिर्वाचन हुने दाङ निर्वाचन क्षेत्र नं.३ (ख) प्रदेश सभासदस्य पद र घोराही उपमहानगरपालिका-१६ का मतदातालाई मतदाता शिक्षा दिन लागेको हो।  मतदातालाई मतदान किन गर्ने? कसरी मतदान गर्ने? मतदान गरिसकेपछि मतपत्र कसरी पट्याउने? र मतपत्रको नमुनामा नमुना मतदानसमेत गरिने छ।

दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा ६८ हजार ७ सय १९ जना र घोराही उपमहानगरपालिका वडा नं १६ मा ४ हजार ४ सय ५३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।  मतदाता शिक्षाको लागि २ लाख ३४ हजार रुपैयाँ बजेटसमेत छुटाइएको छ। एक वडामा दुई कर्मचारी खटाइने छन् भने एक कर्मचारीले ४ हजार ५ सय को दरले भत्ता उपलब्ध गराइने छ।

प्राथमिक विद्यालय तहका शिक्षक, प्रारम्भिक बालविकास केन्द्रका शिक्षक तथा ग्रामीण महिला स्वास्थ्य स्वयम्सेविकाले मतदाता शिक्षामा खटिने छन्। कम्तिमा पनि एसइई पास गरेका नेपाली व्यक्तिमार्फत मतदाता शिक्षा प्रदान गरिने भएको छ।

विगतको निर्वाचनको समयमा मतदाता धेरैजसो मत बदर भएको थियो। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मत बदर नहोस् भन्नको लागि प्रभावकारी रुपमा मतदान शिक्षा कार्यक्रमको आयोजना गर्न लागि निर्वाचन कार्यालय दाङले जनाएको छ।

त्यसैगरी उपनिर्वाचनका लागि ४ सय ५० जना कर्मचारी खटिने भएका छन्। मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहयोगी गरेर ४ सय ५० कर्मचारी खटिने भएका हुन्। जिल्लाका दुई निर्वाचन स्थानका ३४ निर्वाचन स्थललाई व्यवस्थापन गर्नको लागि कर्मचारीहरू खटाईने मुख्य निर्वाचन अधिकृत थापाले बताए।

जिल्लामा एक प्रदेशसभा सदस्य र एक वडा अध्यक्षका लागि २ स्थानमा ३४ मतदान स्थल र ४२ मतदान केन्द्रहरू तोकिएको छ। ती केन्द्रहरूमा कर्मचारी खटाइने तथा जिम्मेवारी बाँडफाँडसमेत गरिएको छ।

त्यसैगरी, मंसिर १४ नजिकिँदै गर्दा जिल्ला सुरक्षा संयन्त्रले निर्वाचन हुने केन्द्रको स्थलगत अनुगमन र अवलोकनलाई तीब्रता दिएको छ। विशेष गरि पश्चिम दाङमा रहेका अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रमा समेत उचित सुरक्षा व्यवस्था मिलाउन स्थलगत अनुगमन जिल्ला सुरक्षा संयन्त्र पुगेको हो।

प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अगुवाइमा जिल्ला प्रहरी प्रमुख जनक भट्टराई, नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुखसहितको संयुक्त टोलीले बबई, शान्तिनगर र दंगीशरणका झण्डै ३१ वटा मतदान केन्द्रको स्थलगत अनुगमन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.