|
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

काठमाडौं : उपनिर्वाचन (मंसिर १४) पहिले संवैधानिक आयोगमा नियुक्तिका लागि संवैधानिक परिषदबाट पदाधिकारी र सदस्यहरूको सिफारिस नहुने भएको छ।

संवैधानिक परिषदको बुधबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो। विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने एजेन्डासहित बोलाइएको परिषदको बैठक समय अभावका कारण स्थगित भएको हो।

संवैधानिक परिषदको बैठकमा भाग लिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास  बालुवाटार पुगेका थिए।

'संवैधानिक आयोगहरूमा नियुक्तिको एजेन्डासहित बैठक बोलाइएको थियो तर नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपतिसँग नेताहरूको भेट गर्ने समय जुधेकाले आज बैठक बस्न सकेन', उपसभामुख तुम्बाहाम्फेले भनिन्, 'तयारी भएको छ, छिट्टै अर्को बैठक बसेर निर्णय हुन्छ।'

तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच भने रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी र सदस्यको नियुक्ति उपनिर्वाचनपछि मात्रै गर्ने सहमति भएको छ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार 'प्रधानमन्त्रीले मंसिर १४ गतेपछि मात्रै संवैधानिक आयोगहरूमा नियुक्त गर्ने गरी संवैधानिक परिषदको आजको बैठक स्थगित गरेका हुन्।'

मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदका लागि उपनिर्वाचन हुन गइरहेको छ। जसका लागि मनोनयन दर्ताको काम चलिरहेको छ।

विभिन्न संवैधानिक आयोग तथा निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारू, समावेशी, मुस्लिम लगायतका आयोगमा पदाधिकारी र सदस्यहरू लामो समयदेखि नियुक्त हुन सकेका छैनन्।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.