सातवटा वडाअध्यक्षका लागि मनोनयन दर्ता

|

काठमाडौं : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै सुदूरपश्चिममा चुनावी चहलपहल  बढेको छ।

सुदूरपश्चिम प्रदेशस्थित पाँच जिल्लाका सात वडामा उपनिर्वाचन हुने भएको छ। उपनिर्वाचनमा ती वडाका १० हजार ९ सय ३७ मतदाताले मतदान गर्न पाउने भएका छन्।

डोटी, बाजुरा, अछाम, बैतडी र कञ्चनपुरमा वडाध्यक्षका लागि उप निर्वाचन हुने भएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा रिक्त रहेको वडाध्यक्षका लागि उम्मेदवार मनोनयन दर्ता भएसँगै चुनावी माहोल तातेको छ।

२०७४ को स्थानीय चुनावमा तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा फैरू तामाङ विजयी भएका थिए। जिल्ला समन्वयन समिति कञ्चनपुरमा जिल्ला संयोजक भएपछि फैरूले वडाध्यक्षबाट राजीनामा दिएका थिए।

फैरूको राजीनामापछि रिक्त वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा बुधबार निर्वाचन कार्यालयमा ५ वटा दलका उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ। वडाध्यक्षका लागि नेकपाबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी नेपाली कांग्रेसबाट दीपबहादुर तामाङ (डिबी लामा) ले उम्मेदवारी दर्ता गराएका छन्। समाजवादी पार्टी नेपालबाट भीमबहादुर पाख्रिन, राप्रपाबाट पदमबहादुर शाही र राप्रपा संयुक्तबाट धनबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्। उता बैतडीमा वडा नम्बर ३ को वडाअध्यक्षको लागि ८ जानाले मनोनयन दर्ता गराएका छन्।

जिल्लाको सूर्नया गाउँपालिका-१ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन्।

यस्तै पुरचौंडी नगरपालिका-४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्।

उता दोगडाकेदार गाउँपालिका-४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेद्वारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । 

नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै अछामको मेल्लेख गाउँपालिका-५ बिन्देबासीनिमा उपनिर्वाचनको लागि दुई दलले मनोनयन दर्ता गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीबाट रमेशबहादुर खड्काले मनोनयन दर्ता गरेका छन्। खड्काको समर्थक वीरबहादुर साउद प्रस्तावक गोरख बहादुर खडका रहेका छन्। नेपाली कांग्रेसकातर्फबाट वीरबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन्। 

बाजुराको त्रिवेणी नगरपालिका-१, का लागि ३ जनाले मनोनय दर्ता गरेका छन् । वडा अध्यक्षका लागि नेकपाका मनराजे बुढा, नेपाली काग्रेसका खगेन्द्र चदारा र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीनबहादुर ढोलीले मनोनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए।

डोटीको आदर्श गाउँपालिका-२ को वडाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राप्रपा र एकजना स्वतन्त्र गरी चारजनाको उम्मेदवारी परेको छ। 

जसमा नेकपाका तर्फबाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसका तर्फबाट महादेव साउँद, राप्रपाका काशिराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिँह खड्काको मनोनयन परेको छ।

यसअघि तत्कालीन नेकपा एमालेबाट निर्वा्चित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको ठाउँमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो। सबै जिल्लामा उम्मेदवारी दर्ता गराए सगै चुनाबी चहलपहल बढेको हो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.