|
अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युवाका राष्ट्रपति राउल क्यास्त्रो, फोटो : www.vosizneias.com

  • दिलीप शर्मा 

काठमाडौं : आधा शताब्दीभन्दा बढी रहेको अमेरिका र क्युवाको कटुताले पछिल्ला दिनमा आइपुग्दा बिस्तारै सहज हुँदै जान थालेको छ। लामो समयसम्म विगे्रको सम्वन्ध सुधारका लागि अमेरिकी राष्ट्रपति बाराक ओवामाले करिब २ वर्ष पहिले क्युवामाथि लगाउदै आएको आर्थिक नाकाबन्दी हटाउने निर्णयपछि अमेरिका र क्युवाका विदेश मन्त्रालयका अधिकारीबीच छलफल भयो।

पहिलो चरणका वार्तामा अमेरिकी प्रशासनले क्युवामा मानवअधिकारको अवस्थाबारे बढी चासो व्यक्त गर्‍यो भने क्युवाले आफूविरुद्ध अमेरिकाले लगाउदै आएको आर्थिक नाकावन्दीलाई विशेष महत्व दियो। लामो समयसम्म सम्वन्धविच्छेद गरेका दुई मुलुकबीच एक अर्काको कमजोरी औल्याउने गरी वार्ता हुनु नै दुई देशको सम्वन्ध सुधारका लागी सकारात्मक पाटो थियो। अधिकारीहरुले वार्ता सौहार्दपूर्ण र सम्मानजनक अवस्थामा टुङ्गिएको बताउँदै थप चरणका वार्ता गर्ने सहमतिका साथ वासिङ्टनतर्फ फर्किए। वार्तामा अमेरिकाले सहायक विदेशमन्त्रीलाई पठाएको थियो। केही महिनाको प्रयासपछि थप चरणका वाता गरिए।

कुटनीतिक सम्वन्धलाई सुधार्दै लाने प्रतिवद्धता अनुकुल नै सन् १९६१ जनवरी ४ मा हटाइएको अमेरिकी झण्डालाई क्युवामा राख्ने सहमति भयो। सन् २०१५ को अगस्त १४ मा अमेरिकी विदेशमन्त्री जोन केरी क्युवा पुगे र अमेरिकी दुताबासमा झण्डोत्तलनको नेतृत्व लिए। यस अवसरलाई अमेरिकी तथा क्युवाली जनताले विशेष महत्वका साथ लिए। सन् १९४५ पछि अमेरिकाबाट क्युवा केरी पहिलो विदेशमन्त्री हुन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र राहुल क्यास्ट्रोकावीच सन् २०१४ को डिसेम्बरमा अमेरिकी शिखर सम्मेलनमा भएको संक्षिप्त भेटवार्ता क्युवा र अमेरिकाबीचको सम्वन्ध सुधारका लागि शुभ साइत थियो। ओबामा ८८ वर्षपछि क्युवा भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने। उनले आफ्नो तीन दिने क्युवा भ्रमणमा क्युवाका पूर्वराष्ट्रपति तथा क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोसँग त भेट भएन तर उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल, लगायतका उच्च पदस्थ क्युवाली अधिकारीलाई भेटे। हवानामा रहँदा उनले क्युवाली जनतालाई प्रजातन्त्र र मानवअधिकारलगायतका कुरामा जागृत हुनुपर्छ भनी दिएको सुझावलाई लिएर फिडेल क्यास्ट्रोले क्युवाको जनताको अधिकारबारे ओबामालाई सल्लाह दिन आवश्यक नभएको भनी ओबामाको आलोचना पनि गरे।

तर क्युवा र अमेरिकाले सम्वन्ध सुधार गर्दै अघि बढ्ने कुरामा अमेरिकी प्रशासन दृढ रहिरह्यो। धेरै चरणममा भएका वार्तासँगै शुक्रबार अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका आउने क्युवाली प्रवासीलाई एक वर्ष पछि कानूनीरुपमा स्थायी निवासी बन्न अनुमति दिने दुई दशक पहिलेको ‘वेट फुट, ड्राई फुट’ नीतिको अन्त्य गर्नुभएको छ। राष्ट्रपति ओबामाले आफ्नो कार्यकालका अन्तिम समयमा गरेको यो निर्णय लागू हुने कुरामा शङ्का देखिन्छ किनकी कतिपय निर्णय अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले उल्टाउन पनि सक्छन्।

शुक्रबार क्युवा सरकारको ‘वेट फुट, ड्राई फुट’ नीतिको अन्त्य भएको घोषणा गर्दै क्युवासँगको सम्वन्ध सामान्य गर्न र आफ्नो आप्रवासन नीतिलाई बढी स्थिर गर्न महत्वपूर्ण हुने सो कदम कदम उठाइएको बताए। अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले ल्याएको ‘वेट फुट, ड्राइ फुट’ नीतिअनुसार समुद्रमा पक्रिएका क्युवालीलाई फिर्ता पठाउने र समूद्र पार गरी अमेरिका प्रवेश गरेका क्युवालीलाई त्यहाँ बसोबास गर्न दिने र एक वर्षको बसाइपछि नागरिकता दावी गर्न पाउने प्रावधान छ। उनीहरुलाई अमेरिका पुग्ने आप्रबासी कोटा अन्तर्गत नराखिने व्यवस्था छ।

राष्ट्रपति ओबामाले एक विज्ञप्ती जारी गरी तत्कालै लागु हुनेगरी सो निर्णय गरिएको बताए। निर्णयले अब अमेरिका पुग्ने क्युवाली नागरिकलाई ड्राई फुट वेट फुटले व्यवस्था गरेअनुसार अमेरिकामा बस्ने अनुमति खारेज हुनेछ। अधिकांश क्युवाली मुलका अमेरिकी जनता जसले हालैको निर्वाचनमा समय अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई मतदान गरे उनीहरुलाई भने बेखुसी तुल्याएको छ। पक्कै ट्रम्प प्रशासनले पनि यस विषयलाई सहज स्वीकार गर्ने छैन।

यद्यपि यो निर्णयलाई क्युवा सरकारले विहीबार स्वागत गर्दै यसलाई दुईपक्षीय सम्वन्ध सुधारका लागि महत्वपूर्ण कदम भनेको छ। अमेरिकी ड्राई फुट वेट फुट नीतिका कारण लाखौं दक्ष तथा प्रतिभाशाली क्युवाली युवा सजिलोसँग कमाई गर्न र अमेरिकी भोगविलासका लागि अमेरिका पलायन भएको र यसले क्युवाको आर्थिक विकासमा समस्या ल्याएको हवानाको बुझाइ छ।

यसैबीच अमेरिकामा क्युवाली मुलका अमेरिकी जनसङ्ख्या प्रभावशाली राजनैतिक, सांस्कृतिक र आर्थिक शक्ति बनेको छ। हालका दिनमा कानूनीरुपमा अमेरिका बस्दै आएका रिपव्लिकन पार्टीका तर्फबाट गत वर्षको अमेरिकी राष्ट्रपतिका उम्मेदवार मार्को रुवियो र टेड क्रुजसहित क्युवाली मुलका अमेरिकीको सङ्ख्या १८ लाखभन्दा बढी छ।

क्युवाली बिषयले अमेरिकी निर्णयमा महत्वपूर्ण मानिने फ्लोरिडासँग गासिएको छ। हवानामाथिको आर्थिक नाकाबन्दी हटाउने निर्णय होस् वा क्युवाका लागि अख्तियार गरिन लागेको आप्रबासन नीति दुबै कुराले यहाँका राजनितिज्ञलाई चिन्तित तुल्याउने छ। तर आप्रबासन सम्वन्धि नीति अमेरिका र क्युवाबीचको सम्वन्धमा देखिएको क्रमिक सुधारपछि क्युवाको वलमा ल्याइएको दस्तावेज हो।

ओवामाको क्युवा भ्रमणपछि यो नीतिमा परिवर्तन हुने अपेक्षा गरिएको विषय थियो।

यसैबीच हालै फ्लोरिडाबाट निर्वाचित सिनेटर रुवियोले ओवामाद्वारा ल्याइएको नीतिलाई असफल क्युवा नीतिका रुपमा चित्रण गर्दै निर्णयलाई निरर्थक भन्नुभएको छ। उनले एक हप्तापछि परिवर्तन हुने नयाँ अमेरिकी प्रशासनले यसलाई खारेज गर्ने विश्वास गरे। उनले क्युवाली राष्ट्रपति राहुल क्यास्ट्रोको प्रभावमा यो नीति ल्याइनु दुर्भाग्यपूर्ण बताएका छन्।

ओबामाले पछिल्लो निर्णय अमेरिकाले अन्य मुलकसरह क्युवालाई पनि व्यवहार गर्ने उद्देश्यले अभिप्रेरित भएको र यो क्युवा–अमेरिका सम्वन्ध सुधारका लागि अभुतपूर्व अर्को कदम हुने बताएका छन्।

वार्ताका क्रममा क्युवा सरकारले द्वन्द्व र त्यसपछि विस्तापित बनेर वा आफ्नै रोजाइमा अमेरिका पुगेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न तयार देखिएको ओबामाले बताए। राष्ट्रपति ओबामाले क्युवाली जनताले चाहेमा अन्य मुलुकबाट अमेरिका आउने आप्रबासीलाई सरह संविधानले व्यवस्था गरे बमोजिम अमेरिकी भूमि खुला रहने उहाँको भनाइ छ।

तर पानामा क्षेत्रमा कठीन यात्रा गर्दै पुगेका कैयो क्युवालीले भने अमेरिकाको यो निर्णयले आफ्ना अधिकारमाथि तुषारापात गरेको भनी राष्ट्रपतिको कदमको कटु आलोचना गरेका छन्।

पानामा शहरस्थित क्याथोलिकको बस्तीमा बस्ने तेत्तीस वर्षिय यादिएल क्रुजले भने, “राष्ट्रपति ओबामाले सबै क्युवाली जनतालाई निराश बनाएका छन्।” आफूजस्तै अमेरिका जान चाहने उर्जाशील युवालाई रोक्नुले धेरै आफ्ना सहपाठी निराश बनेका उनको भनाइ थियो।

अमेरिकी अधिकारीले बिहीबारको निर्णयले क्युवाली नागरिकलाई हरेक वर्ष चिठ्ठा कार्यक्रममार्फत २० हजार क्युवालीले अमेरिका प्रवेश गर्न पाउने अवसरलाई भने प्रभावित नतुल्याउने जनाएका छन्।

क्युबाली क्रान्तिका समय अमेरिकी सम्पत्ती जफत र अमेरिकाद्वारा क्युवामाथि लगाइएको आर्थिक नाकाबन्दीबाट भएको क्षतिपूर्तिका विषयमा दुई देशका प्रतिनिधिबीच क्युवाको राजधानी हवानामा बिहीबार वार्ता सुरु भएको छ। यस विषयमा सन् २०१५ को डिसेम्वरमा हवानामा र सन् २०१६ को जुलाइमा वासिङ्टनमा भएको वार्ता कुनै निष्कर्ष बिना टुङ्गिएपनि क्युवा र अमेरिका बीचको कुटनैतिक पहलमा दुई देशका प्रतिनिधिबीच पुनः वार्ता सुरु भएको हो।

वार्ताबारे दुई देशका प्रनिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ। “वार्ता अघिल्ला दुई सम्मेलनमा भएको छलफल र प्राविधिक विवरणका आधारमा अघि बढाइने र आपसी सहमतिमा निचोड निकालिनेछ। आधा शताव्दीभन्दा बढी समयसम्म विगे्रको सम्बन्ध सुधार गर्न दुबै देश सहमत भइसकेपनि सो समयमा एकअर्काको गतिविधिका कारण परेको आर्थिक क्षतिपूर्तिको विषय विबादको विषय बन्न सक्छ।

क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज अमेरिकी आर्थिक नाकाबन्दीका कारण क्युवाले १२५ अर्ब ९० करोड अमेरिकी डलरको क्षति व्यहोरेको केही समय पहिले अर्थात् सन् २०१६ को सेप्टेम्बरमा बताएका थिए। त्यसैगरी विभिन्न ६ हजार अमेरिकी कम्पनी तथा व्यक्तिले क्रान्तिका समय क्युवामा रहेको एक अर्ब ९० करोड बराबरको सम्पत्ती गुमाएको अमेरिकीको दावी छ। यद्यपि साँवा र ६ प्रतिशत व्याजसहित रकम ८ अर्ब अमेरिकी डलर बराबर हुन आउने अमेरिकी दावी छ। वार्ता चलिरहेको छ। वार्ताबाट आउने परिणामले विश्वलाई एउटा सकारात्मक सन्देश दिनेछ। यही आशा गरौं।

- विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्ययमको सहयोगमा 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.