|

काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजनामा बुधबारबाट सुरु भएको योनेक्स सनराइज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०१९ मा नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ पराजित भएका छन्।
२१ राष्ट्रका १४९ खेलाडी सहभागी रहेको प्रतियोगितामा दिपेश धामी र विष्णु कटुवालले भने विजयी सुरुवात गरेका छन्। दिपेशले भारतका दीपक शर्मामाथि २१–१०, २१–१६ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन्।

यस्तै विष्णुले भुटानका निदुप दोर्जीलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। विष्णुले दोर्जीमाथि २१ – ९, २१ – ४ को सहज जित निकालेका थिए।
तर, नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ भने पराजित भए।
तामाङ थाइल्याण्डका अदुईराच नामकुलसँग २१–९, २१ – ४ अंकका साथ पराजित भएका हुन्। अर्का नेपाली खेलाडी नविन श्रेष्ठले भने प्रतिद्वन्दीबाट वाकओभर प्राप्त गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्। नवीनले भारतका अभिषेक यालगारबाट वाकओभर पाएका थिए।

विकास श्रेष्ठ र प्रफुल महर्जन पनि आ–आफ्नो खेलमा पराजित भए। नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले पनि नेपालीहरूको विश्वास कायम राख्न असफल भए।

दुवई अन्तराष्ट्रिय सेरिज र हालै मालदिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल दाहाल च्यालेञ्जमा दोस्रो वरीयता प्राप्त रसियाका सर्जी सिरान्तसँग २१–१७, २१–१२ को सेटमा पराजित भए।

महिलातर्फ नेपाली खेलाडीहरुको प्रदर्शन निराशाजनकनै रह्यो। महिला युगलतर्फ अमिता गिरी र अनुमाया राईको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखसँग २१ – १७, २१ – ८ ले, पुजा श्रेष्ठ र जेशिका गुरुङ्ग बंगलादेशका अक्तर सप्ला र अलिना सुल्तानसँग २१ – ९, २१ – १४ ले, निता लम्साल र सिमा राजवंशीको जोडी
भारतका मनिषा र रुतापर्ना पन्डासँग २१ – १४, २१ – १४ को समान अन्तरले तथा रशिला महर्जन र सीता राईको जोडी भारतकै अपर्ना बलान र त्रिशा जोलीसँग २१ – १०, २१ – १० को समान अन्तरले पराजित भए।

२५ हजार डलर पुरस्कार राशि रहेको च्यालेञ्जमा पुरुष तथा महिला एकल र युगल तथा मिश्रित युगल गरी कुल ५ विधामा नेपाललगायत २१ राष्ट्रका १४९ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.