|

कञ्चनपुर : आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ चुरे पर्वत श्रृंखलामा रहेको बतासे झर्ना नियाल्न पुगेका प्रतिनिधिसभाका सांसद नरबहादुर धामी झर्नाको बखान गर्न चुक्दैनन्।

पर्यटन वर्ष २०२० को प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि झर्नामा पुगेका सांसद धामी झर्नामा पुगेर त्यसको मनोरम दृश्य देखेर रोमाञ्चित मात्रै भएनन् झर्नाको पानीमा नुहाउन र पौडीको मज्जा लिनसमेत पछि परेनन्।

चिसो, कञ्चनपानी र वाह्य कोहालह बाट टाढा रहेको यस क्षेत्रमा पुग्दा मनहलुका भयो उनले भने, ‘मनमोहित गर्ने भर्जिन गन्तव्यको प्रचार प्रसारमा जोड दिइनुपर्छ।’

‘पहाडको माथिबाट झर्दै गरेको निश्चल पानी बगेको झर्नाको दृश्य देखेर मन्त्रमुग्ध नहुने कोही छैन। झर्नाको संरक्षण गरी पर्यटकलाई यस क्षेत्रमा पुग्नका लागि भौतिक पूर्वाधार बनाउनमा सबैले जुटनुपर्छ। यसका लागि मैले पनि सक्दो पहल गर्छु’ उनले भने।

संविधानसभाका सभासद टेकेन्द्रप्रसाद भट्ट पर्यटकीय क्षेत्रको विकास गरी पर्यटक भित्र्याउन सके स्थानीय बासिन्दाको आयस्रोतमा बृद्धि हुनुका साथै रोजगारीका अवसर सृजना हुने भएकाले यसको विकासमा जुटनुपर्ने बताउँछन्।

झण्डै दुई सय फिट माथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झर्ना भन्ने गरिएको वडा अध्यक्षबहादुर सिंह महराले बताए। दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झर्ना झर्ने गरेको छ।

झर्नाको दृश्य अलौकिक छ उनले भने, ‘झर्नाको दृश्य हेर्नेहरु मन्त्रमुग्ध नहुने कोही छैन। झर्नासँगै एकान्तमा रम्नेहरुका लागि यो गतिलो गन्तव्यनै हो।’

चराको चिरविर आवाज सुन्दै झर्ना भएको ठाउँमा हिँडदै गरेका बेला नजिकैबाट चितुवा, लगुना, बँदेल लगायतका जंगली जनावर उफ्रिँदै हिँडेको दृश्यले मनमा नयाँ उमंग थप्ने गरेको छ। वडा कार्यालयले धारापानी गाउँसम्म झर्ना पुग्नका लागि  सडकको ट्रयाक खोलेको छ।

पूर्वपश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्म मोटरसाइकल लगायतका सवारीसाधनमा चढेर सहज रुपमा पुग्न सकिन्छ।

पर्यटक पुगेसँगै गाउँमै आम्दानी

झर्नाबारे पहिला धारापानी गाउँका बासिन्दालाई मात्रै थाहा थियो स्थानीय साइमले धामीले भने, ‘प्रचारप्रसार नहुँदा त्यस ठाउँसम्म घाँस काट्न जानेले मात्रै झर्नाको पानीमा नुहाएर फर्कन्थे।' यस ठाउँका बारेमा नगरपालिकामा व्यापक प्रचार हुन थालेपछि आन्तरिक पर्यटक पुग्न थालेको उनको भनाइ छ।

सुविधाविहीन अवस्थामा रहेको धारापानी गाउँका बासिन्दाले उत्पादन गरेका कृषि उपज, कुखुरा र खाद्य पदार्थ आन्तरिक पर्यटकले खरिद गर्न थालेपछि आर्थिक अवस्थामा सुधार आउन थालेको छ।

धारापानी क्षेत्रमा दैनिक पिकनिक मनाउन आउनेहरुको संख्या धेरै छ बोहराले भने, ‘पिकनिक खानेहरु आउन थालेपछि स्थानिय कृषि उत्पादनहरु बिक्री हुने भएकाले असहज जीवन सहज बन्न थालेको छ।’

  झरना हेर्न सडक

दैनिक पर्यटकीय क्षेत्र बतासे झर्नाको सौन्दर्य हेर्नका लागि एक सय देखि तीन सयको संख्यामा पर्यटक पुग्ने गरेका छन्। पर्यटकीय क्षेत्र बतासे झर्ना पुग्नका लागि धारापानी गाउँसम्म ६ लाख बढीको लगानीमा झण्डै तीनकिलो मिटर सडक निर्माण गरिएको छ।

भारतको मजदुरीभन्दा गाउँकै कमाइ राम्रो

सडक निर्माणसँगै पर्यटक आउन थालेपछि गाउँमै किरानाको समान र नास्ता पसल सञ्चालन गरेर दैनिक रु एक हजार पाँच सय देखि रु दुई हजारसम्म आम्दानी लिँदै आएको स्थानीयको सुदर्शन ठगुन्नाको भनाइ छ।

भारतमा मजदुरी गरेर हुने कमाइभन्दा गाउँमै खोलिएको पसलबाट गतिलो आम्दानी हुन थालेकाले परिवारका सबैजना बिहानदेखि साँझ अबेरसम्म पसलमा व्यस्त हुने गरेको ठगुन्नाले  बताए।

गाउँमा पहिला एउटा पनि पसल थिएन उनले भने, ‘हाल दुईवटा पसल खोलिएका छन्। दुवैजनाको चाहे अनुरूपको आम्दानी हुन थालेको छ।’ गाउँमा बसोवास गर्ने २५ परिवारमध्ये अधिकांशले बाख्रापलन र स्थानीय जातका कुखुरासमेत पालेका छन्।

विगतमा बाख्रा बिक्री गर्न र कुखुरा बेच्नका लागि बजार खोज्दै टाढासम्म पुग्नुपर्ने अवस्था थियो साइमले धामीले भने, ‘पर्यटकीय क्षेत्र पुग्ने पर्यटकले खसी, बोका र कुखुराको माग गर्न थालेपछि बिक्री बढेको छ। बजार चहार्दै नपाइने मूल्य घरमै पाइन थालेको छ।’

स्थानीय बासिन्दा भन्छन्, ‘अब अरूको देशमा दरवान, कुल्ली र भरिया बनेर गर्दै आएको कार्य गाउँमा पुगेको सडकले हटाइदिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.