|

बार्सीलोना : क्याटलान क्लब बार्सीलोनाले आफ्ना निर्देशक पेरे ग्राटाकोसलाई जिम्मेवारीबाट बर्खास्त गरेको छ। यसअघि 'संस्थगत सम्बन्ध' निर्देशक ग्राटाकोसले लियोनल मेसी टोलीका अन्य खेलाडीहरु बिना उत्कृष्ट हुन नसक्ने बताएका थिए। 

बुधबार एथलेटिको क्लब विरुद्धको खेलपछि पत्रकारहरुले मेसीको प्रदर्शनलाई लिएर ग्राटाकोससँग प्रश्‍न राखेका थिए। मेसीको नयाँ सम्झौताका विषयमा सोधिएको प्रश्नको जवाफ दिन उनले अस्विकार गरे। तर मेसीको प्रदर्शनका विषयमा विवादास्पद भनाइ राखे। 'बार्सीलोनालाई अघि बढाउने लियो मात्रै होइनन्। लियो टोलीका सबैभन्दा महत्वपूर्ण व्यक्ति भने हुन्। तर क्वाटरफाइनलमा स्थान बनाउने श्रेय पुरै टोलीलाई जान्छ,' उनले भनेका थिए,'नेइमार,लुइस सुआरेज, आन्द्रेस इनिष्टा, जेरार्ड पिके र बाँकी खेलाडी बिना लियो राम्रो खेलाडी बन्न सक्दैनन्। तर निर्विवाद रुपमा लियो टोलीका सर्वोत्कृष्ट खेलाडी हुन्।'

पछिल्लो समय मेसीको नयाँ सम्झौताको विषयलाई लिएर बार्सीलोनामा विवाद देखिएको छ। असन्तुष्ट मेसीलाई मनाउन बार्सीलोनाले उनलाई धेरै तलब दिनुपर्ने हुन्छ। तर लुईस सुआरेज र नेइमारसँग यसअघि नै आकर्षक तलबमा सम्झौता गरिसकेको बार्सीलोना मेसीलाई धेरै तलब दिनसक्ने अवस्थामा छैन्। त्यसैले बार्सीलोनाको बोर्ड र मेसीबीचको सम्बन्ध राम्रो छैन्। यही खराब सम्बन्धलाई ग्राटाकोसको अभिव्यक्तिले बाहिर ल्याइदिएका कारण उनलाई बार्सीलोनाले बर्खास्त गरेको हो। ' बार्सीलोनाले ग्राटाकोसलाई बर्खास्त गरेको छ। उनले दिएको अभिव्यक्ति क्लबको आधिकारीक अभिव्यक्ति नभएको जानकारी शाही स्पेन फुटबल महासंघलाई गराउँछौ।' बार्सीलोनाले विज्ञप्तिमा भनेको छ। मेसीले बार्सीलोनाको युवा टोलीबाट खेल्दा ग्राटाकोस प्रशिक्षक थिए। 

यसअघि बार्सीलोनाका सीईओ ओस्कार ग्राउले क्लबले मेसीको सम्झौताका विषयमा सोच्नुपर्ने बताएका थिए। नेइमार र लुइस सुआरेजले बार्सीलोनासँग नयाँ सम्झौता गरिसकेपनि मेसीले अझै नयाँ सम्झौता गरेका छैनन्। क्लबका सीईओ ओस्कारले बजेटको सीमितताका कारण मेसीसँग सम्झौता गर्नुअघि क्लबले धेरै सोच्नुपर्ने बताएका थिए। यसअघि बार्सीलोनाले आफ्नो शक्ति कायमै राख्न मेसीलाई खुसी पार्नुपर्ने लुईस सुआरेजले बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.