अर्थ मन्त्रालयकै विश्‍लेषण सात प्रतिशतको मात्रै वृद्धिदर

|

काठमाडौं : बजेट सार्वजनिक गरेको चार महिनापछि नै सरकारले चालु आर्थिक वर्षको लागि राखेको आर्थिक वृद्धिको लक्ष्य घट्ने प्रक्षेपण गरेको छ। गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सार्वजनिक गर्ने क्रममा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेकोमा चालु आर्थिक वर्षको तीन महिनाको यर्थाथ विश्‍लेषण गर्दा सात प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएको अर्थ मन्त्रालयले स्रोतले जनाएको छ। 

यसअघि विश्‍व बैंकले सात प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल हुनसक्ने आधार रहेको जनाएको थियो। अर्थ मन्त्रालयले पनि सोही अंक राखेर प्रारम्भिक प्रक्षेपण गरेको हो।

'अहिलेको तथ्यांक विश्‍लेषणले ७.०१ प्रतिशतसम्मको आर्थिक वृद्धि गर्न सकिने आधार देखिन्छ' अर्थ मन्त्रालय स्रोतले भन्यो। सात प्रतिशतको वृद्धिदर हासिल गर्न सकेको अवस्थामा नेपालको ३१ खर्ब २९ अर्ब रुपैयाँको कुल गार्हस्‍थ उत्पादन हुने देखिन्छ। गत आर्थिक वर्षमा आधारभूत मूल्यमा कुल गार्हस्‍थ उत्पादनको आकार २९ खर्ब ३४ अर्ब रुपैयाँको थियो। 

विशेषगरी कृषि उत्पादन त्यसमा पनि धानको उत्पादन नै घट्ने भएका कारण कृषि उत्पादनमा आर्थिक वृद्धिमा असर गर्ने अर्थ मन्त्रालयको विश्‍लेषण छ। नेपालको आर्थिक वृद्धिदरमा २८ प्रतिशत योगदान कृषि क्षेत्रको देखिन्छ भने समग्र कृषि क्षेत्रमा १३ प्रतिशत धानको उत्पादन देखिन्छ। धानको मात्रै नभई प्रमुख बालीहरूको उत्पादन घट्ने जानकारी कृषि मन्त्रालयले गराइसकेको छ।

यस वर्ष मनुसन ढिला हुनु, समयमा मल नपाउनु र लगाउको धानमा पनि फौजी किराको प्रकोप लाग्नुले धानुको उत्पादन घट्ने प्रक्षेपण कृषि मन्त्रालयको छ। गत वर्ष समयमै मनसुन र समग्र कृषि उत्पादन वृद्धिको कारणले गर्दा आर्थिक वृद्धिमा प्रभाव परेको थियो। त्यस्तै, समग्र व्यापारको प्रभाव पनि आर्थिक वृद्धिमा देखिएको थियो। 

नेपाल अर्थतन्त्रमा मुख्य योगदान पुर्‍याउने दुई क्षेत्र नै चालु आर्थिक वर्षमा घट्ने देखिएको छ। आयात व्यापारमा नै केन्द्रित देखिएको नेपालको व्यापार तीन महिनाको अविधिमा १० प्रतिशतले घटेको छ। नेपालको कुल गार्हस्थ उत्पादनमा अन्तर्राष्ट्रिय व्यापारको योगदान १५ प्रतिशत रहेको छ। 

विशेषगरी व्यापारको कारण राजस्व घट्दा त्यसको प्रभाव अर्थतन्त्रमा परेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको लागि  वर्षको लागि ११ खर्ब १२ अर्बको राजस्व लक्ष्य राखेकोमा करिब पाँच महिनाको अवधिमा २२ प्रतिशत मात्रै राजस्व उठेको छ। कात्तिक २७ गतेसम्म दुई खर्ब ४२ अर्ब रुपैयाँको राजस्व उठेको महालेखाको कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.