उपनिर्वाचनमा एकताको परिणाम नदेखिए तेस्रो ध्रुव संकटमा

|
फाइल फोटो

काठमाडौं : समाजवादी पार्टी नेपालको संघीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ।  बिहीबारबाट सुरु बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले २४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। 

डा. बाबुरामले पेश गरेको प्रतिवेदनमा समाजवादी पार्टीको रणनीति, देशको राजनीतिक अवस्था, अन्य दलको विश्लेषण, छिमेकी मुलुकसँगको सम्बन्ध र उपनिर्वाचनबारे विश्लेषण गरिएको छ। उनले बैठकमा पेश गरेको प्रतिवेदनमा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको पनि विष्लेषण गरिएको छ। 

प्रतिवेदनमा यो उपनिवार्चन समाजवादी पार्टीका लागि एकताको झल्को आउने गरी मत खस्नुपर्ने जिकिर बाबुरामले गरेका छन्। ‘हाम्रो पार्टीका लागि विशेषः तीनवटा कारणले यो उपनिर्वाचन महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘यो पार्टी एकतापछिको पहिलो निर्वाचन हो । परिणाममा कुनै न कुनै मात्रामा एकताको प्रभाव झल्किनु पर्दछ । हारजित आफ्नो ठाउँमा होला, तर निर्वाचन परिचालन, मतसुधार र जित्ने अधिकतम् प्रयासका हिसाबले कुनै कसर बाँकी राख्नु हुँदैन।’

अध्यक्ष भट्टराईले यो उपनिर्वाचनमा पनि कांग्रेस र कम्युनिष्ट दललाई नै मत जाने हो भने तेस्रो धु्र्रव बन्ने अभियानमाथि प्रश्न उठ्ने दाबी गरेका छन्। ‘अझै पनि कांग्रेस– कम्युनिष्टजस्ता पुरानै दलमा जनमत अभिव्यक्त भइरहने हो भने तेस्रो ध्रुव र वैकल्पिक पार्टी निर्माणको अभियानमाथि प्रश्न उठ्ने हुन्छ’, उनले भनेका छन्, ‘तसर्थ आसन्न उपनिर्वाचनलाई हाम्रो पार्टीले अत्यन्त महत्वपूर्ण संघर्षका रुपमा लिनु पर्दछ ।’

उनले यो उपनिर्वाचन सत्तारुढ पार्टीबारे जनताको आकर्षण र विकर्षणको व्यारोमिटर भएको पनि दाबी गरेका छन्। ‘यो उपनिर्वाचन सत्तारुढ दलको जनमतको आकर्षण वा बिकर्षण नाप्ने ब्यारोमिटर पनि हो’, उनले अगाडि भनेका छन्, ‘यदि धेरै नालायकी, भ्रष्टता र अकर्मण्यताका बाबजुद मतपरिणाम नेकपाकै पक्षमा देखिएमा त्यसले निरंकुशता र फाँसीवादलाई प्रोत्साहन गर्ने छ । त्यो कसैको हितमा हुने छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.