|

मुगु : मुगु जिल्लाका विभिन्न गाउँबाट पढाइको प्रलोभनमा पारी काठमाडौं लगिएका ११ बालबालिकाको उद्धार गरिएको छ। पढाइको प्रलोभनलगायत विभिन्‍न बहानामाकाठमाडौंको कागेश्वरी मनोहर नगरपालिका-८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थामा लगिएका मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको हो।

राष्टिय बाल अधिकार परिषद, महानगरीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्रलगायतको पहलमा उनीहरूको उद्धार भएको हो। उद्धार गरिएका मध्ये नौजना बालबालिकालाई साझा सवालका लागि साझा मञ्च (कोकन) को पहलमा परिवारसँग पुनर्स्थापाना गराई परिवारको जिम्मा लगाइएको छ।

खत्याड गाउँपालिका-११ की मन्जु ओड, छायानाथ रारा नगरपालिका-६ कोटील्ला गाउँका गोविन्द्र बुढा, रामाराज बुढा, लोकेश ऐडी, कृपाराम ऐडी, दिनेश ऐडी, सुदीन ऐडी, सुजता ऐडी र रमित भण्डारी रहेका छन्।

बाँकी दुईजना बालबालीकाको बुवा आमा पत्ता नलागेकाले कोकनको जिम्मामा काठमाडौं राखिएको कोकनका कार्यकारी निर्देशक केशव घिमिरेले बताए। उनका अनुसार बाँकी दुईजना बालबालिकाको आमा बुवा खेजतलास भइरहेको र पत्ता लागेपछि परिवारमा पुनर्स्थापाना गराइने छ।

उद्धार गरिएका बालबालीका लाई बुधबार जिल्ला प्रशासन कार्यालय मुगुमा एक औपचारिक कार्यक्रमको आयोजना गरी निमित्त प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली, स्थानीय जनप्रनिधिको रोहवरमा परिवारको जिम्मा लगाइएको  कोकनका निर्देशक घिमिरेको भनाइ छ। 

यसैबीच छायाँनाथ रारा नगरपालिका-६ का वडाअध्यक्ष हर्क ऐडीले अभिभावकलाई आफ्ना बालबालिका पढाइको प्रलोभनमा परी काठमाडौंलगायतका शहरमा नपठाउन आग्रह गरेका छन्। उनले गाउँपालिकाबाट बालबालिका बाहिर लैजानका लागि दिइने सिफारिस पनि रोकेको बताए। कार्यक्रममा बोल्दै अभिभावकले लोभलालचमा परेर बालबालिका काठमाडौं पठाएको तर अब त्यस्तो अवस्था नआउने बताए।

उद्धार गरिएका नौजना बालबालिकालाई स्टेशनरी सामग्री सहयोग गरी परिवारको जिम्मा लगाइएको हो। बालबालिको पढाइमा सहजताको लागि स्टेशनरी साम्रगी, पोसाक सहयोग गरी परिवारको जिम्मा लगाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.