|

पर्वत : जिल्लाको पर्यटकीय र ऐतिहासिक क्षेत्रहरू मध्येको प्रमुख एक गन्तव्य उत्तरमा रहेको कालञ्जर पर्वत हो। समुद्री सतहबाट ३३ सय मिटर उचाइमा रहेको हम्पालमा रहेको उक्त ठाउँ मोदी गाउँपालिका र जलजला गाउँपालिकाको सिमानामा रहेको छ। 

उच्च क्षेत्र भएकाले हम्पालको लेकमा सयौँ जडिबुटीहरू रहेका छन्। तर, भौगोलिक विशेषता र घण्टौँ लामो पैदल यात्राबाट मात्र पुग्न सकिने भएकोले तिनीहरूको सदुपयोग हुन सकेको छैन। किम्बदन्ती अनुसार भगवान् रामका भक्त हनुमानले हम्पाल क्षेत्रबाट जडिवुटी लगेर औषधि उपचारमा प्रयोग गरेका थिए भन्ने सुन्नमा छ।

अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्गअन्तर्गत पर्ने जलजलामा पर्वतको लेकफाँट, शालीजा र लेस्पार, म्याग्दीको नागी, घोडे पानी, मोहरे डाँडा र कास्कीको उल्लेरी हुँदै उक्त क्षेत्रमा पुग्न सकिन्छ। 

कृत्रिम ताल बनाउने योजना

कालञ्जर क्षेत्रमा कैयौँ वर्ष पहिले ‘मृग सरोवर’ रहेको भनाई छ। भौगोलिक रूपमा अति विकट रहेको उक्त ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अनुसार अब कृत्रिम ताल निर्माण गर्ने योजना बनाइएको छ। वन र वन्यजन्तुका लागि उपयुक्त मानिएको हम्पाल क्षेत्रमा कालञ्जर पर्वत छ।

हम्पाल क्षेत्र पहाडको टुप्पोमा पर्छ जुन पर्वत, कास्की र म्यादी जिल्लाको सिमानामा रहेको छ। ५० वर्ष पहिलेसम्म उक्त ठाउँमा ताल रहेको त्यस क्षेत्रका जानकारहरु बताउँछन्।

‘धर्मग्रन्थहरू हेर्ने हो भने पनि यस क्षेत्रको बारेमा व्याख्या गरिएको छ। रामायण, स्कन्द पुराण, पुरुषोत्तम महात्म्य आदिमा कालञ्जरको बारेमा लेखिनुले यहाँ भगवान् शिव र पार्वती रमाउने गरेको प्रमाणित हुन्छ’ जलजला गाउँपालिका ४ वडाध्यक्ष भीष्म मल्लले भने, ‘झन्डै ५० वर्ष अगाडिसम्म यहाँ रहेको तालमा मृगहरू रमाउने गर्थे रे। त्यही भएर यो ठाउँलाई मृग सरोवर पनि भनिन्छ।’

मृग सरोवरमा स्नान गरेपछि मानिसले गरेका पापहरू पखालिने विश्वास रही आएको स्थानीयवासी बताउँछन्। तर वरिपरिको जमिनबाट आउने लेदोले बिस्तारै ताल पुरिएपछि त्यो क्षेत्रको महत्व केही संकटमा परेको छ।

ताललाई कृत्रिम रूपमै भए पनि निर्माण गरेर मान सरोवरको महत्त्वलाई जोगाइराख्न ताल बनाउने योजना अगाडि सारिएको हो। 

विकासका लागि मन्त्रीदेखि राष्ट्रियसभाका अध्यक्षसम्मको चासो

पर्वत जिल्लासहित छिमेकी जिल्लाहरूको समेत प्रवर्द्धन हुने भएकोले उक्त ठाउँलाई विकास गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबैको चासो पनि आएको छ। पर्वत जिल्ला राजनीतिक हिसाबले अहिलेको अवस्थामा बलियो छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल पर्वत जिल्लाकै हुन्। यही परिवेशमा जिल्लामा विकासका कार्यहरू धेरै हुन्छन भन्ने अपेक्षा नागरिकले गरेका छन्। 

जिल्लाबाट निर्वाचनमा जितेका नेतादेखि पराजय भोगेकाहरूले पनि कालञ्जर क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाएका छन्। पर्यटक तान्न तथा धार्मिक र ऐतिहासिक वस्तुको प्रवर्द्धन गर्नका लागि उच्च ओहदामा रहेकाहरूको पनि तत्परता देखिएको छ।

हम्पाल क्षेत्रमा ताल निर्माणसहित निलकण्ठेश्वर महादेवको मन्दिरको पुनर्निर्माण, पदमार्ग तथा सडक निर्माण, सहज यात्राका लागि केवलकार निर्माण, पर्यटकहरूको सुविधाको लागि आकर्षक रिसोर्टहरू सञ्चालन गर्ने गरी यसै वर्षबाट डी.पी.आर तयार गरिने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए। 

‘ग्रन्थमा उल्लेख भएको यहाँको ‘मृग सरोवर’ लाई नयाँ जीवन दिँदै धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने निष्कर्ष निकालेका छौँ’ उनले भने, ‘यसका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबै तयार पनि भएका छौँ।’

मोदी गाउँपालिकाका प्रमुख प्रेमप्रसाद पौडेलका अनुसार जलजला गाउँपालिकाअन्तर्गत शालीजाको तारे र मोदी गाउँपालिकाको देउराली हुँदै जलजलासम्म सडक र पदमार्ग पुर्‍याउने गरी योजना अघि सारिएको छ।

हालै मात्र अध्यक्ष तिमिल्सिनासहित प्रतिनिधिसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, जिल्लामा रहेका पालिकाहरूका प्रमुख, कार्यालय प्रमुख र आम नागरिक सहित झन्डै ५ सय जनाको टोलीले उक्त क्षेत्रको अवलोकन पनि गरेको छ।

यस्ता छन् विशेषता

जिल्लाको सबैभन्दा उच्च स्थान जलजलाबाट आँखै अगाडि सेतै टल्किने धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायतका १६ भन्दा बढी हिम चुचुराहरू अवलोकन गर्न सकिन्छ। यस्तै, सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि हम्पाल क्षेत्र उपयुक्त छ। 

उक्त ठाउँबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङ जिल्ला भौगोलिक क्षेत्रहरू देख्न सकिन्छ। पर्यटकहरूलाई लोभ्याउने अर्को विशेषता पाखैभरि फुल्ने लालीगुराँस पनि हुन्। 

मानवीय स्वास्थ्यको लागि उपयुक्त मानिने सयौँ थरी जडीबुटीहरू उक्त ठाउँमा पाइने जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले बताए।

जडीबुटीका रूपमा निरमसी, पाँचऔँले, सतुवा, तितेलगायत पाइन्छ भने  मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपंक्षीको बासस्थान सोही जंगलमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.