|

तनहुँ : नेपाल विद्यार्थी संघ तनहुँले भारतले पछिल्लो समयमा सार्वजनिक गरेको राजनीतिक नक्साप्रति असन्तुष्ट जनाउदै दवाव स्वरुप हस्ताक्षर संकलन थालेको छ।

विद्यार्थीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको दावी गर्दै हस्ताक्षर संकलन बिहीबारदेखि थालेको हो। संकलित हस्ताक्षर दवावस्वरुप प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष पेश गरिने नेविसंघ तनहुँका प्रवक्ता हरि खनालले बताए। 

नेपाली कांग्रेस तनहुँका सभपाति वैकुण्ठ न्यौपानेले हस्ताक्षर गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको छ।

संकलित हस्ताक्षरसहितको व्यानर प्रधानमन्त्री समक्ष पेश गरिने विद्यार्थीको भनाई छ। विद्यार्थीले जिल्लाको सदरमुकाम दमौलीको मुख्य चोकमा संकलन गरेको हस्ताक्षर संकलन प्रधानमन्त्रीलाई पठाइने नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनालले जानकारी दिए।

‘यो पहिलो चरणको आन्दोलन हो। यदि भारतद्वारा सार्वजनिक भएको राजनीतिक नक्सा तत्काल नसच्याए अझ कडा आन्दोलन गर्नेछौं’, उनले भने, ‘यो त राष्ट्रप्रेमी नेपालीको सुरुवात मात्रै हो।’ 

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भू–भागमा परेको उल्लेख छ। 

सीमा अतिक्रमण विरुद्धको संघर्षमा हिमाली जिल्ला

त्यसैगरी म्याग्दीमा  भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्धमा हिमाली जिल्ला मुस्ताङ र म्याग्दीका युवा विद्यार्थीले संघर्षको सुरुवात गरेका छन्। हिमालपारिको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा पनि बिरोध प्रदर्शन भएको छ।

जोमसोमस्थित तेजनिरला जनहित बहुमुखी क्याम्पसमा अध्ययनरत स्वतन्त्र बिद्यार्थी युनियन र अनेरास्वबियू मुस्ताङले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन्।
‘कालापानी र लिपुलेक हाम्रै हो, सीमा मिच्न पाइँदैन’ भन्दै बिद्यार्थीले पुथाङ एयरपोर्टदेखि आर्मी ब्यारेक र जोमसोम गुम्बा हुँदै जिल्ला प्रशासन कार्यालय मुस्ताङ अगाडि कोण सभा गरेका तेजनिरला जनहित बहुमुखी क्याम्पसका स्ववियू सभापति रविन बानियाँले जानकारी दिए।

भारतले ३७४ हेक्टर नेपाली भूमि एकपक्षीय रुपमा कब्जा गरेर भारतको नयाँ नक्सा सार्वजनिक गरेपछि म्याग्दीका युवा विद्यार्थीले पनि तीब्र विरोध जनाएका छन्। अनेरास्ववियू र स्वतन्त्र विद्यार्थी युनियनले भारतीय नयाँ नक्सा जलाउनुका साथै सडकमा प्रदर्शन समेत गरेको छ।

नेपाल विद्यार्थी संघले भारतको नयाँ नक्सा सच्याउन दवाबका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। उता पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरका बालबालिकाले समेत भारतले कालापानी तथा लिपुलेक अतिक्रमण गरेको विरोधमा  हस्ताक्षर अभियान शुरू गरेका छन्।

अतिक्रमित भूमि फिर्तामा भारतीय पक्ष मौन बसेको भन्दै मालिका जनहित बोर्डिङ स्कुल रनवाङ, डर्निङ इङ्लिस बोर्डिङ स्कुल र भृकुटी सनराइज बोर्डिङ स्कुलका विद्यार्थीले संयुक्त रुपमा आयोजित कार्यक्रममा अर्काको भूमिलाई कब्जा गर्ने भारतीय गतिविधिलाई रोक्न माग गर्दै विद्यार्थीले हस्ताक्षर संकलन गरेका हुन्। 
गाउँपालिकाको कार्यालय अगाडि आयोजित कार्यक्रममा बोल्दै मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले नेपालको भूमि रक्षामा सम्पूर्ण नेपालीको एउटै धारणाले नेपालीको एकतालाई प्रष्ट पारेको बताए। ‘विद्यार्थीले आफ्ना देशको इतिहासलाई बुझ्नपर्छ,‘पुर्खाले जोगाएको नेपाली भूमिलाई कसैले खोस्न पाउँदैन’ अध्यक्ष रोकाले भने। छिमेकी राष्ट्रले अतिक्रमण गरेको भू-भाग जसरी पनि फिर्ता लिनुपर्ने उनले बताए।

‘भारतीय अतिक्रमण बन्द गर’ ‘लिपुलेक, कालापानी नेपालको हो’ जस्ता नारा लेखिएका प्ले कार्डसहित आयोजित कार्यक्रमले आफ्नो देशको रक्षाको अभियानमार्फत धेरै जानकारी मिलेको मालिका जनहितकी छात्रा गरिमा केसीले बताइन्। दवावमूलक कार्यक्रममा  करिव ४ सय हस्ताक्षर संकलन गरी गाउँपालिकामार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.