|

विराटनगर : आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रवर्द्धनको सुरु भएको हो। 

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको चुली पोखरी पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा छ। घनाजंगलले ढाकेको चुली पोखरी ‘डब्लु’ आकारको ठूलो चट्टानको शीरमा झण्डै दुई बिघा क्षेत्रमा फैलिएको छ। सो क्षेत्रमा सडक, विद्युत् र खानेपानीको अभाव छ। पोखरीको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारको पहलमा आफूहरुले काम गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए।

चुली पोखरी क्षेत्रमा ३५ घर रहेका छन्। धार्मिक तथा पुरातात्विक हिसाबले महत्त्वपूर्ण स्थानको रुपमा परिचित चुली पोखरीको संरक्षण सुरु भएपछि स्थानीयहरु खुसी छन्। प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५/७६ मा छुट्याएको चार लाख रकमले पोखरीलाई घेराबारा गरिएको छ। चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको सहयोगमा सडक निर्माणदेखि सिंढी निर्माणको काम सुरु गरिएको वडा नम्बर २ का अध्यक्ष गौरीप्रसाद राईले बताए।

चुरे क्षेत्रमा रहेको यो पोखरी धार्मिक तथा पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण स्थानमा रहेको स्थानीय भगीरथ अर्यालको भनाइ छ। उर्लाबारीको किसान चोकदेखि १५ किलोमिटर उत्तरमा अवस्थित रहेको छ। चुली पोखरी जान किसान चौक र उर्लाबारी चोक उत्तरबाट जान सकिन्छ। किसान चोकदेखि टाँडीको धोबेनी, साखरे हुँदै चुली पोखरी पुगिन्छ।

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदैछ। सरकारका यसखाले कार्यक्रम सफल बनाउन पूर्वाधार निर्माण आवश्यक रहेको प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.