|

हेटौंडा :  प्रदेश ३ को लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव शुरेसमान श्रेष्ठलाई नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ। 

नेपाल सरकारको निजामती सेवामा ३२ वर्ष तीन महिना काम गरेका श्रेष्ठलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँसहितको प्रदेश लोकसेवा आयोग सिफारिस समितिले आयोगको अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।  अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरिएपनि महिला सहित दुईजना सदस्य भने प्रदेश सरकारले सिफारिस गर्न बाँकी छ।
आयोगको अध्यक्षमा सिफारिस भएका श्रेष्ठलाई प्रदेश प्रमुखले  नियुक्त गर्ने प्रावधान रहेको छ । 

लमजुङको दुरा देखि प्रदेश लोकसेवाको अध्यक्ष सम्म

लमजुङ जिल्लाको दुरा डाँडामा २०१५ साल चैत ४ गते जन्मेका श्रेष्ठले आफ्नै गाउँको विद्यालयमा प्रथम श्रेणिमा एसएलसी पास गरेका थिए। २०३१ सालमा एसएलसी पास गरेपछी २०४१ सालमा उनले नेपाल सरकारको शाखा अधिकृत स्तरको सेवामा प्रवेश गरेका थिए। अधिकृत, उपसचिव, सहसचिव हुँदा देशका विभिन्न भुभागमा बसेका श्रेष्ठको बसाई हाल काठमाडौको गोंगबुमा  रहेको छ।

उनले  नेपाल सरकारको सचिव  रुपमा २०६८ सालदेखि २०७३ साल सम्म काम गरेका थिए।  सचिव रहँदा सुर्खेतमा वसेर क्षेत्रीय प्रशासक, राष्ट्रिय सूचना आयोगको सचिव, राष्ट्रिय सर्तकता केन्द्र, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, सहकारी मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोगमा समेत काम गरेको उनको अनुभव रहेको छ। राष्ट्रिय योजना आयोगमै रहँदा उनले २०७३ सालमा निजामती सेवाबाट अवकाश लिएका थिए।

प्रश्न पत्र नेपालमै छाप्ने सहसचिव

प्रदेश लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका श्रेष्ठ नेपालमै  कक्षा ११ र १२ को प्रश्नपत्र छाप्ने सहसचिव समेत हुन्।  मुद्रण विभागको डिजी भएर काम गर्दा उनले कक्षा ११ र १२ को प्रश्नपत्र नेपालबाट नै छाप्ने सुरुवात गरेका थिए त्यस अघि भारतमा प्रश्नपत्र छाप्ने गरिएको थियो।

सहसचिवको रुपमा काम गर्दा उनले सञ्चार मन्त्रालय, कन्चनपूर जिल्लामा प्रमुख जिल्ला अधिकारी, भारतको कलकत्तामा चार वर्षसम्म महावाणिज्य दुत समेत बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.