समयमै निर्वाचन आवश्यक : उपराष्ट्रपति

|
फोटोहरु : रोशन सापकोटा\ रासस

काठमाडौं : राजधानीको खुल्ला मञ्च र टुँडिखेलमा शनिबार विशेष चहलपहल रह्‍यो। सन्दर्भ थियो, माघे सकराती पर्व। आम नेपालीले मनाउने माघे संक्रान्ती पर्व मनाउन खुल्ला मञ्चमा मगर समुदाय भेला भएका थिए भने टुँडिखेलमा थारु समुदाय। 

थारु समुदायको 'माघी' र मगर समुदायले 'माघे संक्रान्ती' भनेर मनाउने यो पर्व विशेषतः चेलिबेटी मान्‍ने पर्व हो। माघीको दिन थारु गाउँमा बिहानै उठेर चेलिबेटीको पुजा गरि तरुल, ढिक्री लगायतका थारु परिकार कोसेली दिने गरिन्छ। जसलाई निसराउन भनिन्छ। बिहे गरेर गैसकेकी चेलीलाई माइती पक्षले घरमै निसराउ पुर्‍याउने गर्छन्।

माघे संक्रान्तीमा मगर समुदायले पनि चेलिबेटीको पुजा गर्छन्। उनीहरुलाई नयाँ लुगा, दक्षिणा, फलफुल सहितको उपहार दिने गरिन्छ। जसलाई मगर भाषामा निर्सो वा मिश्रा भन्ने गरिन्छ। यस दिन चेलिबेटीलाई काम गराउनु हुन्न भन्‍ने मान्यता छ।

थारु, मगर, छन्त्याल लगायतका नेपालका आदिवासी समुदायले धुमधामका साथ मनाउने यो पर्वलाई नयाँ वर्षको सुरुवातका रुपमा पनि लिइन्छ। यसलाई थारु र मगरले प्रमुख पर्वका रुपमा मनाउँछन्।

समयमै निर्वाचन आवश्यक : उपराष्ट्रपति

नेपाल मगर संघ केन्द्रीय समितिले खुल्ला मञ्चमा आयोजना गरिएको मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सकरातीको उपराष्ट्रपति नन्दबहादुर पुनमगरले उद्घाटन गरे। कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मगर समुदायसँगै आम नेपालीको माघे संक्रान्तीलाई सबै समुदायबीचको सद्भावको पर्वको रुपमा मनाउनुपर्ने बताए।

उनले देशलाई सकारात्मक दिशातर्फ लानका निमित्त निर्वाचन आवश्यक भएको बताए। 'मुलुकलाई सहि दिशातर्फ लैजानका लागि र अहिलेको समस्याका समाधानका लागि निर्वाचन आवश्यक छ। त्यसतर्फ सकारात्मक रुपमा देशलाई लैजान आग्रह गर्न चाहन्छु,'उनले भने।

समृद्ध नेपाल निर्माणमा मगर समुदायको विशेष भूमिका रहने  उनले बताए। उनले त्यसका लागि बलियो एकताको आवश्यकता रहेको बताए। २०७४ माघभित्रै निर्वाचन सम्पन्न गर्ने दिशातर्फ दलहरु केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

देशको विभिन्न क्षेत्रमा रहेका मगर समुदायले नेपाल मगर संघको नेतृत्वमा हरेक वर्ष आफ्नो प्रमुख पर्व मनाउदै आएका छन्। त्यस अवसरमा खुला मञ्चमा राखिएका स्टलमा मगर समुदायसँग सम्बन्धित खानपान, भेषभूषा, गरगहना तथा प्रकाशनहरु प्रदर्शनीमा थिए। नेपालका आदिवासी-जनजाति समुदायमध्ये सबैभन्दा धेरै रहेको मगर समुदायको देशैभरी बसोबास छ। विशेषगरी: पश्चिमाञ्चल र मध्पश्चिमाञ्चलको पहाडी जिल्लामा मगरको बाक्लो बसोबास छ।

संविधान कार्यान्वयन आवश्यक : सभामुख

टुँडिखेलमा आयोजित थारु समुदायको माघी विशेष कार्यक्रममा सभामुख ओनसरी घर्तीमगरले माघी तथा 'माघे संक्रान्ति' पर्वलाई सद्भभावको पर्वको रुपमा मनाउनुपर्ने बताइन्। उनले संविधानको कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताइन्।

माघी महोत्सवको उद्घाटनमा उनले राज्यका निर्णायक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकार सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताइन्। 'बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता भएको मुलुकका हिसाबले नेपाली विश्वमै नमुना रहेको छ, सम्पूर्ण नेपालले राष्ट्रिय पर्वका रुपमा माघे सङ्क्रान्ति मनाउनुले पनि यो कुरालाई पुष्टि गरेको छ,'उनले भनिन्।

उनले देशमा न्याय, सुशासन र समृद्धिको वातावरण बनाउन यो पर्वले सबैमा योगदान पुर्‍याउने विश्‍वास व्यक्त गरिन्।

कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्‍त्री डा बाबुराम भट्टराईले सबैभन्दा पुरानो आदिवासी र उत्पीडनमा रहेको जातिका रुपमा रहेका थारु समुदाय रहेको बताए। 'एउटा जाति, भाषा, संस्कार र संस्कृतिलाई मात्र राष्ट्रियताको मान्यता दिने युगको अन्त्य भइसकेको छ, थारु जातिको बसोबास र थातथलो नटुक्र्याउने गरी प्रदेशको सीमाङ्कन हुनुपर्दछ, सङ्घीयता उत्पीडनमा परेका लागि हो भन्ने बुझ्न जरुरी छ,' भट्टराईले भने।

नेकपा एमालेकी नेता तथा पूर्वसभासद् शान्ता चौधरीले आदिवासीलाई आश्वासन दिएर सत्तामा पुग्ने भर्‍याङ बनाउने प्रवृत्ति अन्त्य हुन आवश्यक रहेको बताइन्।

संशोधनमा जिद्धि नगर : गृहमन्त्री निधि

थारु कल्याणकारिणी सभा काठमाडौं उपत्यका समितिले टुँडिखेलमा आयोजना गरेको राष्ट्रिय पर्व थारु माघी महोत्सवको उद्घाटन उपप्रधानमन्‍त्री विमलेन्द्र निधीले गरे। उनले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा अघि सारिएको संविधान संशोधनबारे प्रतिपक्ष दललाई धेरै जिद्दी नगर्न आग्रह गरे।

गृहमन्त्री निधिले संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहे\देखिएका कमीकमजोरीलाई सच्चाएर सबै जातजाति, भाषाभाषी र समुदायका हक अधिकार सुनिश्चित गरिने बताए। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएका सहमति गरेर सबै राजनीतिक दल, समुदायसँगको सरसल्लाहमा सरकार अघि बढ्न चाहेको उनको भनाइ छ। आयोजक संस्था थारु कल्याणकारिणी काठमाडौं उपत्यका समितिका संयोजक सत्यनारायण चौधरीले माघेसङ्क्रान्ति र थारु समुदायबीचको अन्तरसम्बन्धका बारेमा जानकारी गराए।

महोत्सव स्थलमा थारु समुदायसँग सम्बन्धित खानपान तथा सामग्रीहरुको स्टल राखिएको थियो। थारु समुदायको भेषभूषा, कला संस्कृति झल्कने नृत्य, गीत–सङ्गीत प्रस्तुत गरिनुका साथै थारु समुदायका खानपिनका स्टल महोत्सवमा राखिएका थिए।

साथै महोत्सवमा थारु समुदायका युवायुवती, केटाकेटी, बुढाबुढीहरु आफ्नो जातीय पहिरन तथा गरगरहनामा उपस्थिती भएका माघी मनाए। नेपालका आदिवासी जनजातिमध्ये दोस्रो ठुलो जनसंख्या रहेको थारु समुदाय नेपालको तराई क्षेत्रका प्रायः सबै जिल्लामा छरिएर रहेका छन्।  खासगरी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा थारु समुदायको बाक्लो बसोबास छ।

 (थारु जातिको मुख्य पर्व माघी मनाउन टुँडिखेलमा भेला भएका थारु समुदायले छुट्टाछुट्टै दुईवटा मञ्च खडा गरी माघी मनाए। पश्‍चिमतिर थारु विद्यार्थी समाज लगायतका संघसंस्थाहरुले आयोजना गरेको माघी महोत्सवमा सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गरिन्। पूर्वतिर मञ्च रहेको थारु कल्याणकारिरी सभाले आयोजना गरेको माघी महोत्सवको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले उद्घाटन गरे। थारु दुई समुहबीच माघी मनाउने सन्दर्भमा विवाद हुँदा छुट्टाछुट्टै माघी महोत्सवको आयोजना गरियो।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.