|

पर्सा : ‘बालुवा र सिमेन्टको मिलन भंग हुँदा विद्यालयको पश्चिमतर्फको कोठाको छत बर्लंग कोठाभित्रै खसिसकेको। वर्षौं पहिले बनेको विद्यालयको जीर्ण भवनको अरू कोठाको छत पनि आफैँ मकाएर खस्दै गएको।

झ्याल ढोकाका नाममा सर्वांग ह्वांगै। ५ कक्षा सम्मका (१३७) विद्यार्थी अलि अथवा एउटा कोठामा बोरामाथि कोचिएर बसेका। भवनको एउटा कुनाबाट हेर्दा चारै तर्फ घुमेर हेर्नै नपर्ने नपर्ने सबै विद्यालय छ्वाङ्ग देखिने। विद्यार्थी बसेका कोठाको छत पनि कतिखेर विद्यार्थीमाथि नै खस्छ? भन्ने अनिश्चय। विद्यालयको सम्पूर्ण भौतिक पूर्वाधार यति।

विद्यालयको डेक्स बेन्चका नाममा, बालबालिका आफैले घरबाट ल्याएको थोत्रे बोरा। त्यहि बोरामाथि किताब कापी राखेको झोला, अनि हिउँदको चिसोमा पनि स्याँकस्याँक गर्दै विद्यार्थीको आफ्नो जिउ पनि अँटाउनुपर्ने वर्षौंदेखिको बाध्यता। बुधबार पनि पर्साका आठ/दश सञ्‍चारकर्मी त्यहाँ पुग्दा विद्यार्थीको उही अवस्था।'

यो हो, पर्साको जगरनाथपुर गाउँपालिका-२ को लक्ष्मीपुर टोलमा अवस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ( नेराप्रावि) को वास्तविक अवस्था। विद्यार्थी र शिक्षक शिक्षिकाको जोखिम पनि उत्तिकै। छेवैमा बल्ल सामुदायिक विकास कार्यक्रमको कार्यान्वयन गर्ने नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले निर्माण सम्पन्न गरिदिएको एउटा भवन।

निर्माण पूरा हुँदै गरेको नयाँ भवन हस्तान्तरण र उद्घाटनको पर्खाइमा रहेको। तर, सबै विद्यार्थी पुरानै जीर्ण भवनमुनि दुर्घटनाको पर्खाइमा रहेका। पर्साका सञ्‍चारकर्मीले त्यो देखेर हिँड्न सकेनन्। उनीहरुले भने- ‘हस्तान्तरण र उद्घाटनको प्रतीक्षा नगर्नुस्।

बालबालिकालाई अहिलेबाटै त्यसै भवनमा लगेर पढाउनुस्। कम्तीमा जोखिम त टर्छ।' सञ्‍चारकर्मीको त्यो भनाइले त्यहाँ एकाएक बालबालिकामा उमंग छायो। शिक्षक शिक्षिका पनि सकारात्मक भए। विद्यार्थीलाई एक हातमा कापीकिताब र अर्को हातमा पहिले आफू बसेको थोत्रो बोरा घिसार्दै नयाँ भवनमा सरे।

त्यो उनीहरूलाई लागि जीवनकै अविश्मरणीय दिन बन्यो। उनीहरूले सञ्‍चारकर्मीहरूलाई अब राम्रो छ भन्दै धन्यवाद दिए।

सञ्‍चारकर्मीका कारण दबाब पुग्यो

जिल्लाको राजनीतिककर्मी र सम्बन्धित पक्षको ध्यान सो विद्यालय निर्माणमा नपुगेपछि स्थानीय सञ्‍चारकर्मीहरूले पटक–पटक त्यो विद्यालयको बारेमा समाचार लेखेपछि सम्बन्धित पक्षको ध्यान त्यहाँ तानिँदा नयाँ भवन बन्यो। र बल्ल जीर्ण विद्यालयभित्रबाट विद्यार्थी सुरक्षित भवनसम्म जान पाउने बल मिलेको हो।

अझै कोठा अपूरो

अझै पनि ५ वटै कक्षाका विद्यार्थी अलग–अलग कोठामा बस्न भने मिल्ने अवस्था छैन। एउटा कोठाभित्रको बोराको बसाइ बदलिएर दुईवटा कोठामा डेक्स बेन्चसम्म त पुगेको छ। तर गाउँपालिकाले छेउमा बनाइदिन थालेको अर्को दुईकोठे भवन पनि चाँडो सम्पन्न भए बल्ल सबै विद्यार्थीका लागि अलि सहज हुने नेराप्राविका प्रअ उन्नतिलाल प्रसाद कुर्मीले बताए।

प्रदेश-२ का मुख्य मन्त्री लालबाबु राउत गद्दी अनि पर्साका स्थानीय तहमध्ये शक्तिशाली गाउँपालिकाका अध्यक्ष जालिम मियाको पनि गृहगाउँ रहेको जगरनाथपुर गाउँपालिकाको लक्ष्मीपुर टोलको विद्यालय नेराप्रावि सुधारमा स्थानीय राजनीतिकर्मीले खासै ध्यान दिएका थिएनन्।

आरआरएनको सक्रियतामा नयाँ भवन

नेपाल सरकारको रेडबुकमा योजना दर्ज भएपछि ३५ लाख ३२ हजार ६०१ रुपैयाँमा सामाजिक विकास कार्यक्रम अन्तगर्त नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले यो भवन बनाइदिएको हो।

आरआरएनले नै त्यही रकम भित्र २४ सेट डेक्स बेन्च पनि नयाँ भवनमा राखिदिएको छ। निर्माण सम्पन्न हुँदै गरेको भवन हस्तान्तरण र उद्घाटन गर्न भने बाँकी रहेको सामुदायिक विकास कार्यक्रम नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का पर्सा संयोजक दीपक बोहोराले बताए। 

बेलायत सरकारको सहयोगमा ९ वटा भौतिक पूर्वाधार बन्दै

बेलायत सरकारको अनुदानमा २०१५ देखि नेपालका १८ जिल्लामा सञ्‍चालित सामुदायिक विकास कार्यक्रम २०१८ मा सकिएपछि त्यस कार्यक्रमको बचेको २२  करोड ५० लाख ८६ हजार ९९१ रुपैयाँमध्ये प्रदेश-१ को सुनसरीबाहेक सबै प्रदेश-२ का ८ जिल्लामा नै खर्च भइरहेको छ।

जसअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिका-२ मा रहेको नेरामावि लक्ष्मीपुरको भागमा पनि एउटा भवन निर्माणको रकम मिलेको आरआरएन पर्सा संयोजक बोहोराले बताए। यो भवन निर्माणको काम जम्मा ५⁄६ महिनाको अन्तरालमा भएको उनको भनाइ छ। अब छिट्टै उद्घाटन गरेर हस्तान्तर गरिने उनले बताए।

बालबालिका दंग

घरबाट थोत्रो बोरा लिएर विद्यालय जाने बाध्यता हटेर एकैपटक डेक्स बेन्चमा बस्न पाएपछि पर्साका लक्ष्मीपुर नेराप्राविका बालबालिका दंग भएका छन। वर्षौं बोरामा बसेर पढ्न बाध्य बालबालिका डेक्स बेन्च भएको नयाँ भवनमा सर्न पाएपछि उनीहरुको खुसीको सीमा रहेन।

पहिले संचारकर्मी आफ्नो विद्यालयमा आउँदा घोप्टो परेर पढेझैँ गरेका बालबालिका संचारकर्मीकै कारण नयाँ भवनसम्म पुग्न पाएपछि आफूहरूका लागि सहयोगी रहेछन् भनी सिधा आँखामा हेर्न हिच्किचाएनन्।

नयाँ भवनमा सरेपछि कतिले बोरालाई पट्याएर विद्यालय नल्याउने भन्दै झोलामा कोच्दै थिए। मलीन अनुहारमा भुइँमा बसेर शिक्षक शिक्षिकाका त्रासले किताब कापी र पाटीमा घोप्टिएका बालबालिका नयाँ मान्छेलाई सिधा नजरले हेर्दै कम्ता खुशी भएनन्। ‘निम्मन लागता' (राम्रो लागिरहेको छ) भन्न बाँकी राखेनन्।

पर्सामा मात्र ९ वटा भौतिक पूर्वाधार बनाउँदै

सामुदायिक विकास कार्यक्रमअन्तर्गत नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले लक्ष्मीपुरको नेराप्राविसँगै जिल्लाका अरू नौ वटा भौतिक पूर्वाधार निर्माण गरिरहेको छ।

यो विद्यालयसँगै जगरनाथपुर गाउँपालिका ३ मा विजबनिया टोलमा नै ३ कोठे बर्थिङ सेन्टर भवन, वडा नम्बर ४ मा आरससिसी सल्याव कलभर्ट (पैनी कल्भर्ट) र जगरनाथपुर ५ को मसिहानीमा खानेपानी योजनाअन्तर्गत १४ वटा धारा जडानको काम हुँदै छ।

योसँगै पर्साकै जिराभवानी गाउँपालिका-१ महादेवपट्टीमा अवस्थित नेरामाविको भूकम्परहित २ कोठे भवन, जिराभवानी ३ मा आरसिसि सल्‍याब कल्भट (पर्सुवा कजवे ), वडा नम्बर २ मा परसुवा कजवे, जिराभवानीकै वडा नम्बर ४ र ५ मा १४ वटा धारा जडान र जिराभवानी ३ मा जिल्लाकै नमुना वडा कार्यालय निर्माण गरिरहेको छ।

वर्षौं काम पूरा नगर्नेलाई उदाहरण

६ महिनाका बीचमा सामाजिक संस्थाले मात्र अलि ध्यान दिएर काम गर्दा अपांगमैत्री २⁄२ वटा भव्य भवन निर्माण भएका छन्। जिल्लामा नै नमुना वडा कार्यालयको २ तले भवन बनिरहेको छ।

विद्यालय भवनमा डेक्स बेन्च र वडा कार्यालय भवनमा पनि बालबालिकालाई बसेर पढ्न मिल्ने डेक्स बेन्च सेट नै उपलब्ध गराएको छ। काम थालनी भएको वर्षौंसम्म पनि पूरा नगर्ने राज्यका जिम्मेवार निकायलाई एउटा सामाजिक संस्था (आरआरएन) गरेको काम नमुना र उदाहरण बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.