|

चितवन : सामाजिक सञ्जालमा भाइरल रहेका भीम विकलाइ सामाजिक अभियान्ताले नयाँ घर बनाइदिएका छन्। नवलपुरको गैँडाकोट नगरापलिका-३ हर्दिका भीम विकलाई सामाजिक अभियान्ता रन्जिता गुरुङको सक्रियतामा एकतले घर निर्माण गरिएको हो।

बिहीबार जन्मदिनको अवसर पारी अभियान्ता गुरुङ र वडा अध्यक्ष शिवकान्त तिवारीले विकलाई घरको चावी हस्तान्तरण गरे। आर्थिक अवस्था कमजोर रहेका भीम धार्मिक पर्यटकीयस्थल देवघाटको पुल छेउमा दैनिक मागेर गुजरा चलाउन गरेका थिए।

घर निर्माणका लागि कुल ११ लाख ६७ हजार १ सय ६३ रुपैयाँ खर्च भएको अभियान्ता गुरुङले बताइन्। जसमध्ये विभिन्न व्यक्तिबाट ५ लाख ४३ हजार ९ सय २८ रुपैयाँ सहयोग संकलन भएको थियो भने भीम विकको व्यक्तिगत ४७ हजार रुपैँया खर्च भएको थियो।

यस्तै, अभियान्ता गुरुङले स्वर्गीय हजुर बुबा र हजुर आमाको नाममा ६ लाख २३ हजार २ सय ३५ रुपैयाँ घर निर्माणमा सहयोग गरेकि थिइन्। ७ महिनाअघि गुरुङलगायत पाँचजनाको टिमले भीमको जग्गामा नयाँ घर निर्माणको अभियान सुरु गरेका थिए।

घर हस्तान्तरण कार्यक्रममा अभियान्ता, जनप्रतिनिधि, कलाकार, सञ्चारकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। ५१ वर्षीय विक विगत २० वर्षको उमेरदेखि देवघाटमा माग्दै बस्दै आएका छन्। होचो कदका उनी शारीरिक रूपमा कमजोर छन् भने रमाइला गफगाफ गर्न रुचाउने गर्दछन्। भीम घरमा वृद्ध बुबा-आमासँग बस्दै आएका छन्। उनले दैनिकरूपमा देवघाटमा मागेको पैसाले घर खर्च चलाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.