देश छुट्याए पनि सीमाले छुट्याएन मानवीय नाता

|

भद्रपुर : नेपाल–भारतको ११२ नम्बर सीमा पिलर। पूर्वपट्टि मेची नदी बग्ने सीमा पिलरको उत्तर र दक्षिण दुवैतर्फ बाक्लो बस्ती छ। एकापट्टि नेपाली बस्ती छ, भने अर्कोतर्फ भारतीय बस्ती।

त्यहाँ बसोबास गर्दै आइरहेका नागरिक नेपाली र भारतीय नभई मानवीय सद्भाव, माया, स्नेह र आपसी भाइचाराको नाता सम्बन्ध गाँसेर वर्षौंदेखि मिलेर बस्दै आइरहेका छन्। त्यहाँ बस्ने दुवै देशका नागरिक आफ्नो मातृ भाषाबाहेक नेपाली भाषा नै बोल्छन्। त्यहाँ भारतीय हिन्दी भाषा खासै बोलचाल हुँदैन।

भारतीय नागरिकसहित त्यहाँका बालबालिकाहरू शिक्षा लिन नेपालकै विद्यालय जाने गरेको त्यहाँका स्थानीय बताउँछन्। हिन्दी भाषा, मेची नदी र सडक दूरीको समस्याका कारण भारतीय बालबालिका पनि नेपालकै विद्यालयमा पठनपाठन गर्दै आइरहेका छन्।

झापाको सदरमुकामदेखि करिब २२ किलोमिटर दक्षिणमा रहेको कचनकवल गाउँपालिका-५ स्थित पाठामारी गाउँमा रहेको बस्तीको कथा हो यो। साबिक पाठामारी गाविस पर्ने मेची नदीनजिकै ११२ नम्बर पिलर सीमा छुट्याइएको छ। गाउँमा मुस्लिम र राजवंशी समुदायकै बसोबास छ। बस्तीमा भारत र नेपाल गरी ६५ देखि ७० जना बालबालिका रहेको श्री प्राविका शिक्षक विजय हजामले बताए।

सीमाले छुट्याएन मानवीय नाता

‘भारतीय बालबालिका पनि यहाँ नै पढ्छन्’, शिक्षक हजामले भने, ‘बालबालिकाहरू नजिकै रहेको श्री प्राथमिक र जानकी आधारभूत विद्यालय गएर पढ्छन्। सीमाले देश छुट्याए पनि मानवीय नाता सम्बन्ध बस्तीमा अहिले पनि कायम छ।

भारतीय नागरिक भए पनि उनीहरू नेपाली भाषा नै बोलचालमा ल्याएको हुँदा भारत गएर पढ्नुभन्दा नेपालमै पढ्न सजिलो हुने भएकोले उनीहरू नेपालकै शिक्षा लिइरहेको उनको भनाइ छ। बस्तीमा बस्ने भारतका करिब १२ देखि १५ बालबालिका नेपालमै पठनपाठन गर्दै आइरहेको उनले बताए।

भारतीय नागरिक रूपलाल गणेश भन्छन्, ‘मेरो छोरा नेपालमै पढ्छ, जेठो छोरा उमेश जानकी आधारभूतमा कक्षा आठ पढ्दापढ्दै रोजगारीको सिलसिलामा भारत गएको छ, कान्छो छोरा रमेश कक्षा ४ मा अहिले पनि जानकीमै पढ्दैछ,’ ‘म जस्तै गाउँका अरू भारतीयले पनि आ–आफ्नो छोराछोरी यहाँ नै पढाउँदै आइरहेका छन्’, उनले भने, ‘यहाँ नेपाली शिक्षा लिने पनि बस्तीमा बस्ने नेपाली होस् वा भारतीय बालबालिका, उनीहरूको विवाह चाहिँ भारतमै गर्ने चलन छ।’

भारतमै पढ्न अभिभावक सल्लाह

जानकी आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत भारतीय नागरिक ममताकुमार गणेशले भनिन्, 'भारतीय भए पनि म नेपालमै पढ्छु, बुबा–आमाले भारत गएर पढ्न भनेर घरमा कराउँछन्, नेपाली भाषा बोल्ने हामी कसरी भारतमा गएर पढ्न सक्छौँ, त्यहाँका भाषा नै बुझ्न गाह्रो हुन्छ, त्यही भएर जानकीमा पढ्दै छु' उनले थपिन्, ‘मसँग मेरो भाइ सुनिल पनि बाल कक्षामा पढ्छ।’

भारतमा बस्ने कविता यादव कक्षा ८ मा र उनकी बहिनी निकिता यादव कक्षा ७ मा पढ्ने गरेको उनले बताइन्। जानकीमै मसँग ५/६ जना भारत घर भएका साथीहरू पढ्ने गरेको भारतीय नागरिक देवकुमार गणेशले बताए।

कक्षा ६ मा पढ्दै आइरहेका गणेश भन्छन्, ‘घर भारत परे पनि के भो र, सबै थोक नेपालमै पाइन्छ भने किन भारत गएर पढ्नु, यहाँ नै शिक्षाको सुविधा सरकारले दिएकै छ।’ ११२ नम्बर पिलरदेखि तीन किलोमिटर पर भारतको टेलिभिट्टा भन्ने स्थानमा श्री उतिम विद्यालय धोबोभिट्टा छ। तर, त्यहाँका विद्यालय बस्तीका बालबालिका जान मान्दैनन्।

पढा छाडेर क्यारियरको काम

नजिकै भारतीय बजार पाठामारी र ठाकुरगञ्ज पर्छ। त्यहाँबाट नेपाल भित्र्याउने किराना तथा खाद्यान्न सामग्री ल्याएबापत सीमा क्षेत्रका बालबालिकाले दिनमा ५०० देखि १००० कमाउँछन्। बेरोजगारीका कारण अधिकांश बालबालिका विद्यालय जान छाडिसकेका छन्। बस्तीका आधा बढी बालबालिका पढाइ छाडिसकेको शिक्षक विजय हजामले बताए। ३ देखि ५ कक्षा पढ्दापढ्दै बालबालिकाहरू कमाइको बाटोमा लागिपर्ने गरेको उनको भनाइ छ।

‘पढाइ छाडेको अधिकांश बालबालिका नेपालमै पर्थ्यो’, उनले भने। हामी भारतीय नागरिक भए पनि नेपालमै पढ्थ्यौँ, १४ वर्षीय भारतीय बालक उदयकुमार गणेशले भने, ‘अहिले पढाइ छाडिसकेका छौँ, भारतको विद्यालय पनि नाम लेखाएका थियौँ, दुवैतिर पढ्नुभन्दा रोजगारीमा लाग्नु घरबाट भनेपछि पढाइ छाडेर काम गर्न थालेका हौँ।’

१२ वर्षीय साहिल आलमले भने, ‘जानकीमा कक्षा ५ सम्म पढेको थिएँ, अहिले पढाइसडाई छाडेर क्यारियरको काम गर्दै छु।, ‘नेपाली वा हिन्दी कुन भाषामा पढ्नु, भाषाकै समस्याका कारण पढाइ छाडेर पैसा कमाउन लागिपरेका छौँ।' उनले भने।   

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.