मिक्लाजुङ र टाँढीलाई छलेर लाने तारतम्य

|

विराटनगर : आफ्नो ठाउँबाट राष्ट्रिय गौरवको आयोजना ‘मदन भण्डारी राजमार्ग’ बन्‍ने खबरले खुशी भएका मोरङ टाँढीका जनता अहिले भने निराश छन्।

राजमार्गले चुरे क्षेत्रका जनताको आय आर्जन र जिविकोपार्जनमा सहज हुने विश्वास गरिरहेका बेला सडकको सर्भे भने जंगल क्षेत्रबाट भएको छ। १५ हजार भन्दा बढी जनसंख्या रहेको साविक टाँढी गाविसलाई नसमेटी अन्यत्रबाट राजमार्ग लगिए आफूहरू आन्दोलन गर्ने उनीहरूको धम्की पनि छ।

पहिलेदेखि नै चुरे मार्गको रूपमा चर्चा हुँदै आए पनि केपी ओली नेतृत्वको सरकारले पहिलोपल्ट मदन मण्डारी मार्गलाई राष्ट्रिय गौरवको आयोजना बनाउने घोषणासहित पर्याप्त बजेट विनियोजन भएर कामसमेत सुरु भइसकेको छ।

यसअघि मोरङ मिक्लाजुङ गाउँपालिकाले टाँढीको मध्यभागबाट बक्राहाको पुलमा जोड्नेगरी राजमार्ग लैजान विभागलाई सिफारिस गरेको छ। तर, विभागबाट अझै कुन ठाउँबाट लाने भन्ने विषयमा निश्चित गरेको छैन।

‘गाउँपालिकाले टाँढीको मध्यभागबाट बक्राहाको पुलमा जोड्नेगरी मदनमार्ग लैजान सिफारिस गरेको हो,’ मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले भने, ‘तर, विभागबाट अझै कुन ठाउँबाट लाने भन्ने विषयमा निश्चित गरेको छैन, सर्भे भने ३ ठाउँबाट भएको छ।’

विभागले लेटाङ ९ पुरानो जाँतेको गाविस भवनबाट बेलटार हुँदै धोबेनी बजारभन्दा माथि निस्कने गरी एउटा सर्भे, लेटाङ ९ को बाह्रकोठेबाट मिक्लाजुङको ५ नम्बर खोरीटार गुप्ती हुँदै धोबेनी बजार हुँदै बक्राहा पुल जोड्ने गरी अर्को र लेटाङ ९ को मदन मार्ग बाह्रकोठे हुँदै मिक्लाजुङको धान खेतीबाट क्रस भएर मावा खोला पुग्ने गरी सर्भे गरेको छ।

विभागले लेटाङको तेली खोलामा पुल, मिक्लाजुङको सोल्टी खोलामा २ वटा पुल, मिक्लु खोला र नुनसरी खोलामा पुल भनेर मिक्लाजुङ गाउँपालिकालाई चिठी पठाएको भए पनि काहाँनेर पुल बनाउने र कहाँबाट बाटो जाने भन्ने कुरामा अझै अन्यौल रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यको भनाइ छ।

‘लेटाङको तेली खोलामा एउटा पुल, मिक्लाजुङको सोल्टी खोलामा २ वटा पुल, मिक्लु खोला र नुनसरी खोलामा एउटा/एउटा पुल भनेर चिठी पठाएको छ,’ आचार्यले भने, ‘तर, कहाँनेर हो भन्ने कुरा खुलेको छैन।’

‘मिक्लाजुङ र टाँढीका जनताको भने धोबेनीको आसपासबाट राजमार्ग जानुपर्छ भन्ने माग छ,’ स्थानीय दिनेश पौडेलले भने, ‘राज्यले चाहिँ मदनचोकबाट एकैपटक दमक लैजाने तयारी गरेको छ।’ मिक्लाजुङ वडा नम्बर २ का वडाध्यक्ष खगेन्द्र मादेन लिम्बूले १५ हजारभन्दा बढी जनतालाई बाइपास गरेर जंगलबाट बाटो लगिए आन्दोलन गर्ने चेतावनी नै दिए।

‘१५ हजारभन्दा बढी जनतालाई बाइपास गरेर जंगलको बाटो लाँदा समस्या हुन्छ। त्यहाँ कुनै मानव बस्ती छैन, त्यहाँबाट लाँदा फाइदा पनि छैन। राष्ट्रियस्तरका नेताहरूको चाहना सीधै दमक लाने भएको कारण समस्या हुने देखिन्छ,’ वडाध्यक्ष लिम्बूले भने, ‘साविक टाँढीको २, ३, ४ र साविक रमिते खोलाको १ नम्बर वडालाई बाइपास गरेर लाने कुराको हामी विरोध गर्दछौँ।’

जंगलबाट मदन मार्ग लाने कुराको आफूले विरोध गरेको सो क्षेत्रका प्रदेशसभा सदस्य कूलप्रसाद साम्बा लिम्बूको भनाइ छ। जंगल फँडानी गर्दै एकैपटक दमक लैजान खोजेको भन्दै लिम्बूले मदन मार्गले चुरे क्षेत्रका जनतालाई समेट्नुपर्नेमा जोड दिए।

‘जंगलबाट मदन मार्ग लाने कुराको मैले विरोध गरेको छु,’ लिम्बूले भने, ‘जंगल फँडानी गर्दै एकैपटक दमक लैजाने कुराले चुरे क्षेत्रका जनतालाई कुनै लाभ हुँदैन।’

स्रोतका अनुसार दमक नगरपालिका वडा नम्बर ३ मा निर्माणाधीन व्यापारिक कम्प्लेक्स, भ्यू टावरमा पुग्ने गरी मदनमार्ग लैजाने प्रधानमन्त्रीको तयारी छ। ‘टाँढीबाट बाटो लैजानुपर्छ भन्दा टावरमा चाहीँ मानिस कसरी पुग्छन् भन्ने प्रश्न आउँछ,’ टाँढीबाट राजमार्ग लैजानुपर्छ भन्दै लविङ गर्ने एक अगुवाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाका कारण टाँढीलाई बाइपास गरेर सडक जाने भयो।’

मदन भण्डारी राजमार्ग (चुलाचुली चुरे राजमार्ग) निर्माणाधीन राष्ट्रिय राजमार्ग परियोजना हो। यो राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा (महाकाली नदी) सम्म करिव १२ सय किलोमिटर लामो हुनेछ।

राजमार्ग झापा बाहुनडाँगीबाट सुरु भएर शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुग्नेछ।

यो राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो। उक्त राजमार्ग निर्माणमा २० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरेको सरकारले काम भने आर्थिक वर्ष २०७९/८० मा सक्ने लक्ष्य राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.