|

दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले लुकाइछिपाइ राखेको ठूलो परिणामको अत्याधुनिक हतियार बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगरको सीमा क्षेत्रमा रहेका खाली गोठमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान अत्याधुनिक सर्ट मेसिन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त राइफलमा प्रयोग हुने ३९० थान गोली बरामद गरेको छ।

प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष सूचनाको आधारमा प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले शुक्रबार बेलुकी करिब ६ बजे शिवनगर–१ मा रहेको खाली गोठबाट रातो सुटकेसमा राखिएका उक्त हातहतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

विप्लव समूहले दाङ र कपिलवस्तुको सीमा हुँदै हातहतियार स्थानान्तरण गर्दैछ भन्ने सूचनाका आधारमा कात्तिक २६ गतेबाट निरन्तरको निगरानी तथा खोजतलासपछि हतियार बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरिएका हतियार कहाँ र कुन प्रयोजनका लागि लैजान लागिएको थियो भन्ने यकिन विप्लव समूहले राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए।

उपनिर्वाचनको पूर्व सन्ध्यामा यति ठूलो मात्रामा अत्याधुनिक हतियार भेटिनुले सुरक्षा संवेदनशीलतामाथि अझ सतर्क रहन जिम्मेवारी बढेको देखिएको छ। बरामद गरिएका हतियार युद्धकालीन समयमा प्रयोग गरिएका जस्ता देखिए पनि ती अहिले नै यकिन गर्न नसकिने प्रहरीले बताएको छ। घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान शुरु गरिएको पनि प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.