|

पर्वत : जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवाका हरिप्रसाद शर्मालाई जब धान लगाउने असार महिना अनि धान थन्क्याउने कात्तिक र मंसिर महिना लाग्छ तब लगाउँदै आएको खेती पनि छाडौँ की जस्तै हुन्छ।

नेपालको प्रमुख खाद्य बाली धान लगाउने र थन्क्याउने बेलामा धेरै जनशक्ति चाहिने बेलामा काम गर्ने मान्छे नै नपाइँदा उनलाई गर्दै आएको खेती 'तातो दूध निल्नु न ओकल्नु' भएको छ।

‘धान काट्ने खेताला नपाउँदा पाकेर खेतमै झर्‍यो। जसोतसो काटेको धान खलासम्म पुर्‍याउने मान्छे पाएको छैन’ उनले भने, ‘धानको काम गर्न बलिया मान्छे चाहिन्छन्। जो कोहीले टाउकोमा बिटा राखेर हिँड्न सक्दैनन्।’ कामदार हप्ता दिन भन्दा अगाडिबाट नै काम गर्नको लागि अरूकोमा नै बोलकबोल गरेका हुन्छन्।

हरिप्रसादलाई परेको यो समस्या प्रतिनिधि अवस्था हो। काम गर्ने जोस र जाँगर भएका बलिया अधिकांश युवा वैदेशिक रोजगारीमा छन् भने जागिर तथा व्यापार गर्दै आएकाहरू आफ्नै पेसा व्यवसायमा व्यस्त छन्।

ज्येष्ठ नागरिक र बालबालिका मात्र बाँकी रहेको धेरै गाउँमा काम गर्ने समय आउँदा यस्तै समस्या हुने गरेको छ। जिल्लामा धानको उत्पादनका पकेट क्षेत्रहरू पकुवा, कटुवाचौपारी, फलेवास, शंकरपोखरी, पैयुँ, खुर्कोट, जलजला, पातिचौर लगायतका ठाउँका कृषक मजदुरको अभावकै कारण खेती थन्क्याउन नसकिने समस्यामा परेका छन्।

कुटवाचौपारीका कृषक मोहदत्त शर्माले असारमा ट्याक्टरले जोतेर धान रोपेको भए पनि हिउँदमा कामदार नपाएकै कारण कुन्यूँमा नै धान कुहिने हो की भन्ने चिन्ता परेको बताए।

धान पाकेर झर्न थालिसक्दा पनि खेतालाकै अभावमा धान काट्न नसकिएको कुस्मा नगरपालिका ११ पिपलटारीका कृषक रमेश पौडेलको भनाई छ। ‘धान काट्ने खेताला खोज्न गाउँ चाल्दा पनि कोही पाइएन’ उनले भने, ‘गाउँमा केटा-केटी र बुढाबुढीबाहेक कोही छैनन्। काम गर्ने मान्छे नपाउँदा अब खेती लगाउन नसकिने अवस्था आयो।’

रोपाइँ गर्न तथा धान बोक्न र झाँट्न गाउँघरमा एक जना पुरुष खेतालाको दैनिक ज्याला ५ सयदेखि ८ सय रुपैयाँसम्म चल्ने गरेको छ। कतिपयले त काम गर्नेहरूलाई बढी चलेको भन्दा बढी ज्याला दिएर भए पनि बोलाउन खोज्दा समेत कामदार नपाएको बताउँछन्।

गाउँघरमा काम गर्ने मान्छे नै नपाउँदा विद्यालयमा बिरामी बिदा हालेर धान र कोदो थन्क्याउन गाउँमा बस्नु परेको पर्वत घर भई म्याग्दी जिल्लामा कार्यरत शिक्षक राजु क्षेत्रीले बताए।

‘पेट पाल्ने खेती हो। रोपाइँ गर्ने बेलामा त बर्खे बिदा थियो। रोपियो अहिले हिउँदमा धानको काम गर्ने मान्छे नै पाइएन’ उनले भने, ‘विद्यालयमा बिरामी बिदा हालेर ३ दिनका लागि घरमा पुगेर काम सकेँ।’ अध्ययन, जागिर वा व्यवसायका लागि बजारमा बस्दै आएकालाई आफ्नो कामबाट बिदा र फुर्सद नपाउँदा गाउँमा काम नगए जान पाउँदैनन्। वैदेशिक रोजगारीमा गएकाको बाध्यता पनि उस्तै छ।

असार र मंसिरमा मात्र केही दिनका लागि काम गाउँमै पाइने भए पनि अरू सबै महिनामा खाली बस्नुपर्ने बाध्यता भएकोले गाउँको धान पर्खेर घरमा बस्न नसकिने वैदेशिक रोजगारीबाट छुट्टीमा कृष्णप्रसाद शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.