|

काठमाडौं : पछिल्लो समय नेपाली क्रिकेट टिमको कप्तानको जिम्मेवारी निभाइरहेका कप्तान ज्ञानेन्द्र मल्लमाथि निरन्तर दबाब बढ्दै गएको छ।

कप्तान हुनु अघिबाटै आफ्नो कमजोर फर्मको सिकार भए पनि उनको अनुभव र लामो समयको उपकप्तानको अनुभवपछि पारस खड्काको राजिनामासँगै निर्विवाद कप्तान बनेका थिए। तर कप्तान बनेपछि पनि खस्कँदो प्रदर्शनले मल्ललाई निरन्तर चिन्तित बनाइरहेको छ।

नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गर्दा प्लेयर अफ दी म्याच शरद भेषवाकरको प्रदर्शन शानदार रह्यो तर समकालीन खेलाडी तथा कप्तान ज्ञानेन्द्र मल्लको ब्याट भने फेरि एकपटक शून्य रनमा नै निरीह बन्यो। तेस्रो नम्बरमा आएका अनुभवी ब्याट्सम्यान शरदले ८९ रन जोड्दा नेपालको जित सम्भव भएको थियो। तर ज्ञानेन्द्र विना रन पेभिलियन फर्किए।

लिष्ट ए मा डेब्यू गरेका अविनाश बोहोरा र करण केसीले उत्कृष्ट बलिङ गरेकाले नेपालको जित थप सहज बन्यो। ज्ञानेन्द्रको कप्तानीमा लगातार तेस्रो हारको सामना गर्नुपर्ने अबस्थालाई शरदले जोगाएका थिए। दशक लामो उपकप्तानी भूमिकाबाट कप्तान बनेपछि आफूलाई प्रमाणित गर्ने विश्वास लिए पनि ज्ञानेन्द्रले भने विस्तारै आफ्नो स्वर्णीम अवसर गुमाउँदै गएका छन्।

मेरिबिलोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको खेलबाट कप्तानी सुरु गरे यता पाँच इनिङमा ज्ञानेन्द्रले जोडेको सर्वाधिक स्कोर १० रनमात्रै रहेको छ। जसले पनि ज्ञानेन्द्रको आलोचना गर्नेहरुलाई राम्रै मसला मिलिरहेको छ।

१८ कात्तिकमा एमसीसी विरुद्ध नेपाली टिमको कप्तानी गर्दै ५० ओभरको खेलका लागि मैदान उत्रिएका ज्ञानेन्द्रले १० रन जोडेका थिए। जुन नै पछिल्ला प्रतियोगिताको सर्वाधिक स्कोर हो।

२०१ रनको लक्ष्य पछ्याएको उक्त खेलमा विनोद भण्डारीले ५२ रनको अर्धसतकीय इनिङ र पवन सर्राफ ३३ रनले नेपालको संभावित संकट टरेको मात्र थिएन। ५ विकेटको जित पनि निस्किएको थियो।

घरेलु मैदान कीर्तिपुरमा ज्ञानेन्द्रको कप्तानी यात्रा जितबाट शुरु भए पनि ब्यक्तिगत स्कोरमा भने उनी निरीह नै रहे। ज्ञानेन्द्र एक दिवसीयमा मात्र होइन। एमसीसी सँगैको पहिलो श्रेणीको तीन दिवसीयमा समेत चल्न सकेनन्।

नेपालले १५३ रन जोडेको पहिलो इनिङमा ज्ञानेन्द्रले खातानै खोल्न असफल भएका थिए। दोस्रो इनिङमा पनि ज्ञानेन्द्रले दबाब झेल्न सकेनन्। ओपनरका रुपमा आएका उनी ६ रनमै आउट भए। क्रिजमा लगातार असफल भइरहेका ज्ञानेन्द्रका लागि अर्को अवसरका रुपमा रहेको एसीसी इमर्जिङ टिम्स कपमा पनि उनि कप्तानी इनिङ खेल्न निरन्तर असफल भइरहेका छन्।

२८ कात्तिकमा भारतबिरुद्धको पहिलो खेलमा उनको ब्याटिङ निरासाजनक रह्यो। अधिकांश युवा खेलाडी सम्मिलित टोलीको कप्तानी गरिरहेका ज्ञानेन्द्र खाता नै नखोली आउट हुँदा नेपाली खेलमा स्वाभाविक दबाबमा परेको थियो।

समानजनक स्कोर बनाउँदा युवा अलराउण्डर पवन सर्राफले अर्धशतकीय इनिङ खेले पनि नेपालको फराकिलो हार टार्न भने उनको एक्लो इनिङ पर्याप्त रहेन।सात विकेटले पराजित हुँदा नेपालले केवल १९३ रनको चुनौती दिएको थियो।

नेपालले सोमबार बंग्लादेशबिरुद्ध प्रतिष्पर्धा गर्दा फेरि एकपटक ज्ञानेन्द्रको परीक्षा हुने छ। दुई हप्तामा उनले चार खेलको कप्तानी गरिसकेका छन्। जसमा दुई जित निकाल्न सफल भए पनि व्यक्तिगत प्रदर्शनका कारण उनी आफै दबाबमा छन्। त्यसैले कम्तीमा टिमको जितका लागि अब उनले कुनै इनिङमा विशेष भूमिका निभाउने समय आइसकेको छ।

तर निरन्तरको खराव प्रदर्शनले समग्र टिममाथि नै दबाब बढन सक्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.