|

  • भुपाल थापा-

कपिलवस्तु : सदरमुकाम तौलिहवादेखि ९ किलोेमिटर उत्तरमा रहेको निग्लिहवास्थित जगदीशपुर ताल पर्यटकीय गन्तव्यको पहिचान बनाउने क्रममा छ। तालमा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न र मनोरञ्जन लिन आउने गरेका छन्।

सन् २००३ सेप्टेम्बरमा रामसार सूचीमा सूचीकृत १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको मानवनिर्मित जगदीशपुर ताल हजारौं घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, किराहरू र बोटविरुवाको आश्रय स्थल हो। हरेक वर्ष जाडो सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मी महिनाको सुरुआतसँगै फर्किन्छन्। विगतमा तालको संरक्षण हुन नसक्दा चोरी शिकारीको निशाना बनेका दुर्लभ चराचुरुङगी आजभोलि प्रशस्तै भेटिने गरेको कपिलवस्तुका प्रमुख वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिए। 

जगदीशपुर ताल हिउँदमा साइबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एसियाका देशबाट समेत चराचुरुङ्गी हरेक वर्ष घुम्न आउने गरेका छन्। आयाताकार यस तालको पूर्वी भाग छिपछिपे पानीयुक्त छ र पश्चिमतिरको भाग गहिरो पानीले भरिएको छ। खासगरी उत्तरी धु्वमा हिमपातको सुरुआतसंँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनि हजारौं चरा आउने गर्छन्। हिउँदे पर्यटक यी चराहरु यस क्षेत्रमा आउने क्रम भदौ मध्यदेखि माघको मध्यसम्म जारी रहन्छ। उनीहरु प्रायजसो चैतसम्म फर्किसक्छन्। 

स्थानीय जनसमुदायको लागि जीवनयापनको आधार पनि बनेको छ। नेपाल सरकार सिंचाइ विभागको स्वामित्वमा रहेको जगदीशपुर जलाशय खेतीयोग्य जमिन, सामुदायिक वन र केही स–साना पोखरी लगायत नहर संरचनाले वरिपरिबाट घेरिएकोे छ। जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले समेत यो ताललाई महत्वपूर्ण मानिन्छ ।

विश्वमा नै दुर्लभ मानिएका आठ प्रजातिका चरा पनि यहांँ देख्न पाइन्छ। यस क्षेत्रले १० प्रजातिका स्तनधारी जनावरहरूको वासस्थानलाई सघाउ पुर्याएको छ। यससंगै कछुवा र शंखेकिराका थुप्रै प्रजाति पनि यहाँ पाइन्छन्।
जलाशयको उत्तरी भागमा दलदले घांँसे मैदान फैलिएको छ भने बांँध क्षेत्र सिसौका रुखहरूले ढाकिएको छ। यहाँं १२ परिवारका २५ प्रजाति माछा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप रहेका छन्। तालले १ सय ५० प्रजातिका चराको आवतजावतलाई मध्यवर्ती क्षेत्रको काम गरेको छ। 

गत वर्ष माघदेखि ताल नजिकै थारु गाउँमा ‘होमस्टे’ सञ्चालनमा आएसंगै पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको हो। विगतमा वास्ता नगर्ने स्थानीय बासिन्दा अहिले तालको संरक्षणमा लागेका छन्। होमस्टे सञ्चालनमा आएपछि थारु महिलाहरू सक्रिय बनेको स्थानीय ललित गुरुङले बताए। ‘पहिले तालको महत्त्व नबुझ्दा संरक्षणमा समस्या थियो’, उनले भने, ‘अब समुदाय सचेत बनेको छ।’ होमस्टेका थारु महिलाहरू हप्ताको एकपटक ताल आसपासमा सरसफाइ गर्छन्। 

आन्तरिक र विदेशी पर्यटकहरूको आवतजावत र पर्यटन ट्रयाकलाई विस्तार गर्न यहाँका संघसंस्थाहरूले विभिन्न योजना ल्याउने गरेका छन्। छिट्टै तालमा डुंगा सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन सहज बनाउने जगदीशपुर जलाशय बहुसरोकार मञ्चका सदस्य अब्दुल रसिद खांँले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.