उपनिर्वाचनको अग्निपरीक्षामा पास हुनुपर्छ : प्रचण्ड

|

काठमाडौं  : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले मंसिर १४ को उपनिर्वाचन जित्नुपर्ने बताएका छन्। 

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलालाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै दुवै अध्यक्षले नेकपालाई जिताउनुको विकल्प नरहेको तर्क गरेका हुन्। 

भेलालाई पहिले सम्बोधन गर्दै प्रधामन्त्रीसमेत रहेका एकजना अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा नेकपालाई भोट दिएर जिताउनुपर्ने कयौँ कारण रहेको उल्लेख गरे। 

‘विकासका लागि, सुशासनका लागि, भ्रष्टाचार नियण्त्रणका लागि, शान्ति र समृद्धिका लागि, सडक र पुल बनाउन नेकपालाई जिताउनुपर्छ’, ओलीले भने, ‘दुर्गममा झोलुङ्गे पुल हाल्न, उद्योग खोल्न कृषि विकास गर्न, बालबालिका पढाउन, गरिबीले विद्यालयबाट निस्कन नपरोस् भन्न र वृद्धवृद्धाको भत्ताका लागि नेकपाको विकल्प छैन।’

अध्यक्ष ओलीले नेकपाले जितेमा आत्मीयता र मित्रता कायम गर्न सकिने बताए । ‘नेकपाको जित आत्मीयता र मित्रता कायम गर्न चाहिन्छ भन्ने उदाहरण हामीमाझ नै छ। प्रचण्डजी र मेरो मित्रता देखेर दुनियाँ नै अचम्मित छ । दुई फरक ध्रुवका ओली–प्रचण्ड एकै पार्टीमा छन्। यो पनि मित्रताको उदाहरण हो।’

प्रधानमन्त्री ओलीले प्रचण्डसँगको आफ्नो मित्रताले ‘दो शेर एक हि जंगल मे नहि रह सक्ते’, भन्ने हिन्दी उखानको पनि अन्त्य भएको जिकिर गरे। 

‘अब बडे बडे दो शेर एक ही जंगलमै रह सक्ते हे’, भन्ने हामीले प्रमाणित गरेका छौँ । यसैका लािग उपनिर्वाचनमा नेपकलाई भोट हालौँ’, उनले भने, ‘नेकपालाई जिताउन युवापंक्ति अब मैदानमा उत्रिनुस्।’

यो सानो अग्निपरीक्षा : प्रचण्ड

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको लोकप्रियता घटेको छ भनेर हल्ला गर्नेलाई जवाफ दिन पनि यो पटकको उपनिर्वाचन जित्नै पर्ने बताए ।

‘पार्टीको लोकप्रियता घटेको छ भनेर देखाउन संसारभरका प्रतिक्रियावादी लागेका छन्। उपनिर्वाचनमै नेकपालाई हराउन पनि लागि परेका छन्’, उनले भने, ‘यो सानो–सानो अग्निपरीक्षा हो, अब युवा कमरेडहरु फिल्डमा हिँड्नुस, चुनाव जित्नुस्।’

प्रचण्डले शनिबारसम्मको रिर्पोट अनुसार उपनिर्वाचन हुने ५२ स्थानमध्ये ८० प्रतिशत भन्दा बढी नेकपाले जित्ने सम्भावना छ।

‘रिर्पोट आए अनुसार अरु कांग्रेस, फोरम र राजपाले जितेका ठाउँमा ८० प्रतिशत भन्दा धेरै जित्छौँ भन्ने रिपोर्ट आएको छ’, उनले भने, ‘यसमा जित्यौँ भने कम्युनिष्ट पार्टी र सरकारविरुद्ध सबै आरोप खारेज हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.