पर्वत : पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवास्थित शिर्सुवाका थानेश्वर भुसाललाई जिल्लाकै सफल उद्यमीको रूपमा लिने गरिन्छ। खेर जाने गरेका लप्सीका परिकार बनाएर होस वा अदुवाबाट मिठाइका परिकार बनाएर किन नहोस् मौसमअनुसार गाउँघरमा पाइने कच्चा पदार्थ प्रशोधन गर्नमा उनी माहिर मानिन्छन्।
उनले सञ्चालन गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगबाट पछिल्लो समय बजारमा आएको पोसिलो खाजा सबैका लागि लोकप्रिय बनेको छ। विशेष गरी बच्चा र वृद्धका लागि उपयोगी हुने गरी उनले मकै, चना, भट्ट, फापर, बदाम, अलैँची, अदुवा, मरीचलगायतको मिश्रणबाट बनाएको पोसिलो खाजाको माग विदेशमा पनि राम्रो भएको छ। उद्यमी भुसालले बजारमा स्वास्थ्यका लागि हानी गर्ने गरी वस्तुसमेत मिसाएर विभिन्न उत्पादनहरू बजारमा रहेको सन्दर्भमा आफूले तयार पारेको पोसिलो खाजाले राम्रो बजार पाएको बताए।
‘हामीले बजारमा आकर्षक प्याकेटमा राखिएका खानेकुराहरूलाई मन पराउने गरेका छौँ। यसले हाम्रो स्वास्थ्यमा कति असर गरेको छ भन्ने पनि थाहा पाएका छौँ, तर त्यसलाई त्याग्न सकेका छैनौँ’ उनले भने, ‘खुसी लागेको छ, किनकि अर्ग्यानिक तरिकाले बनाइएको पोसिलो खाजाको माग बढ्नुले हामी हाम्रो स्वास्थ्यप्रति चिन्तित रहेको पनि देखाएको छ।’
सामुदायिक खाद्य प्रशोधनबाट पछिल्लो समय बजारमा आएको पोसिलो खाजाको माग विदेशमा सबैभन्दा बढी रहेको थानेश्वरको भनाइ छ। वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूलाई उक्त खाजा उपहारको रूपमा पठाउने गरिएको छ। त्योबाहेक सदरमुकाम पर्वत, छिमेकी जिल्लाहरू बागलुङ, कास्की र म्याग्दीमा पनि पोसिलो खाजाको माग बढेको उनले बताए।
अनुपातअनुसार चिनी र नुनको मात्रा पनि मिलाइएका कारण बच्चाहरूको लागि खाजा स्वादिलो भएकोले धेरै ग्राहकहरूले उद्योगमै पुगेर खाजा खरिद गर्ने गरेका छन्। हालै मात्र उत्पादन आरम्भ गरिएको भए पनि मागको अवस्था हेर्दा यसले बजारमा राम्रो प्रभाव पार्न सकेको भुसाललाई लागेको छ।
बजारीया खाद्यान्न र खाजाका कारण गाउँघरमा उत्पादन हुने मकै खाने प्रचलन त्यति धेरै नरहेको अवस्थामा मकैलाई प्रशोधन गरी स्वादिलो खाजाका रूपमा तयार गर्दा मकै र अन्य गाउँले खाद्यान्न खाने बानीको पनि विकास हुने उनले बताए।
‘गाउँघरमा पनि हर्लिक्स लगायतका वस्तुहरूको प्रयोग गर्ने प्रचलन निकै छ। यसले विस्तारै त्यो बानीलाई विस्थापित गर्ने छ’ उनले भने, ‘मकै, भट्ट, फापर, बदाम लगायतका वस्तुमा हुने पोषणको बारेमा हामीले थाहा नपाएको जस्तो गर्ने गरेका छौँ।’
पोसिलो खाजा उत्पादन सुरुवातकै चरणमा रहेका कारण उपभोक्ताको सुझावअनुसार यसको स्वाद र परिमाणमा परिमार्जन गर्दै यसको उत्पादनलाई व्यापक बनाउने उद्योगको योजना छ। खाजामा प्रयोग गरिने कच्चा पदार्थहरूलाई आधुनिक मसिनबाट पौष्टिकतामा ह्रास नआउने गरी राम्रोसँग भुट्ने गरिएका कारण उत्पादनको ६ महिनासम्म खानको लागि उपयुक्त हुने भुसालको भनाइ छ।
पोसिलो खाजा उत्पादन गर्न लागि गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयबाट अनुदानसमेत आएको थियो। कुल लागत १० लाख ८७ हजार रहेकोमा निर्देशनालयले ७० प्रतिशत अर्थात् ७ लाख ६० हजार ९ सय रुपैयाँ र उद्योगले ३ लाख २६ हजार १ सय रुपैयाँ लगानी गरेका छन्।
खाद्य प्रशोधन उद्योगले स्थानीय वस्तुहरूको प्रयोगबाट नै विभिन्न वस्तुहरूको उत्पादन गरिदिँदा स्थानीय नागरिकले जति कच्चा पदार्थ तयार पार्न सक्छन् ती सबैले बजार पाएका छन्।
उद्योगबाट लप्सीका बोक्राबाट तयार पारिने गुलियो, अमिलो र पिरो क्यान्डी, लप्सीको गुदीबाटबाट तयार पारिने क्यान्डी, लप्सीको बोक्रालाई सुख्खा बनाएर बनाइएको माडा, लप्सीको जाम, तितौरा, पाउडर, अदुवाको क्यान्डी, सुन्तलाको जाम, अमलाबाट बनाइने अचार, क्यान्डी, मुरब्बा, तितौरा, अचार तथा करेला, मुला र काउलीबाट बनाइने अचारलगायतका परिकारहरू उत्पादन हुँदै आएका छन्। कुनै पनि रासायनिक पदार्थको प्रयोग नगरी स्थानीय प्रविधिबाटै तयार पारिने यस्ता परिकारहरूको माग बढी विदेशमा नै हुने गरेको उद्यमी भुसालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।