|

मुगु : सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने र देशभर २० लाख पर्यटक ल्याउने घोषणा गरेसँगै देशभर पर्यटकीय गतिविधी सञ्चालन भइरहेका छन्। त्यसै सन्दर्भमा कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन समितिका संयोजक राजु कार्कीले कर्णालीको समृद्धिको आधार नै पर्यटन क्षेत्र रहेको र पर्यटकलाई घुमाउने पर्यटकीय स्थान पर्याप्त भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन्।

सन् २०२० मा कर्णाली प्रदेशमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ योजानाबद्ध रूपमा काम गरिरहेका कार्कीको भनाइ छ। यसैबीच थाहाखबरकर्मी नन्दबहादुर रोकायाले कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन समितिका संयोजक राजु कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पर्यटन वर्ष २०२० कर्णाली प्रदेश पर्यटन पवर्द्धन समितिको संयोजक हुनुहुन्छ, कर्णालीका पर्यटकीय क्षेत्रका लागि हालसम्म के-के गतिविधि भएका छन्?

सरकारले नेपाल भ्रमण वर्ष-२०२० सफल पार्नका लागि सातै प्रदेशले पर्यटन प्रवर्द्धन समिति बनाएको छ। तर, कर्णाली प्रदेशको सन्दर्भमा हामीलाई के लाग्दछ भने केन्द्र-प्रदेश हुँदै स्थानीय तहमा सरोकारवाला निकायसँग पर्यटकीय गतिविधिका बारेमा अन्तक्रिया तथा छलफल गरिसकेका छौँ।

त्यसैगरी, कर्णाली प्रदेशमा रहेका १० वटा जिल्लालाई समेटी ४० वटा गन्तव्य छनोट गरेका छौँ, जस्मा २० वटा प्रमुख पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार-प्रसार गर्ने र २० वटालाई पर्यटकीय गन्तव्यलाई आन्तरिक अर्थात् राष्ट्रिय तहमा प्रचार-सार गर्न योजनासहित अगाडि बढेका छौँ।

यी गन्तव्य प्रचारको लागि पाँचजना विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तिहरूलाई फ्रेन्ड अफ कर्णाली (कर्णालीका साथी) भनेर 'गुडविल एम्बेस्डर' समेत घोषणा गर्ने निर्णय गरेका छौँ। आफैँमा पनि कर्णाली प्रदेश सभ्यता र संस्कृतिको केन्द्रबिन्दु, भाषाको उद्गमस्थल, भौगलिक विविधता, प्राकृतिक सुन्दरता विभिन्न जातजाति, भाषाभाषी भएको, प्राकृतिक साधन श्रोतले सम्पन्न क्षेत्रको रूपमा समेत परिचित छ।

पहिचान भएका कर्णाली प्रदेशका पर्यटकीय स्थलमा हालसम्म आन्तरिक तथा बाह्य पर्यटकको अवस्था के छ?

कर्णाली प्रदेशको सन्दर्भमा आन्तरिक पर्यटकले अत्याधिक रूचि देखाएको पर्यटकीय क्षेत्र रारा हो। यो त्यहाँ पुगेका पर्यटकहरूको संख्याले पनि बताएको हो। बाह्य पर्यटकको कुरा गर्ने हो अपर डोल्पो क्षेत्र नै हो यसका साथ साथै अन्य क्षेत्रहरूमा राम्रो भिजिट देखिन्छ।

नेपाल सरकारले साच्चिकै हवाई यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, विश्वसनीय एवं व्यवस्थितका अतिरिक्त वैकल्पिक हवाइमार्ग बनाइ स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि गर्नु आवश्यक छ। अर्कोतिर कर्णालीमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलको समेतको उक्तिकै जरुरी देखिन्छ।

जसले गर्दा छिमेकी मुलुक चीन र भारतको पर्यटकहरूलाई भित्र्याउन सजिलो मार्ग बन्न सक्छ। साथै आन्तरिक पर्यटकहरूका लागि सरकारले पर्यटकीय सिजनका लागि कम्तिमा पाँच वर्षसम्मका लागि हवाई यातायातको विषेश प्याकेजको व्यवस्था गरी टिकट सहुलियत दरमा समेत विषेश सहुलियत प्रदान गर्न आवश्यक छ।

जबसम्म आन्तरिक पर्यटक चाप बढ्दैन तबसम्म बाह्य पर्यटकहरूलाई पनि यसको सूचना अपुग हुन्छ। राज्यले कर्णालीको दिगो पर्यटन विकासका लागि पर्यटन क्षेत्रमा मात्र भए पनि भूगोललाई आधार मानेर वार्षिक बजेटको बाँडफाँड गर्नु आवश्यक देखिन्छ भने अर्कोतिर कर्णालीमा पर्यटनका मुख्य केन्द्रको पहिचान हुन आवश्यक छ।

यति मात्र नभएर कर्णाली प्रदेशका ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रहरूमा पर्यटकको आगमन भइरहेको छ। तर, जति पर्यटकहरू आगमन हुनुपर्ने हो त्यति हनु सकेको छैन। देशको भौगोलिक बनोट तथा वैकल्पिक यातायातको सुविधाको अपर्याप्तताका कारण कर्णालीमा पर्यटन क्षेत्रको विकास एवं विस्तारका लागि केही चुनौतिहरू पनि खडा भएका छन्। यसो हुनुमा प्रचार-प्रसारका साथै पहुँच तथा पर्यटकीय पूर्वाधारको कमीका कारण हो।

पर्यटन प्रवर्द्धन र स्थानीयको जीविकोपार्जनका लागि थप योजना के छन्?

कर्णाली प्रदेशको समृद्धिको आधार भनेको पर्यटन र जडिबुडी हो। तर, जति मात्राम पर्यटन प्रवर्द्धन हुनुपर्ने हो त्यति हुन सकेको छैन। यसो हुनुमा धेरै कारणहरू छन्। तर, पछिल्लो समय राज्य आफैँ पर्यटन प्रवर्द्धन गर्न लागेको छ। एकजना पर्यटकले दशजनालाई रोजागारी दिने गर्दछन्। यसकारण पनी पर्यटनको कर्णालीको समृद्धिको आधार पर्यटन प्रवर्द्धन गर्न हामी सबै लाग्नु पर्दछ।

हामी अहिले कर्णालीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न तरिका छलफल गरिरहेका छौँ। चाडै निश्चित खाका लिएर आउछौँ। कर्णालीको आभूषणको रूपमा रहेका से-फोक्सुन्डो, राराताल र नेपाली भाषा तथा सभ्यताको उद्गमस्थल जुम्लाको सिंजा उपत्यका र कालिकोटको रासकोट, पञ्चदेवल, सल्यानको खैरावाङ्ग मन्दिर र सुर्खेतको काँक्रेविहार क्षेत्र साथै विश्वकै अग्लो मानिएको पचाल झरना आदि नेपालको प्राकृतिक सम्पदाका एउटा परिचय हुनसक्छन् भने हुम्ला विश्व तीर्थ यात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार बनसक्छ।

त्यसैगरी, डोल्पामा अवस्थित नेपालको सर्वाधिक उचाईमा रहेको मानव वस्ती भोट र मुगुको मुगुभोट पनि पर्यटकीय दृष्टिकोणले उत्तिकै सम्भावना बोकेका रमणीय स्थान का साथै अध्ययन गर्न चाहनेका लागि पनि एक उत्कृष्ट गन्तब्य हुन्।

साँच्चिकै सरकारले कर्णाली पर्यटन विकासका लागि छुट्टै सरकारीस्तरीय कर्णाली पर्यटन विकास समिति संयन्त्रको मात्र विकास गर्ने हो र त्यो निकायले तन मनका साथ काम गर्ने र योजना बनाउने हो भने हुम्लाको लिमी र मुगुको करानक्षेत्र अर्को मनाङ, मुस्ताङ र नगरकोट बनसक्छन्।

कर्णालीको पर्यटकीय सम्भावनालाई केलाउने हो भने तत्कालका लागि पद यात्रा र साहसिक पर्यटन नै पर्यटनको बढी आकर्षण देखिन्छ। कर्णाली नदीको पश्चिमी किनाराबाट सुरु भएको पदयात्रा पर्यटकको इच्छाअनुसार जहाँ पनि जानसक्छ।

नदीको किनारै किनार उत्तरी क्षेत्र हुम्ला, मुगु र पूर्व डोल्पा जिल्लाका साथै सुर्खेतलगायत विभिन्न भू-भागको यात्रा गर्न सकिन्छ। विभित्र भागसम्म पैदल यात्रा गर्न सकिने अवस्था छ जहाँ पर्यटकीयस्थलका अतिरिक्त विविध संस्कृतिको अवलोकन गराएर पनि स्थानीयबासीको जीविकोपार्जनमा टेवा पुर्‍याउन सकिन्छ।

रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउने तपाईंको योजना के छ?

रारा ताल घुम्न आउने पर्यटकहरूको बसाई लम्बाउन बिभिन्न गतिविधि गरिरहेका छौँ। जस्तो स्थानीय गाउँहरू भम्रण, जगल हाइकिड तथा रारा ताल बोटीडलगायत ताल वरिपरी साइकल यात्रा, घोडा सफारी जस्ता विभिन्न गतिविधि स्थानीयसगँ मिलेर काम गरिरहेका छौँ। पर्यटकीय आर्कषणका स्थलहरूमा बढी भन्दा बढी पर्यटक भित्र्याउन यस भू–भागमा न्यूनतम आवस्यक पूर्वाधार हुनु अत्यन्त जरुरी हुन्छ।

पहिलो पटक रारा पुगेर फर्किने पर्यटकले बास बस्ने व्यवस्था, खाने र मनोरञ्जन गर्ने व्यवस्था छैन। निकै दुःख पाइयो फेरि रारा आउन नपरोस् भन्ने गर्छन त?

यस्तो होईन। जती प्रचार-प्रसार भएको छ त्यस्तो होईन। रारा आफैमा विस्तारै पर्यटकीय विकासको पहुँच पुगेको स्थान हो। त्यो भएर शहरको जस्तो सुविधा  सम्पन्न नहोला तर पर्यटकहरूलाई चाहिने पुर्वाधार सबै खालको रारामा छ। सिजनको बेला अग्रीम बुकिङ नगर्दा कहिलेकाहीँ यस्ता समस्या हुने गर्दछ तर होटल बुकिङ गरेर आँउदा समस्या जस्तो देखिन्छ।

रारामा रहेका दुई होटेलको सिण्डिकेटले पर्यटकले दु:ख त पाए नै। स्थानीयले पनि थप अवसर पाउन सकेका छैनन नि? रारामा हाल दुई वटा मात्र होटल संचालनमा रहेका छन् साथै सेवा पनि दिईरहेका छन। स्थानीय उत्पादनको राम्रो खपत पनि त भएको छ।

राराबाट छायानाथ, छायानाथ अपर मुगु हुँदै पुनः गडुलनानी रारा हेलिकोप्टर प्याकेजको योजना कहाँ पुग्यो?

यो कार्ययोजनाअनुसार अगाडि बढिरहेको छ। केही मौसमलगायत प्राविधिक कारणले ढिला मात्र भएको हो। केही हेलीकप्टर संचालकसँग यसको भाँडाका विषयमा कुरा भईरहेको छ सायद चाँडै नै हामी संचालनमा ल्याउँछौँ।

यो प्याकेजले कस्ता पर्यटक कति भित्र्याउन सकिएला?

यस प्याकेजले धार्मिक तथा प्राकृतिक सुन्दरताको स्वाद लिने पर्यटकहरू जाने गर्दछन् नेपाली तथा भारतीय पर्यटकहरूलाई नै विशेष तारगेट गरेका छौँ।

चालु आर्थिक वर्षमा कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने के के गतिविधी सञ्चालन भइरहेका छन्?

 कर्णालीका सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्ने प्रयासहरूमा स्थानीय निकायहरू र स्थानीय पर्यटन उपभोक्ता समूहहरूलाई क्रियाशील र सहभागी बनाउन आवश्यक बनाउने। सरकारका तर्फबाट कर्णालीमा १ घर १ कोसेली भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका सिप क्षमताको प्रवद्धन गर्ने।

कणालीका (१०) दशवटै जिल्लामा प्राकृतिक, साँस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रको विस्तृत अध्ययन गरी तिनको संरक्षण तथा संवद्र्धनका अतिरिक्त प्रचार प्रसारको जरुरी देखिन्छ। सुर्खेत, जुम्ला लगायत अन्य विमानस्थलहरूमा संचार तथा उड्डयन सहायक उपकरण जडान, एयरफिल्ड लाईटिङ्ग उपकरण जडान गरी रात्री उडान सेवा सचालनका लागि उपर्युक्त बनाइनु आवश्यक छ।

साथै कर्णालीमा नेपालगंञ्ज, सुर्खेतबाट मात्र हवाई उडान संचालन हुदै आएकोमा काठमाडौ र पोखराबाट अतिरिक्त उडान लागि समेत पहल गदैछौ।

पहिलो चरणमा कर्णालीका पर्यटन बजारका सम्भाव्य मुलुकहरू भारत र चीनलाई केन्द्रित गर्नुका साथै अन्य क्षेत्रीय मलुकहरू जापान, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, बङ्गलादेश आदिमा पर्यटन प्रवद्र्धनसम्बन्धी कर्णालीका गतिविधिको प्रचारप्रसार गदै विश्वका अन्य मुलुकसँग पनि यो क्रमलाई जोड्ने योजना छ।

जुम्लाको सिंजा, डोल्पाको साल्दाङ्ग र मुगुको करान भोट जस्ता ठाउँमा रहेको महत्वपूर्ण पुरातात्विक सम्पदा र सँस्कृतिकोे संरक्षण तथा त्यस क्षेत्रमा न्यूनतम् पूर्वाधारको विकास गरेर ती ठाउँहरूलाई खुल्ला संग्रालयको रुपमा सरकारले घोषण गरी टिकट काउन्टरको व्यवस्था गरी जसको प्रवर्द्धनले र प्रचारप्रसारले पर्यटकहरूका लागि यी क्षेत्र आकर्षणको केन्द्रविन्दुमा रहन सक्छन्।

नेपाल सरकारले कर्णालीको पर्यटन विकासको क्षेत्रमा लगानी गर्ने व्यक्ति वा कम्पनीलाई १० देखि १५ वर्ष सम्म कर पूर्णरुपमा छुट वा लगानी कत्र्तालाई निव्याजी आर्थिक अनुदान दिएर लगानीकर्तालाई आकर्षण गर्न सकिन्छ भने अर्कोतिर सरकारले आफ्नो संयन्त्र तारा गाउँ विकास समिति मार्फत पनि अति सम्भाव्य कर्णालीको कुनै पनि क्षेत्रमा राम्रा खालका होटल तथा लजको स्थापना गर्न सक्छ।

सन् २०२०  कर्णालीमा कति पर्यटक भित्र्याउन सकिएला?

पर्यटकीय आर्कषणका स्थलहरूमा बढिीभन्दा बढी पर्यटक भित्र्याउन कर्णाली प्रदेशमा न्यूनतम आवश्‍यक पूर्वाधार विकास गर्न आवश्यक छ। हामीले कर्णाली क्षेत्रमा २ लाख बाह्‍य तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने योजनासहित पहल गरिरहेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.