बिहानैदेखि भेटघाट र सार्वजनिक कार्यक्रममा व्यस्त
बिहानैदेखि भेटघाट र सार्वजनिक कार्यक्रममा व्यस्त
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको बिरामी छन्। पछिल्लोपटक २० दिनभित्रमा तीन पटकसम्म ग्राण्डी अस्पतालमा हेमोडायलाइसिस गरिएको छ। प्रमको मिर्गौलाले केवल १० प्रतिशत मात्रै काम गरिरहेको प्रतिवेदन चिकित्सकले दिएका छन्।
हेमोडायलाइसिस गरेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले उपचारले मात्रै नपुग्ने बताएका छन्। उपचारलाई निरन्तरता दिँदै पर्याप्त आराम गर्न प्रधानमन्त्रीलाई चिकित्सकहरूको सुझाव छ।
संक्रमणको जोखिम हुने भएकाले उनलाई भिडभाड हुने ठाउँमा नजान पनि चिकित्सकहरूको गम्भीर सुझाव छ। धेरै नबोल्न र मान्छेसँग हात मिलाउने तथा अन्य क्रियाकलाप नगर्न चिकित्सकहरूले सचेत गराएका हुन्। त्यसो गर्दा संक्रमण हुने र स्वास्थ्यमा थप जोखिम हुने भएकाले चिकित्सकहरूले यस्तो सुझाव दिँदै आएका छन्।
ओलीले भने चिकित्सकहरूको सुझावलाई बेवास्ता गर्दै उनीहरूलाई नै आफू स्वस्थ रहेको बताउने गरेका छन्। शनिबार 'फलोअप'का लागि ग्रान्डी अस्पतालमा पुगेका उनले सुरुमा आफूलाई 'केही जाँच गर्न नपर्ने' बताएका थिए।
'सामान्य रगत चेक जाँच गर्दा तपाईंलाई केही हुँदैन र झन् राम्रो हुन्छ' भनेर चिकित्सकहरूले सम्झाएपछि उनी रगत जाँच गर्न सहमत भएका थिए। त्यसपछि गरिएको रगत परीक्षणमा 'क्रियाटिन'को मात्रा अत्यधिक पाइएको थियो। त्यसपछि चिकित्सकहरूले तत्काल हेमोडायलाइसिस गरेका थिए।
सचेत गराउँदैन सचिवालय
प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चिकित्सकहरूले लगातार सचेत गराउँदै आएका छन्। ओलीले भने चिकित्सकले भनेका यी कुराको कुनै वास्ता गर्ने गरेका छैनन्।
निजी चिकित्सक र निजी सचिवालयका अधिकारीले पनि उनको स्वास्थ्यप्रति गम्भीर हरेको पाइएको छैन। जसको प्रमाण हो, एकै दिन प्रधानमन्त्रीका आधा दर्जन भेटघाट र सार्वजनिक कार्यक्रम तथा सयौँ व्यक्तिको उपस्थिति भएको भेलामा जाने कार्यक्रम तय हुनु।
कतिपय अवस्थामा प्रधानमन्त्रीले चिकित्सकहरूको सुझाव र सचेतता नमान्ने गरेका छन्। उनलाई आराम गर्न र अन्य मानिससँग घुलमिल नहुन स्वास्थ्यकर्मीका नाताले सचेत गराउँदै आएका छन्। तर, प्रधानमन्त्रीले उनीहरूको सुझाव र सचेत गराएको कुरालाई नकारेको व्यवहार देखाएका छन्। त्यसबाट उनको उपचारमा संलग्न चिकित्सकहरू चिन्तित छन्।
प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने, '१२ वर्ष अघि प्रत्यारोपण गरिएका उहाँका मिर्गौलाको कार्यक्षमता धेरै कम भइसकेको छ। यस्तो बेला उहाँलाई डायलाइसिसले मात्र हुँदैन। धेरै आरामकोसमेत आवश्यक परेको छ। आरामसँगै संक्रमबाट जोगिन उहाँले उत्तिकै चनाखो हुनुपर्ने आवश्यकता छ।'
शनिबार दिनभर लगाएर स्वास्थ्य परीक्षण र हेमोडाइलाइसिस गरेका प्रधानमन्त्री ओली शनिबार दिनभर सार्वजनिक कार्यक्रममा व्यस्त रहे। उनले आइतबार बिहानैदेखि भेटघाट र सार्वजनिक कार्यक्रममा व्यस्त रहेर बिताए।
बिहान सचिनसँग भेट, दिउँसो सवा घण्टा भाषण
प्रधानमन्त्री ओलीले आइतबार बिहान नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकरसँग सरकारी निवास बालुवाटारमै भेट गरेका थिए।
संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफको सद्भावना दूत तेन्दुलकरसँग प्रधानमन्त्री ओलीले केही समय कुराकानी गरेका थिए। त्यहाँ उनले सचिनसँग हात मात्रै मिलाएनन् सचिवालयका सदस्यसहित फोटो सेसन पनि गराए।
Pleased to meet with @sachin_rt, famous cricket player, and UNICEF goodwill ambassador today. He appreciated the efforts undertaken by Nepal for the promotion of the rights of the children and their welfare. pic.twitter.com/va9pENNVJd
— KP Sharma Oli (@PM_Nepal) November 17, 2019
त्यसपछि उनी नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको पहिलो एकता भेलालाई सम्बोधन गर्न बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा पुगे।
त्यहाँ करिब साढे २ घण्टा बिताएका उनले सम्मान ग्रहण गरे, खादा ग्रहण गरे, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्मान गरे। त्यतिमात्रै होइन, उनले करिब १ घण्टा १५ मिनेट भाषण गरेका थिए।
पानी पनि नपिई ओलीले लगातार सवा घण्टा भाषण गरे। जसमा भारतले कालापानी मिचेको र त्यहाँबाट भारतीय सेना फिर्ता गर्न सरकारले पहल थाल्नेदेखि लोकतन्त्रका लागि लड्दा मिर्गौला फेल हुने गरी कुटाइ खाएको कुरा सम्झिएका थिए।
त्यहाँबाट फर्किएका ओली साँझ नेकपाको सचिवालय बैठकमा सहभागी भएका छन्। यसबीचमा पनि उनले अन्य भेटघाट गरेको उनको सचिवालयका सदस्यले जानकारी दिएका छन्। उनले विभिन्न क्षेत्रका प्रतिनिधिलगायत सरकारी अधिकारीसँग गरेर दिनभर झन्डै आधा दर्जन भेटघाट गरेका छन्।
यो तहको तीव्र दौडधुपले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आउने डरले उनका चिकित्सकहरू चिन्तित छन्। उनीहरू भन्छन्, 'जति धेरै भेटघाट र भीडमा प्रधानमन्त्री जानुहुन्छ, त्यत्तिकै उहाँको स्वास्थ्यमा संक्रमणको जोखिम हुन्छ।'
दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारीमा जुटिरहेका ओलीले जति धेरै यस्ता क्रियाकलाप गर्छन्, त्यति नै उनलाई संक्रमणको जोखिम हुन्छ। यसको असर प्रत्यारोपण गर्दासमेत देखिन सक्ने चिकित्सकहरू बताउँछन्।
उनको उपचारमा संलग्न मेडिकल टिमका एक सदस्यले भने, 'उहाँ (प्रधानमन्त्री) को मिर्गौलाले काम गर्न छोडिसक्यो। अब संक्रमण भयो भने डायलाइसिसको बेला पनि झन् धेरै संक्रमण हुनसक्छ। प्रधानमन्त्री पदमा भएकाले उहाँको दैनिकी झन् व्यस्त छ। धेरैसँग भेटघाट हुने हुँदा झन् संक्रमणको जोखिम उच्च हुन्छ। जसले गर्दा अहिलेको अवस्थामा पनि गम्भीर जटिलता थपिन सक्छ। त्यसको असर प्रत्यारोपणका क्रममा देखिन सक्छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।