निजगढ अब दोस्रो रहेन

|

बारा : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मंसिरमा शिलान्यास गर्ने घोषणा गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई रित्तै फर्किएका छन्।

बारास्थित कोल्हवी नगरपालिकाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री भट्टराईले शिलान्यासको मिति उल्लेख नगरी भने, 'ठ्याक्कै कहिले ढुंगा गाढेर शिलान्यास हुन्छ भन्ने प्रश्न छ, चाँडै नै हुन्छ।’

पहिलोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न आएका मन्त्री भट्टराईले शिलान्यास पूर्वका काम अघि बढाइएको जानकारी दिए। उनले बस्ती स्थान्तरणको मोडलबारे छलफल भइरहेको बताउँदै, काँटगाउँमा अधिकांशलाई मुअब्जा वितरण गरिएको बताए। उनले रूख कटानको बारेमा वन मन्त्रालयसँग विभिन्न चरणमा छलफल गरिएको र मन्त्रीपरिषद्बाट टुंग्याउने गरि प्रधानमन्त्रीसँग समेत छलफल भएको बताए।

अन्तरक्रियामा संघीय सांसद रामबाबु यादव, रामसहाय यादव, प्रदेशसभाका सांसद त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल लगायत विभिन्न पार्टीका नेताहरूले सम्बोधन गरेका थिए।

निजगढ अब दोस्रो रहेन

मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नामकरणको बारेमा समेत चर्चा गरेका थिए। उनले निजगढ विमानस्थल तीनवटा स्थानीय तहसँग जोडिए पनि पहिलदेखि नै निजगढ भनिदै आएको र अहिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिएको बताए।

उनले कसरी निजगढ भनिन थालियो त्यसबारे पनि प्राविधिकसँग छलफल गर्ने भन्दै अहिले नामभन्दा काम आवश्यक रहेको बताए। उनले उपयुक्त समयमा यसको नामकरणसमेत गरिने बताए।

मन्त्री भट्टराईले निजगढ विमानस्थल देशको दोस्रो विमानस्थल अब भन्न नमिल्ने बताए। भैरहवामा निर्माण अन्तिम चरण्मा पुगेको र अबको तीन महिनामा सञ्चालन गर्ने तयारीमा पुगिसकेकोले अब दोस्रो त्यही हुने भन्दै त्यसपछि तेस्रो भयो भने पोखरा हुने बताए। पोखरा र भैरहवाले पनि काठमाडौंको चापलाई समाधान नगर्ने भन्दै निजगढ नै अन्तिम विकल्प भएको बताए।

टांगियाबासीलाई आश्वासन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित धावनमार्गमा रहेको जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्ती निरीक्षण गर्न पुगेका पर्यटन मन्त्री भट्टराईले बस्ती व्यवस्थापन गर्दा अहिलेको भन्दा राम्रो व्यवस्थापन गरिने बताए। मन्त्री भट्टराईले विमानस्थल बनाउने निर्णयबाट सरकार पछि नहट्ने भन्दै विमानस्थल अघि बढेको बताए।

मन्त्री भट्टराईले निजगढ विमानस्थल बन्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन्। उनले स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरेर मन्त्रीपरिषद्ले निर्णय गर्ने बताए। टांगियाबासीले मन्त्री भट्टराईलाई स्वागत गरेका थिए।

टांगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बस्ती व्यवस्थापनबारेमा मन्त्री भट्टराईलाई माग पत्र पेश गरेका थिए। वडा अध्यक्ष केदारनाथ बजगाईले विमानस्थल बनाउनु अघि बस्तीको स्थान्तरण गर्न सरकारसँग माग गरे। २०३१ सालदेखि बसोबास हुँदै आएको सरकारी जमिनमा टांगियाबस्तीमा १ हजार ४ सय ७६ घरधुरी बसोबास रहेको छ।

राज्यमन्त्री, सचिव र हवाई उड्यान विभागका महानिर्देशकसहित बारा आएका मन्त्री भट्टराईले विमानस्थल काँटगाँउसमेत पुगेका थिए। बस्ती स्थान्तरणको लागि प्रस्तावित जीतपुरसिमरा १६ को डकाहा र वडा १७ को लामिडाँडाको निरीक्षण गरेका थिए।

मन्त्रीको स्वागतका लागि आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले बस्ती व्यवस्थापनका लागि संघीय सरकारले निर्णय गरे स्थानीय सरकारले सहयोग गर्ने बताए।

जहाज ल्याएपछि मात्र माला

चितवनबाट बिहान गाडी चढेर बारा आएका मन्त्री भट्टराईले दुई तल्लाको जहाज ल्याएपछि मात्र माला लगाउने बताएका छन्। बाराको जीतपुरसिमरा १ पथलैयामा भीमेश्वर मध्यवर्ती सामुदायिक वन समूहको प्रस्तावना पत्र बुझ्दै मन्त्री भट्टराईले अहिले फूलमाला नलगाउने बताउँदै उनले भने, ‘अहिले स्वागतका लागि कुनै तयारी नगर्नुहोला।’

उनलाई स्वागतका लागि संसददेखि नेता, कार्यकर्ताले खादा र माला लिएर उभिए पनि आफ्ना हातमा लिए पनि लगाएनन्। मन्त्री भट्टराईलाई वनको तर्फबाट अमृतलाल श्रेष्ठले प्रस्तावना पत्र बुझाएका थिए।

२० लाख पर्यटक ल्याए तक्मा

मन्त्री भट्टराईले पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याएपछि आफूले तक्मा पाउने बताए। मन्त्री भट्टराईले नेपालमा वार्षिक २० लाख पर्यटन भित्र्याएर नपुग्ने बताए। नेपालमा गर्मी र जाडो दुवै मौसममा पर्यटक आउन सक्ने भएकाले लाखौं पर्यटक भित्र्याउन भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए।

टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारीलगायत सहभागी छन्।

निरीक्षणमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, संघीय सांसद रामबाबु यादव, रामसहाय यादव , पूर्वसभासद जयराम दाहाल, गोपाल ठाकुर, बलवीर चौधरी, प्रदेश सभाका सांसद ज्वाला साह, त्रिलोकी चौधरी, सुन्दर विक, सीता गुरुङ थिए।

त्यसैगरि सारदाशंकरप्रसाद कलवार, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर पौडेल, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरी, निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेसमेत सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.