|

बाँके : हरेक वर्ष हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्षदेखि नाम परिवर्तन गरि 'धारा नेपालगन्ज म्याराथन’ हुने भएको छ। यसअघि चारवटा संस्करण भइसकेको नेपालगन्ज म्याराथनको नामले भएकोमा यस वर्षदेखि 'धारा नेपालगन्ज म्याराथन’ हुने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले बताए।

विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै ५ मंसिरमा हुँदै आएको नेपालगन्ज म्याराथनलाई धारा शुद्ध तोरीको तेलले दुई वर्षका लागि सहकार्य गरेपछि यस वर्षदेखि 'धारा नेपालगन्ज म्याराथन’ हुन लागेको उनले बताए। केएल दुगड ग्रुपअन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा तोरीको तेलले मुख्य प्रायोजन गरेको उनले बताए।

मुख्य प्रायोजकको तर्फबाट केएल दुगडका महाप्रबन्धक प्रदीपकुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 'सामाजिक एकताको प्रतिक नेपालगन्ज सहरलाई खेलकुदमार्फत देश, विदेशमा चिनाउने हाम्रो उद्देश्य छ। यसैअनुसार हामीले विगत चार वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौँ,’ उनले भने।

पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, पाँच किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय र खुल्ला दौड समावेश गरिएको छ। त्यसैगरी ८ देखि १२ वर्ष उमेर समूहको पनि दौड राखिएको उनले बताए। शारीरिक रूपले अशक्तको लागि पनि दौड स्पर्धा समेटिएको उनले बताए।

यस वर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ। यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा विभिन्न पेशा र व्यवसायीले सहभागिता जनाउने छन्। खुल्ला म्याराथनतर्फ शीर्ष आठजना तथा हाफम्याराथन शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिने उनले बताए।

अन्य सबै विधामा नगद पुरस्कार दिइने र कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिने छ। बीपी चोकदेखि सुरु भई कोहलपुर चौराहको उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा पूरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरू सहभागी हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.