|

पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि ९९ औं गोल पूरा गरेका छन्।  पुरुषतर्फ विश्व रेकर्ड कायम गर्ने दौडमा निकै अघि रहन सफल रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाएका इरानका डाइज अलीको कीर्तिमान भेट्न अब १० गोल टाढा छन्। अलीले १०९ गोल गरेका छन्। यो वर्ष राष्ट्रिय टिमबाट निकै सफल देखिएका रोनाल्डोले १४ गोल गरेका छन्।

आइतबार आफ्नो एक गोलसँगै उनले पोर्चुगललाई युरोकपमा पुर्‍याउन सफल भए। युरो छनोमा लक्जेम्बर्गलाई २–० ले पराजित गर्दा रोनाल्डोले एक गोल गर्दै पोर्चुगलका लागि ९९ गोल सम्भव बनाए। रोनाल्डोले गत बिहीबार राष्ट्रिय टिमबाट नवौँ ह्याट्रिक गरेका थिए। उनले गरेका ह्याट्रिकमध्ये सातवटा त उनी ३० वर्ष पुगेपछि सम्भव बनाएका छन्।

छनोट खेल्नुअघिका युभेन्टसबाटका दुई खेलमा रोनाल्डोले पूर्ण समय मैदानमा बिताएका थिएनन्। त्यसैले उनको फिटनेसप्रति चिन्ता गरिंदै आएको थियो। रोनाल्डोले पनि आफु पूर्ण रुपमा फिट नभएको बताए। 

‘अहिले पनि म सतप्रतिशत फिट छैन। पछिल्लो तीन हप्ता मैले पूर्ण क्षमतामा खेलेको छैन,’ उनले अघि थपेका छन्, ‘तर जब क्लब र राष्ट्रिय टिमबाट केही गर्नु पर्ने बेला आउँछ म सबै कुरा दाउमा लगाएर खेल्छु।’

शीर्ष स्थानमा इंग्ल्यान्ड

त्यस्तै, इंग्ल्यान्ड युरोकपमा शीर्षस्थानमा रहँदै छनोट भयो।आइतबार राति समूह ‘ए’को खेलमा इंग्ल्यान्डले कोसोभोलाई ४–० ले पराजित गर्दे शीर्ष स्थानमा रहन सफल भयो। 

खेलमा अग्रता इंग्ल्यान्डले ३२ औं मिनेटमा ह्यारी विङ्कको गोलबाट लिएको थियो। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

७९ औं मिनेटमा ह्यारी केनले अग्रतालाई दोब्बर बनाउँदा चार मिनेटपछि मार्कुस रासफोर्डले इंग्ल्यान्डलाई ३–० को स्थिति पुर्याएका थिए। इन्जुरी समयमा मासन माउन्टले गोल गर्दै पाहुना टिमलाई प्रभावशाली जित दिलाउँदै इंग्ल्यान्डलाई ४–० को जितको साथ छनोट चरण अन्त गराए। 

शीर्ष स्थानको इंग्ल्यान्डले ८ खेलबाट २१ अंक जोड्यो। कोसोभो ११ अंक सहित तेस्रो स्थानमा रह्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.