|

काठमाडौं : महानगरीय प्रहरी बृत्त, बालाजुमा शुक्रबार बिहान ल्याण्डलाइन नम्बरमा फोन बज्यो। यो फोन वृत्तका प्रमुख डिएसपी सन्तोष तामाङ आफैले उठाए। अपरिचित व्यक्तिले फोनमा दिएको जानकारीबाट डिएसपी तामाङ झस्किए। उनले तत्काल विश्वास गर्न सकेनन्, तैपनि कारबाहीका लागि तयार रहे।

उनलाई अपरिचित व्यक्तिले ना १ ज ४९६४ नम्बरको टाटा सुमोमा केरुङबाट ठूलो परिमाणमा सुन शुक्रबार राति काठमाडौं ल्याउँदै गरेको जानकारी दिएका थिए। तामाङले मातहतका सबै प्रहरी युनिटलाई सतर्क गराएर आफै अपरेशनका लागि हिँडे।

कंलकीमा टाटा सुमो फेला परेपछि प्रहरीले शुक्रबार बेलुकीदेखि नै गाडीको पिछा गरेको थियो। रातको एक बजे भने प्रहरीले बालाजु चोकदेखि चमतीको नयाँ पुलबाट एकान्तकुनातर्फ जाँदै टाटा सुमो रोकेर चेकजाँच गर्‍यो। गाडी चालक रवीन्द्र भुजेल पक्राउ गरेर केरकार गर्न थाले, डिएसपी तामाङले। 

भक्तपुर सूर्यविनायक घर भएका ३० वर्षीय भुजेलले आफ्नो गाडीमा सुन भएको स्वीकार गर्दै गरेनन्। त्यसपछि उनले गाडीको सबै भागमा चेकजाँच सुरु गरे।

प्रहरीले गाडीको टायरसमेत खोलेर हेरे तर सुन फेला परेन, सुन खोज्दै जाँदा अगाडिको इन्जिनभित्र राखेको पाइएको डिएसपी तामाङले जानकारी दिए।
‘करिब दुई घण्टा लाग्यो हामीलाई सुन फेला पार्न’, डिएसपी तामाङले भने ‘टाटा सुमोको अगाडिको इन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटमजस्तो बनाई लुकाएको अवस्थामा सुन फेला पर्‍यो।’

चालकले सुन रहेको स्वीकार नगरेपछि सबै खानतलासी गर्दा सुन भेटिएको थियो। चालकले सुमोमा सुन ल्याइदिए बापत एक लाख रुपैयाँ पाउने भएपछि सुन भएको गाडी काठमाडौं ल्याएको प्रहरीसँग बताएका थिए। उनी भरिया मात्र भएको र वास्तविक सुनको मालिकको खोजी भइरहेको पनि डिएसपी तामाङले जानकारी दिए।

पक्राउ परेका भुजेलको म्याद थपेर अनुसन्धान भइसकेको छ। ‘वास्तविक सुन मालिक को हो भन्ने अनुसन्धान भइरहेको छ, अहिले नै सबै कुरा खुलिसकेको छैन’ डिएसपी तामाङले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.