|

पोखरा : तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत वर्षको फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि आगामी मंसिर १४ मा उनको क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

रविन्द्रको ह्याट्रिक क्षेत्र कास्की २ मा यस पटक उनकै श्रीमतीसहित २१ जना चुनावी मैदानमा छन्। विगतको चुनावी अंकगणित गर्ने हो भने यहाँ सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेस नै मुख्य प्रतिस्पर्धी देखिएका छन्। यद्यपि समाजवादी, राप्रपा, साझापार्टी, नेकपा मालेका उम्मेदवारसहित अरु उम्मेदवार चुनाव जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिन्छन्।  

यस अघिको निर्वाचनमा रविन्द्र अधिकारीले कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले ८ हजार ५६२ मतान्तरले पराजित गरेका हुन्। बहुदल आएपछि ६ वटा संसदीय निर्वाचन भयो।

कास्कीमा हाल २ नम्बर क्षेत्रभित्र पर्ने बाहुल्य क्षेत्रमा ५ पटक नेकपाले चुनाव जितेको छ भने १ पटक कांग्रेसले जितेको छ। नेकपाको पकड क्षेत्र मानिएको क्षेत्र पनि हो। यहाँ चुनावी आँकलन पनि सुरु भएको छ। यहाँ नेकपाको बाहुल्य रहेको क्षेत्र र रविन्द्रकै श्रीमती विद्या भट्टराई चुनावी मैदानमा रहेकोले उनले जित्ने केहीले आँकलन गरेका छन्।

उता कांग्रेसका उम्मेदवार खेमराज पौडेलले जित्ने तर्क गर्नेहरु पनि उत्तिकै छन्। यस पटक कांग्रेसमा गुटउपगुटको राजनीति नभएकोले पौडेलले जित्ने दाबी गर्नेहरु बताउँछन्। उता नेकपाकी उम्मेदवार विद्यालाई समवेदनाको मत पनि आउँछ भन्नेहरू पनि उत्तिकै छन्।

कास्कीका जनताका माँझ नयाँ रहेकी विद्यालाई रविन्द्रको निधन ताका मात्रै राम्रोसँग देखेका हुन र चिने पनि। कांग्रेसमा यसअघि हुने भनिएको अन्तर्घात यसपाली नदोहोरिने धेरैको अनुमान छ। तर उनी पनि नयाँ पुस्तामाँझ भने खासै परिचित छैनन्। चुनावको केही महिनाअघि कांग्रेस छोडेकी रजनी केसी साझा पार्टीकी उम्मेदवार बनेकी छिन्।

रजनीले कांग्रेसका कार्यकर्ताको मत काट्ने अनुमान पनि गरिएको छ। अहिले निर्वाचन हुन लागेको कास्की २ मा पोखरा महानगरका ११ वटा वडा पर्छन्। कास्कीमा चुनाव लडेका सबै उम्मेदवार नयाँ अनुहारका नेताहरू छन्। उनीहरूले रविन्द्रको जस्तो व्यत्तित्व स्थापित गर्न सकेका छैनन्। रविन्द्र मतदातासँग सजिलै भिज्न सक्ने नेता भएकोले पनि अरुले भन्दा धेरै मत पाउँदै आएका थिए।

कास्कीमा २०५६ को चुनावमा कांग्रेसले क्लिन स्वीप गरेको जिल्ला पनि हो। पहिलो संविधान सभाको चुनावमा भने माओवादी र एमालेले कास्कीमा चुनाव जिते कांग्रेस निकटतम 

प्रतिद्वन्दी मै सीमित रह्यो। २०७४ को चुनावमा कास्कीको एउटा प्रदेशसभा सदस्य बाहेक सबै नेकपाका उम्मेदवारले बाजी मारे। कांग्रेसले प्रदेश सभा सदस्यको चुनाव जितेको क्षेत्र उपनिर्वाचन क्षेत्रमै पर्छ। कांग्रेसका विन्दुकुमार थापाले प्रदेशसभा सदस्यको चुनाव जित्दा बागी उम्मेदवारको सामना गर्नु परेको थियो।

समानुपातिकतर्फ भने नेकपाको भन्दा कांग्रेस १० हजार ३८४ मतले पछाडि छ। प्रतिनिधिसभा तर्फ एमालेले २२ हजार ९६९ मत पाएको थियो भने माओवादीले ३ हजार ४ सय ७९ मत पायो।

कांग्रेसले चाहीँ १६ हजार ६४ मत मात्रै पाएको छ। कांग्रेस र नेकपाको सबैभन्दा धेरै चुनावी भिडन्त हुने पक्का भएपनि सबै उम्मेदवारहरू चुनाव जित्ने दाबी गरिरहेका छन्। 

प्रध्यापन पेशालाई छोडेर २० वर्षपछि राजनीति फर्केकी नेकपाकी उम्मेदवार विद्या भट्टराईले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन चुनावी मैदानमा आएको बताइन्।

‘महिला अघि बढाएर राज्य निर्माणमा समाबेसी कायम गर्न म चुनावी मैदानमा छु’, उनले भनिन्, ‘हिजोको पृष्ठभूमि, आजको परिस्थितिले राज्य निर्माणको अभियानमा सरिक भएको छु। पार्टीको यहाँको संगठन र मतदाताले मेरो क्षमता हेरेर भोट दिनुहुन्छ भन्नेमा म ढुक्क छु।’ 

उता कांग्रेसका उम्मेदवार खेमराज पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछन्। चुनावी अभियान सशक्त ढंगले अघि बढको भन्दै उम्मेदवार पौडेलले यो चुनावमा सिंगो नेपाली कांग्रेस केन्द्रदेखि जिल्ला हुँदा तल्ला कमिटी एकढिक्का भएको बताए।

‘पार्टीका नेता कार्यकर्ताको उत्साहले मलाई नै ऊर्जा थपेको छ। ममाथि मेरा विद्यार्थी, मेरा समकक्षीलगायत सबैको सहानुभूति र माया छ।’  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र उक्त पार्टीद्वारा सञ्चालित सरकार जुन ढंगले बढ्नुपर्ने हो, जनताको मर्म र भावना अनुसार अघि बढ्न नसकेको उनले बताए। 

‘सरकारले जनताको घरघरमा ग्यास पाइप, रेल, पानी जहाज जस्ता हावादारी कुरा गरेर अघि बढ्दा जनतामा निराशा छाएको छ। जनताले कम्युनिस्ट सरकारको रवैया बुझिसकेका छन्, त्यसैले यो पार्टीको विकल्प खोजिरहेका छन्’, उनले भने, ‘नेपाली कांग्रेसको पनि यो सरकारले राम्रोसँग काम गरोस्। संविधानको मर्म र जनताको भावना कदर गर्दै अघि बढोस् भन्ने नै छ तर सरकार उल्टो बाटोमा हिंडिरहेको छ। मेरो क्षमता, इमान्दारीताकै कारणले मैले चुनाव जित्छु।’ 

समाजवादीका उम्मेदवार धर्मराज गुरुङ राज्यमा समानता, समृद्ध र सुशासन कायम गर्न चुनाव लडेको बताए। ‘यहाँ सिस्टम छ। कार्यान्वयन छैन’ उनले भने, ‘भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम राख्न मेरो उम्मेदवारी हो। जनताले पक्कै विश्वास गर्नु हुनेछ।’

साझा पार्टीकी रजनी केसी पनि आफू चुनाव जित्नेमा ढुक्क छिन्। ‘देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो। राजनीतिक परिवर्तनको काम धेरै गरियो’ उनले भनिन्, ‘विकासको लागि यो तन्त्र र उ तन्त्रले केही फरक पारेन। जनताको जीवन स्तर जहाँको त्यहिँ छ। अन्य दलमा पद्धति, इमान्दारिता, पारदर्शिता र उत्कृष्टतामा अन्य पार्टीमा ह्रास आएकोले मैले चुनाव जित्ने छु।’

यहाँ अन्य पार्टीका उम्मेदवारहरूले चुनाव जित्नेमा ढुक्क रहेको बताउँछन्।   
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.