|

जाजरकोट : जुनीका नरबहादुर बुढालाई भालु कुइयाको घटनाले अहिले पनि झस्काउँछ।

तत्कालीन दंगा प्रहरीले ५५ साल मंसिर १० गते जुनीका कमान घर्तीको विवाहमा जन्ती गएका १४ जनालाई जाजरकोट र दैलेखको सिमाना भालु कुइयामा एकै चिहान बनाएको उक्त घटनाले नरबहदुरलाई मात्र होइन, जुनी गाउँलाई नै बिझाउँछ।

'गाँउका सबैजना जन्ती हिँडेका थियौँ। बिचैमा प्रहरीले हामीलाई नियन्त्रणमा लियो र बेस्सरी कुटन थाल्यो', नरबहादुर सम्झन्छन्, 'विवाहको सबै नासो लुछेर प्रहरीले खाए। मलाई र प्रसाद रोकायालाई बेहोस हुने गरी कुटेर पठाए तर अरु सबैलाई एकै चिहान बनाए।’

आफूसँगै आएका प्रसाद रोकायाको २ दिन पछि यातनाको पीडा सहन नसकेर मृत्यु भएको नरबहादुर बताउँछन्। नरबहादुरलाई प्रहरीले वृद्ध भनेर छोडिदिएको थियो।

भालु कुइयाको सामूहिक हत्या

युद्धकालमा माओवादीले बनाएको जुनी प्रवेशद्वार।

छिमेकीको विवाहको जन्ती गएका एकै घरका चार दाजु भाइसहित गाउँका १४ जनालाई माओवादी भएको आरोपमा लाइन लगाएर प्रहरीले निर्मम तरिकाले सामूहिक हत्या गरेको थियो।

दैलेखको कालिकामा विवाहका लागि गएका जन्तीलाई पक्राउ गरी चार दाजु भाइ गोरे घर्ती, सुरजसिंह घर्ती, खड्ग घर्ती र केशवबहादुर घर्ती तथा गाउँका बुद्धिराज घर्ती, लालबहादुर घर्ती, कमान घर्ती, पृथ्वी बहादुर घर्ती, सेतुसिंह घर्ती, १२ वर्षका जमाने घर्ती, जयलाल घर्ती, रणबहादुर घर्ती  लगायतलाई  आतंककारीको आरोपमा भएको सामूहिक हत्या भएको थियो।

बाबुको मृत्यु हुँदा गर्भमा रहेका तिलक जन्मेको १८ वर्ष भइसक्यो। न तिलकले बाबुको मुहार नै देख्न पाए न त आमाको माया नै। कमानको मृत्यु भए पछि जन्मिएका तिलकलाई छोडरे उनकी आमाले दोस्रो बिहे गरिन्।

१४ जनाको हत्या हुनुअघि नै जुनीले आफ्नो गाउँका ८ जनालाई गुमाइसकेको थियो। ५५ साल असार ३० गते खेतमा धान रोपिरहेका ८ जनालाई माओवादी आरोपमा सादलाग्न लेकमा लगेर प्रहरीले सामूहिक हत्या गरेको थियो। युद्धकालमा राज्यपक्षबाट जुनीका २८ जनाले ज्यान गुमाएका छन् भने विद्रोहीपक्षबाट ३ जनाको ज्यान गएको छ। 

सुरक्षित सेल्टर

कम्युनको सामुहिक बसाइ यी घरमा हुन्थे। केही घर अहिले पनि यहीँ बसिरहेका छन्। 

फैलिँदै गएको माओवादी जनयुद्धले मध्यपश्चिमका अरु ठाउँ जस्तै जाजरकोटका गाउँलाई पनि बिस्तारै प्रभावमा पार्दै थियो। जाजरकोटको जुनी जनयुद्धको एक उदाहारणमात्र हो जसले युद्धकालमा आफूलाई सुगम ठान्यो तर शान्तिकालपछि दुर्गम। राज्यबाट भएको दमनले यो गाउँलाई माओवादीप्रति नरम बनाइदियो।

जुनी- माओवादीले बनाएको एक गाउँ जो आज माओवादीले मतलब नगरेकोमा दुःखी छ।   

माओवादी जनयुद्ध अघि जुनी गाउँको अस्तित्व थिएन। त्यहाँ दुईवटा गाउँ थिए। तर माओवादीहरुले नमुना गाउँ बनाउने उद्देश्यले नामाकरण गरे- जुनी। जुनी अर्थात जुर्क र निपाने। जुर्कको 'जु' र निपाने को 'नि।'

‘दह गाउँ विकास समितिको वडा नम्वर २ को जुर्क र वडा नम्वर १ को निपानेलाई मिलाएर हामीले जुनी बनाएका थियौँ', नेकपा माओवादी केन्दका स्थायी समिति सदस्य तथा ६ नम्बर प्रदेशका संयोजक माया प्रसाद शर्मा सम्झिन्छन्, 'राज्यबाट पीडित तथा पिछडिएको यो गाउँमा २०५६ चैत १२ गते जुनी कम्युनको घोषणा गर्‍यौँ।'

माओवादीले जुनी गाउँमात्र बनाएन, त्यहाँ सामुहिक बसाइको योजनासहित जुनी कम्युन पनि घोषणा गर्‍यो। त्यसपछि जुनी युद्धकालमा माओवादीको सुरक्षित सेल्टर रह्‍यो।

२०५४ सालदेखि नै सञ्चालनमा आए पनि कम्युन भने ५६ सालमा मात्रै घोषणा गरियो। माओवादीको प्रमुख सेल्टर रहेको जुनी कम्युन माओवादीले जनयुद्धकालमा घोषणा गरेका मध्ये जेठो कम्युन भएको नेता शर्माले बताउँछन्।

जुनीको दुर्दशा

जुनीका बासिन्दा। दाहिनेतर्फका वृद्ध कमान घर्तीका बाबु। कमानको विवाहको दिन १४ जनाको सामूहिक हत्या भएको थियो। 

महिना दिन पनि खान नपुग्ने जुनीका स्थानीयबासीले कम्युन सञ्चालन भएपछि राहत महसुस गरेका थिए। कम्युन सञ्चालनपछि जुनीको जुनी फेरिन्छ कि भन्ने आशामा गाउँका बासिन्दा थिए। हरेक काम सामूहिक हुने भएकोले विभिन्न विभाग बनाई काम गर्थे।

तर त्यो आशा शान्तिकालपछि तुहियो। माओवादी फुट्यो। जसले जुनी बनाएका थिए, उनीहरुकै प्राथमिकतामा परेन जुनी।

१४ घरबाट सुरु भएको कम्युनमा सुरुमा ३५/४० जना बस्थे। तर पछि सदस्य बढ्दै गए। पछिल्लोपटक जुनीमा १५० जना सामुहिक रुपमा बसोबास गर्थे। तर नेतृत्व, सामुहिकताको भावना र आर्थिक संकटले एक दशक चलेको जुनी कम्युनि बन्द भयो।  

जुनीका स्थानीयबासी जयबहादर घर्ती सामुहिकताको भावना हराउँदै जाँदा २०६७ बैशाखमा जुनी कम्युन बन्द भएको बताउँछन्। ‘समय परिवर्तनसँगै सदस्य बढी हुनु, शहीद परिवारको उचित ब्यवस्थापन नहुनु र चरम आर्थिक संकटले कम्युन सञ्चालनमा समस्या देखियो र बन्द भयो', उनी भन्छन्।

बालबालिकाहरु बढ्दै गए। सबैजनाले कम्युनमै पढ्न इच्छा देखाएनन्। जसले गर्दा कम्युनको स्कुल पनि समस्यामा पर्‍यो। घर्तीका अनुसार कम्युनमा सदस्य संख्या बढ्दै गएपछि मान्छेका सोच पनि बढे।  'सामुहिकता भन्दा स्वतन्त्रता उनीहरुको चाहना देखियो र कम्युन विगठन भयो', घर्ती भन्छन्।

जुनी गाउँ।

सामूहिक बस्दा डीएफआइडीले बनाएको ठूलो घरमा अहिले जुनी सहकारीको कार्यालय, सुपथ पसल र सिलाई कटाई पसल सञ्चालनमा छन्। आफ्नो घर नभएका १२ परिवार यही सामूहिक घरमा बसिरहेका छन्।

कम्युनमा बसेका केही परिवार युद्धका मृतकका परिवारलाई सरकारले दिएको राहतले छुट्टै गोठ तथा घर बनाएर बसेका छन्।   

‘बस्तीको समस्या न सरकारले बुझ्यो न त कम्युन बनाउने माओवादीले बुझ्यो, सयौँको घरबार बिग्रियो, बालबालिकाको बिचल्ली भयो। कमाउने मान्छेको मृत्यु भयो',स्थानीयबासी इन्द्र घर्ती भन्छन्, 'अहिले साथ दिनेको कमी छ, सबै आफ्नो बाटो लागे। सपनामात्र बाँडियो हाम्रो ब्यथा ज्यूँका त्यूँ।' कम्युन हुँदा जसोतसो छार्क टार्न सजिलो भए पनि विघटनपछि समस्या भएको उनी बताउँछन्।

जुनीका अगुवा ओयलसिंह घर्ती माओवादीबाटै सहयोग नहुँदा जुनी कम्युन ढलेको बताउँछन्। 'जसले बनायो, उसैबाट सहयोग भएन', उनको भनाई छ।

'कम्युन हुँदा टुहुरा, गरिब, विधवा, एकल, विपन्नको महसुस कहिल्यै भएन। सामुहिक काम हुन्थ्यो', ओयलसिंह भन्छन्, ‘अहिले कुनै योजना पनि छैन, विकास पनि छैन, के गरेर कमाई खाने?’

संकटमा स्कुल

जुनीको पुतली निम्न माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने रमिला घर्ती आफूले छात्रवृत्तिमा पाएको रकम विद्यालयलाई नै बुझाउँछिन्। कक्षा ८ कै खिमाकुमारी घर्ती पनि आफूले पाएको छात्रवृत्ति बुझेको सही त गर्छिन् तर रकम स्कुललाई नै फिर्ता दिन्छिन्। विद्यालयको भर्पाईमा खिमाको नाममा रकम भुक्तानी भए पनि खिमाले त्यो रकम लिन पाउँदिनन्। स्कुलमा अधिकांश विद्यार्थी यसै गर्छन्।  

दलित तथा छात्राहरु पढ्ने यो स्कुल संकटमा परेपछि व्यवस्थापन समितिले नियम बनाएको छ कि विद्यार्थीहरुले पाएको छात्रवृत्ति पनि स्कुलको कोषमा जम्मा गर्ने। निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकेपछि स्कुलले यस्तो नियम बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयनसिंह घर्ती बताउँछन्।

निजी स्रोतका शिक्षकलाई तलब खुवाउन ५० प्रतिशत कक्षा ६ देखि ८ सम्मको विद्यार्थीले तथा बाँकी २५ प्रतिशत हरेक घरधुरी र २५ प्रतिशत प्रावि तहका विद्यार्थीले ब्यहोर्ने गरेका छन्। स्कुल जोगाउन जुनीबासीले चल्ला कुखुरा बेचेर पनि आफनो भागको रकम तिर्ने गरेका छन्।

स्कुलमा २२८ जना विद्यार्थी छन्। उनीहरुका लागि प्रावि तहका ४ जना राहत र दरबन्दीका शिक्षक छन्।  

सरकारले आवश्यक दरबन्दी नदिँदा निजी स्रोतबाट ४ जना शिक्षक व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्ती बताउँछन्। निजी स्रोतका शिक्षकलाई तलब खुवाउन मासिक २६ हजार ५०० रुपैयाँ आवश्यक पर्ने उनी बताउँछन्।

स्कुललाई भवनको पनि अभाव छ। व्यवस्थित भवनको अभावमा बालबालिका नियमित स्कुल आउँदैनन्। 'जनसंख्या बढ्यो तर कक्षा कोठाको अभाव छ', घर्ती भन्छन्, ‘भवन जीर्ण छ। विद्यालयमा फर्निचरको सुविधा छैन। विद्यार्थीहरु धुलोमा पढ्न बाध्य छन्।’

माओवादीले युद्धकालमा स्थापना गरेको जुनी बाल संरक्षण केन्द्र भने माध्यमिक विद्यालयका रुपमा सञ्चालन भएको छ। तर यो जुनीमा रहेन। शान्तिप्रक्रियापछि यो स्कुललाई जाजरकोटकै सिर्केमा लगियो।

नेतृत्व अभाव

जुनी गाउँमा ढुंगाले छापिएको बाटो।

युद्धकालमा केन्द्र बने पनि शान्ति प्रक्रियापछि जुनी कसैको नजरमा नपर्नुमा गाउँबाट नेतृत्व तहमा पहुँच नहुनु कारण रहेको बताउँछन् जनयुद्धमा लामो समय जुनीको नेतृत्व गरेका माओवादी नेता प्रकाश थापा।

'गाउँबाट नेतृत्व तहमा  पहुँच नहुनुले पनि जुनी ओझेलमा परेको हो', थापा भन्छन् , 'पहिला जुनी भन्नेहरु शान्ति प्रक्रियापछि आफनो ठाउँतिर लागे। जुनी जहाँको तहीँ रह्‍यो।' माओवादीको महाधिवेशन आयोजनक समितिको सदस्य समेत रहेका थापा सिमा गाविसका हुन् र उनी आफ्नै गाविसको राजनीतिमा संलग्न छन्। थापाका अनुसार जुनीको समस्या बुझ्ने र समाधान गर्ने नेतृत्व नहुँदा जुनीको जुनी फेरिएन।

अहिले पनि जुनीका स्थानीय बासिन्दाहरु ५/६ घण्टा हिँडेर स्वास्थ्य संस्थामा पुग्छन्। फोन सम्पर्क गर्न ४ घण्टा लगाएर अग्लो लेकममा जानु पर्ने बाध्यता छ।

जुनीमा २ सय घरधुरी जनजाति र १० घरधुरी दलित परिवार छन्। जुनी गाउँमा मगर खाम भाषा बोलिन्छ।

सेना समायोजनमा जुनीका ६ जनाले स्वच्छिक अवकास रोजेका थिए भने १ जना नेपाली सेनामा समायोजन भएका थिए। तर स्वच्छिक अवकास रोजेका कोही पनि जुनीमा बस्दैनन्। गाउँका एकजना प्रहरी सेवामा छन्।

हालै स्थानीय तह पुनर्संरचना आयोगले जुनी गाउँलाई समेटेर 'जुनी चाँदे विशेष गाउँपालिका' प्रस्ताव गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.