अण्डरग्राउण्ड गर्न पनि स्थानीयको अवरोध

|

विराटनगर : ४५ दिनभित्र कटहरी सबस्टेसन संचालन गर्ने र विवादित क्षेत्र गिधनीयामा प्रसारण लाइन अण्डरग्राउण्ड गर्ने गरी एक महिना अगाडि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा भएको सहमति पुनः उल्टिएको छ। 

सोही सहमति अनुसार ग्रामथानको गिधनिया वस्तीमा रोकिएको दुहबी–कटहरी ३३ केभिए प्रसारण लाइन विस्तार गर्न डोजरसहित सोमबार गिधनिया पुगेको टोलीलाई ग्रामथान गाँउपालिका ५ का सर्वसाधारणले अवरोध गरेका छन्।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा गत कार्तिक १ गते मुख्यमन्त्री कार्यालयमा प्राधिकरणका प्रमुख कुलमान घिसिङ, सो क्षेत्रका संघीय सांसद अमनलाल मोदी, अवरोध गर्ने स्थानीय प्रतिनिधि, विद्युत् क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख श्रीराम राज पाण्डे, ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका प्रतिनिधिलगायतको बैठक बसेको थियो। 

बैठकले ४५ दिनभित्र कटहरी सबस्टेसन संचालन गर्ने र विवादित ग्रामथान ५ को गिधनिया वस्तीको साढे २ किलोमिटर क्षेत्रमा प्रसारण लाइन अण्डरग्राउण्ड गर्ने सहमति गरेको थियो। सोही सहमति अनुसार प्रसारण लाइन निर्माणका लागि पुगेको टोलीलाई स्थानीयले पुनः अवरोध गरेका हुन्। 

बस्तीको बीचबाट ३३ केभिएको तार लैजाँदा त्यसबाट सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने दाबी गर्दै उनीहरूले विरोध गरेका हुन्। अवरोध गर्नेहरूले स्थानीयसँग कुनै पनि छलफल नगरी एकतर्फी रुपमा हाइटेन्सनको तार लान खोजिएको आरोप लगाए। 

डोजर फर्काएर ग्रामथान ५ को वडा कार्यालय पुगेका स्थानीयले बस्तीका बीचबाट टाँगेर वा भूमिगत कुनै पनि बाटोबाट प्रशारण लाइन लान नदिने बताउँदै बस्ती बाहिरको अन्य ठाँउबाट तार तान्नुपर्ने अडान लिएका छन्। 

संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास थारुले आफूहरू विकास विरोधी नरहेको बताउँदै विकासको नाममा सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्न नहुने बताए। तार तान्न उपर्युक्त हुने वैकल्पिक बाटोबारे आफूहरूले प्राधिकरणलाई बताइसकेको उनको भनाइ थियो। 

सो क्षेत्रका संघीय सांसद अमनलाल मोदीले भने अवरोध भएको विषय आफूलाई पनि जानकारीमा आएको बताउँदै सबैको कुरा बुझ्न लागिरहेको बताए। उनले भने, ‘मैले पनि कुरा बुझ्दैछु। सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ।’

लो भोल्टेजको समस्या समाधानका लागि विद्युत् प्राधिकरणले कटहरीमा ३३ केभिए सवस्टेसन निर्माण गरेको छ। असारको पहिलो हप्ता परीक्षण सम्पन्न गरेर संचालन योग्य रहेको बताएको भए पनि प्राधिकरणले ग्रामथान ५ गिधनिया बस्तीमा भएको विद्युत् प्रसारण लाइन अझै बनाउन सकेको छैन। 

विद्युत् प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभिए दुहबी-कटहरी प्रसारण लाइन ल्याउन पोलसमेत गाडिसकेको छ। प्रसारण लाइन निर्माण भए कटहरी-१ स्थित महेशपुर खोरियामा रहेको सबस्टेसनमा चार्ज हुने छ भने कटहरी क्षेत्रका उद्योग र ग्राहस्थ फिडरमा विद्युत् वितरण हुनेछ। 

उक्त स्टेशन संचालन हुनसके विराटनगरमा हाल देखिएको लोभोल्टेजको समस्या हल हुने र कटहरी क्षेत्रका उद्योगलाई पनि राहत पुग्ने प्राधिकरणको भनाइ छ। हाल विराटनगर रानी सब स्टेसनबाटै कटहरी र विराटनगरमा विद्युत् आपूर्ति हुँदै आएको छ।

रानी सबस्टेसनले लोड धान्न नसक्ने भएको भन्दै प्राधिकरणले कटहरीमा सवस्टेसन निर्माण गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.