अमेरिकी सरकारले कार्यालय समयमा ‘क्विक न्याप’ लिँदै आएका कर्मचारीमाथि कडाइ गरेको छ। कार्यालय समयमा सुत्न नपाइने निर्णयसहितको सरकारी निर्देशिका जारी गरिएको हो। त्यहाँका सरकारी कर्मचारीले लामो समयदेखि यो सुविधा लिँदै आए पनि विगतमा यस किसिमको कडाइ गरिएको थिएन।
‘सम्बन्धित कार्यालयले आवश्यक ठानेको अवस्थाबाहेक कर्मचारीहरूलाई कार्यालय भवनभित्र सुत्न निषेध गरिएको छ,’ सरकारले जारी गरेको निर्देशिकामा भनिएको छ। यस निर्णयको आधारबारे भने प्रष्ट पारिएको छैन।
सन् २०१८ मा प्रकाशित एक रिपोर्टका अनुसार सवारी साधनसँग सम्बन्धित एक विभागका कर्मचारीहरू कार्यालय समयमा दिनहुँ तीन घण्टासम्म सुत्ने गरेको थिए। सुताइका कारण कर्मचारीको उत्पादकत्व घट्दा सरकारलाई चार वर्षमा ४० लाख रुपैयाँ नोक्सान भएको निष्कर्ष दिइयो।
सरकारको आलोचना
सरकारको उक्त निर्णयसँगै अमेरिकामा ‘क्विक न्याप’बारे बहस सुरु भएको छ। कर्मचारीहरूको व्यवहार अध्ययन गर्दै आएका अनुसन्धाताहरूले कार्यालय समयमा केहीबेर सुत्न दिँदा कर्मचारीको उत्पादकत्व बढ्ने तर्क गर्दै आएका छन्। ठीक विपरीत सरकारले त्यसमा बन्देज लगाउने निर्णय गरेपछि उनीहरू सरकारको आलोचनामा उत्रिएका छन्।
निन्द्रा र निन्द्रासम्बन्धी समस्याबारे विशेषज्ञता हासिल गरेका चिकित्सक लरेन्स इप्सटेइनको विचारमा झण्डै सात करोड अमेरिकीहरू निन्द्रासम्बन्धी रोगबाट ग्रसित छन्।
इन्डियानास्थित बल युनिभर्सिटीको एक रिपोर्ट भन्छ– प्रहरी र स्वास्थ्यकर्मी कहिल्यै राम्ररी सुत्न पाउँदैनन्। यस्तो अवस्थामा कार्यस्थलमै दुर्घटनामा पर्नसक्ने जोखिम त छँदैछ, अनिन्द्राका कारण मुटुरोग, पक्षघात, मधुमेह तथा मानसिक समस्याको सिकार बन्न सक्ने खतरा पनि उत्तिकै छ।
‘निन्द्राको समस्या हुँदा मान्छेको स्वास्थ्यमा मात्र असर पर्दैन, अर्थतन्त्रमा पनि पर्छ,’ इप्सटेइन भन्छन्, ‘बरु केही कम्पनीहरू यसबारे सचेत देखिएका छन्, विकल्प सोचिरहेका छन्। सरकारी निकायहरू यसमा पछि परेका छन्।’
अरु देशको चलन
जापानमा कर्मचारीहरूलाई कार्यस्थलमा केहीबेर सुत्न दिइन्छ। सुत्नका लागि छुट्टै कोठा बनाइएको हुन्छ। खासगरी लामो समय लगातार काम गर्ने कर्मचारीहरूलाई यो सुविधा उपलब्ध गराइन्छ।
त्यस्तो कक्षलाई जापानमा ‘द भिन्ची रुम’ भनिन्छ, जहाँ कर्मचारीले कामको बीचमा कम्तिमा २० मिनेट आराम गर्न पाउँछन्। यसको नतिजा सन्तोषजनक देखिएको छ।
क्यानडाका धेरै कम्पनीहरूमा पनि यो सुविधा उपलब्ध छ। क्यानडामा निजी कम्पनीहरूले धेरै अफिसहरूलाई पायक पर्ने ठाउँमा ‘क्विक न्याप रुम’ निर्माण गरी सेवा दिँदै आएका छन्।
त्यस्तैमध्येको एक मेट्रोन्याप कम्पनीका सिइओ क्रिस्टोफर लिन्डहोमले भने, ‘यो कम्पनी सुरू गर्दा मान्छेहरू हामीलाई पागल भन्ठान्थे। अफिस टाइममा सुत्ने कुरा वाहियात ठानिन्थ्यो। तर आजकल कर्मचारीहरूले मात्रै होइन, कम्पनीहरूले पनि यसको महत्व बुझ्न थालेका छन्। आखिर, ड्युटीमा रहने कर्मचारी स्वस्थ रहुन्, चुस्त रहुन् भनेर न यो अवधारणा ल्याइएको हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।