डा. सोमनाथ सापकोटासँग अन्तर्वार्ता

|

२०७२ साल बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गयो। यो भूकम्प विक्रम सम्बत १९९० पछिको सबैभन्दा ठूलो हो। १९९० मा गएको ८.४ रेक्टर स्केलको महाभूकम्पको सम्झनामा हरेक वर्ष जस्तै यस वर्ष पनि माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइयो। भूकम्पको पूर्वानुमान गर्न सकिँदैन तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालमा फेरि भूकम्प जान सक्ने सामग्री प्रकाशन गरिरहेका छन्। के नेपालमा फेरि भूकम्प जान सक्छ? रेडियो थाहासञ्चारका रोसन पुरीले नेपालमा भूकम्पको जोखिमका विषयमा भूकम्पविद् डा. सोमनाथ सापकोटासँग कुराकानी गरेका छन्। प्रस्तुत छ खानी तथा भूगर्भ विभागका उप-महानिर्देशक समेत रहेका डा. सापकोटासँग गरिएको कुराकानीको सारसंक्षेपः 



हालै अमेरिकाको नेभदा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पहिलेका भूकम्पहरुको अवशेष अध्ययन गरेर बाग्मती र त्रिवेणी क्षेत्रमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जानसक्ने बताएका छन्। खासकुरा के हो?

वि.सं. १२५५ को भूकम्प, जुन राजा अभय मल्ल मरेको भूकम्प हो, त्यो भूकम्पको केन्द्रविन्दु कहाँ थियो भन्ने कुरा अहिलेसम्म कसैलाई थाहा छैन। यतिमात्र थाहा छ कि त्यतिबेला काठमाडौंमा कूल जनसंख्याको ३३ प्रतिशत मानिस मरेका थिए। सोही कारण त्यो महाभूकम्प हुनसक्छ भनेर अनुमान लगाइएको हो।

१९९० सालको जस्तो कुनै मेशिन प्रयोग गरेर पत्ता नलगाइएको हुनाले यसको केन्द्रविन्दु कहाँ थियो भन्ने कुरामा विभिन्न अध्ययनका फरक-फरक निष्कर्ष प्रकाशित भएका छन्। जस्तै म आफैँले पनि नेचर पत्रिकामा सन् २०१२ एउटा रिपोर्ट प्रकाशित गरेको थिएँ। १९९० सालको भूकम्पले पैदा गरेको चट्टानको दरार चुरेसम्म पुग्यो, चुरेसम्म पुगेपछि त्यसको फैलावट करिब-करिब खयरमारादेखि धरानको पूर्वसम्म फैलिएको भन्ने खालको निष्कर्ष अध्ययनबाट आयो। त्यही दरारमा नै १२५५ को भूकम्प पनि गएको हुनाले ८.५ रेक्टर स्केल भन्दा माथिका महा-भूकम्पको पुनरावृत्ति हुने समय भनेको करिब ६/७ सय वर्ष रहेछ भन्ने खालको एउटा निष्कर्ष थियो।

तर, अहिले प्रकाशित रिपोर्टले के भन्यो भने, १२५५ भन्दा पनि अघि ११०० सालमा त्यहाँ अर्को भूकम्प गएको थियो, त्यसपछि १२५५ को भूकम्प त्रिवेणी र वाग्मती क्षेत्रमा गयो। त्यसबेलादेखि त्यो क्षेत्रमा ठूलो भूकम्प नगएकाले अब जासक्छ भन्ने निष्कर्ष नेभदाको हो। मलाई के लाग्छ भने यो एउटा निष्कर्षमा पुगिहाल्ने कुरा भन्दा पनि हाइपोथेसिस हो। किनभन्दा यो अध्ययनमा त्यहाँ डिपोजिट भएका कार्बनका टुक्राहरुलाई डेटिङ गरिएको छ। तर, हाम्रोजस्तो मनसुन भएको देशमा त्यसमाथि पनि खोलाको नजिकका कार्बनका टुक्राहरु ८०० वर्षदेखि नै त्यहीँ थिए कि थिएनन् भन्ने कुरा पनि छ। त्यसैले यो विशुद्ध एकेडेमिक र साइन्टिफिक बहसको विषय हो। ठोकुवा गरेर यतिकै भूकम्प जानसक्छ भन्ने खालको विषय होइन।

त्यसो भए यसमा पूर्ण विश्वास गर्ने अवस्था रहेन?

१२५५ को भूकम्पको केन्द्रविन्दु हामीलाई थाहा भएको भए केही हदसम्म ठोकुवा गरेर भन्नसक्ने अवस्था हुन्थ्यो। जबकि एकाथरी वैज्ञानिकहरुले १९९० सालको भूकम्प १२५५ सालकै भूकम्पको रिपिटेशन हो भनेको कुरा नेचरजस्तो जियो साइन्स पत्रिकामा आइसकेको छ। अहिले आएर १२५५ को भूकम्पको ठाउँमा ११०० को भूकम्प हो र, १९९० सालमा त्यहाँ भूकम्प रिपिट भएको होइन भनिएको छ। त्यसैले त्यहाँ फेरि भूकम्प जाने खतरा छ भन्ने निष्कर्ष निकालिएको हो। यसमा सत्यता हुन पनि सक्छ, नहुन पनि सक्छ। यो एकेडेमिक बहसको विषय हो। पत्रपत्रिकामा ८ रेक्टरस्केलको भूकम्प आउँछ रे है, भन्ने खालको समाचार आयो। तर भूकम्प त प्रेडिक्सन गर्न सकिन्न। सक्छौँ त भनेका हौँ, तर आएन त के गर्ने? 

शक्ति सञ्चयका कुरा अनि यस सम्बन्धी अध्ययन कसरी गरिन्छ, सर्वसाधारणले बुझ्ने भाषामा भनिदिनुस् न।

१९९० सालको भूकम्पमा खयरमारा, महोत्तरीदेखि धरानको पूर्वसम्म करिब २०० किलोमिटर क्षेत्रमा दरार फैलिएजस्तै अहिले काठमाडौंमुनिसम्म आयो, माथि आएन, त्यसैले फेरि भूकम्प जान्छ भन्ने खालको कुरा गरिएको छ। अब कहिले आउँछ भन्नुभन्दा पहिले यो भन्दा पहिले कहिले गयो भन्ने कुराको हिसाब गर्नुपर्ने हुन्छ। जस्तै १२५५ मा भूकम्प गएको ठाउँमा अहिलेसम्म अर्को भूकम्प नगएको भए करिब-करिब ७०० वर्ष पुग्यो। वर्षमा २ सेन्टिमिटरका दरले हिसाब गर्ने हो भने १४ मिटरसम्म सर्न सक्नेगरी शक्ति सञ्चय भएको मान्न सकिन्छ।

उहाँहरुले १२५५ देखि अहिलेसम्म त्यहाँ भूकम्प गएको छैन भन्ने मानेर नै वर्षको २ सेन्टिमिटरको दरले हिसाब गर्दा यति मिटर भयो, यति मिटर बराबरको शक्ति सञ्चयमा यति रेक्टरस्केलसम्मको भूकम्प जानसक्छ है भन्नु भएको हो।

विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा ललितपुरको खुमलटारदेखि नै शक्ति सञ्चय भएको छ भन्ने कुरा पनि आएको थियो नि !

ललितपुरको खुमलटारसम्म शक्ति सञ्चय भएको छ भन्ने होइन। यद्यपि अप्रिल (२०७२ बैशाख) को भूकम्पको शक्ति त्यति ठूलो भएन कि जसले सबै शक्ति चुरेको फेदमा लगेर रिलिज गर्न सकेन। सबै भूकम्पको शक्ति बिसर्जन हुने भनेको चुरेको फेदमा नै हो। भूकम्पको शक्ति बिसर्जन हुँदाखेरी त्यहाँको भौगोलिक बनावट नै परिवर्तन हुन्छ। त्यसैले पनि भूगर्भविद्हरुले भौगोलिक बनावट परिवर्तन भएको ठाउँमा पुगेर उत्खनन् गर्छन् र त्यहाँ दरार पत्ता लगाएर कार्बनका टुक्रा र रेडियोधर्मी किरण संकलन गर्छन्। त्यसलाई ल्याबमा ल्याएर परीक्षण गर्दा त्यहाँ कति वर्षदेखि शक्ति सञ्चय भएको थियो भन्ने थाहा हुन्छ। यही आधारमा अनुमान गर्ने हो।

२०७२ को भूकम्पले कति शक्ति रिलिज भयो र फेरि त्यस्तै ठूलो भूकम्प जान कति समय लाग्छ?

यो भूकम्पले हल्लायो मात्र, जमिनमा जति शक्ति स्खलन हुनुपर्थ्यो त्यो भएको छैन।

त्यसो भए खतरा बाँकी नै रह्यो?

खतरा बाँकी रह्यो कि रहेन भन्ने कुरा फेरि दुई किसिमले हेर्नुपर्ने हुन्छ। एउटा त भूकम्प नगइकन पनि त्यो घिस्रिएर सर्फेसमा पुग्नसक्छ। यदि घिस्रिएर सर्फेसमा पुगेको भए अब धेरै खतरा बाँकी छैन। होइन भने वरिपरीका भूकम्पले यसलाई फेरि हान्न सक्छ। हान्दाखेरि खतरा हुन्छ।

नेपालमा दुईवटा प्लेट (इण्डियन र तिब्बतीयन) का कारण भूकम्प जाने गरेको छ भनिन्छ, सबैले बुझ्नेगरी भनिदिनुस् न, खासमा यहाँ भूकम्पचाहिँ के कारण जान्छ?

इण्डियन प्लेट दक्षिणबाट उत्तरतिर जान खोजिरहेको हुन्छ, तर जान पाइरहेको हुँदैन । यदि सररऽऽऽ गइरहेको भए त केही नि हुँदैन थियो। घिस्रिएर माथितिर जान नपाएकाले नै शक्ति सञ्चय भयो। त्यहाँ सञ्चय हुने शक्ति त्यसलाई थेग्ने शक्तिभन्दा बलियो भयो भने चट्टान आफैँ भाँचिन्छ। यसरी भाँचिदा भूकम्प जान्छ। कत्रो चट्टान भाँचियो भन्ने कुराको सम्बन्ध कति रेक्टर स्केलको भूकम्प जान्छ भन्नेसँग हुन्छ। सानो-सानो भागको चट्टान भाँचियो भने सानो-सानो भूकम्प गइराख्छ अनि शक्ति सञ्चय पनि हुन पाउँदैन। यदि लामो समयसम्म चट्टान भाँचिएन भने एकैचोटी भाँचिदा ठूलो क्षेत्रको चट्टान भाँचिन्छ र भूकम्प पनि ठूलै जान्छ।

पश्चिमी क्षेत्रमा लामो समयदेखि शक्ति सञ्चय भएको कुरा आइरहेको छ, फेरि पूर्वमा पनि जोखिम छ भनेर यहाँले नै भन्नुभयो, के पश्चिमी र पूर्वी नेपाल साँच्चै ठूलो भूकम्पको खतरामा छ ?

होइन पूर्वमा मैले भनिन। पूर्वमा त ९० सालको भूकम्पको दरार सर्फेसमा आएको हुनाले पश्चिममा जति खतरा छैन। पश्चिममा १५०५ अर्थात करिब ५०० वर्षदेखि भूकम्प नगएको देखिन्छ। मोहना खोलामा गरेको उत्खननबाट पनि पछिल्लो पटक १०५ मा ठूलो भूकम्प गएको देखिएको छ। त्यसैले त्यहाँ लामो समयदेखि शक्ति सञ्चय भएको देखिन्छ। ५/६ सय किलोमिटरको दूरी हो भने अझै समय लाग्ला। होइन २/३ सय किमीको मात्रै दरार भाँचिने हो भने चाँडै नै हुनसक्ला। यी सबै कुराको लेभलमा चट्टानको अनुसन्धान भएको छैन।

भूकम्पको पूर्वानुमान गर्न नसकिए पनि केही समय पहिले थाहा पाउन सकिन्छ भन्छन्, वास्तविकता के हो ?

भूकम्पमा दुई किसिमका वेभहरु आउँछन्। एउटा प्राइमरी वेभ, अर्को सेकेण्डरी वेभ हुन्छ। प्राइमरी वेभ अलि चाँडो हिँड्छ, सेकेण्डरी वेभ अलि ढिलो हिँड्छ। चाँडो आउने वेभका आधारमा दोस्रो अलि डिस्ट्रक्टिभ हुन्छ। त्यसकारण पहिलो वेभ आएकै बेलामा मानिसहरु घरबाट निस्किने, सावधानी अपनाउने सम्भावना हुनसक्छ। तर, त्यसका लागि भूकम्प उत्पादन गर्ने स्रोत टाढा हुनुपर्‍यो ३/४ सय किलोमिटर, जुन अवस्था जापानमा हुन्छ। हाम्रोमा भने ०७२ को भूकम्प ७० किलोमिटरको दूरीमा आयो। त्यो दुरी निकै नजिक भएको कारणले गर्दा पी र एस वेभका आधारमा बाहिर निस्किने सम्भावना कम भयो। त्यसैले पनि यहाँ अटोमेटिक सिस्टम सेन्सर राख्न सकियो भने राम्रो हुन्छ।

भौगोलिक बनावटर माटोको प्रकृति अनुसार पनि क्षति बढी र कम हुन्छ भन्न् नि !

हो, जहाँ चट्टान धेरै छ त्यहाँ कम क्षति हुन्छ। जहाँ माटो बढी छ, त्यसमाथि पनि फुसफुसे माटो, बलौटे माटोमा हामीले घर बनाएका छौँ भने त्यहाँ क्षतिको जोखिम बढी हुन्छ।

आम नागरिकले कसरी थाहा पाउने त कुन क्षेत्रमा कति जोखिम छ भन्ने कुरा?

माटो परीक्षण गराउनुपर्‍यो। ठूला-ठूला भवन बनाउने बेलामा प्राविधिकहरुको सल्लाह लिनुपर्‍यो। जमिन भिरालो हुनु भएन। जग बलियो हुनुपर्‍यो। आसपासमा धेरै पहिरो नभएको ठाउँ बढी सुरक्षित हुन्छ।

भूकम्पीय जोखिम कम गर्ने हिसाबले विश्वमा विभिन्न अभ्यास भएका छन्, हामीले यस्ता अभ्यासहरुबाट के सिक्नुपर्छ?

राम्रो प्रश्न उठाउनुभयो। यो पटक भूकम्प आएपछि हामीले बल्ल चेतेका छौँ। अहिले धेरै कुराहरु परिवर्तन भएका छन्। विभिन्न किसिमका अध्ययन, अनुसन्धानले जमिनको वर्गीकरण गरेर कुन जमिनमा कस्तो संरचना बनाउन सकिन्छ भन्ने खालको अनुसन्धान गर्न सुरु गरिएको छ, यो निकै पहिले गर्नुपर्थ्यो। अब यसलाई जारी राख्नुपर्छ।

अन्त्यमा भनिदिनुस् न हामीले के कस्ता कुरामा सतर्कता अपनाउनु पर्छ?

भूकम्पलाई हामीले रोक्न सक्दैनौँ, त्यसको असरलाई न्यूनिकरण गर्ने हो। त्यसैले सबैले आ-आफ्नो नजिकको सुरक्षित स्थान पहिचान गरेर बस्नुपर्छ। कम्पन बन्द भइसकेपछि बाहिर सुरक्षित स्थानमा गएर उभिने र अरुलाई पनि सहयोग गर्ने गर्नुपर्छ। त्यही नै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.