प्रदेश राजधानी नयाँ ठाउँमा राखे हुन्छ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार सरकारले गति लिन नसकेको स्वीकारेका छन्। 

भैरहवामा आयोजित लुम्बिन औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नै पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेकोमा दुःख व्यक्त गरे।

‘उद्योगी व्यवसायीहरुले सरकारबाट उद्योग तथा लगानीका लागि जस्तो वातावरण खोजेका थिए, त्यहो भएन। कर मात्रै लगाइएको गुनासो सुनिरहेको छु’, दाहालले भने, ‘ठेक्का प्रणालीमा पनि सुधार हुन सकेन। लगानीमैत्री वातावरण बनाउन तदारुकता नदेखिएको गुनासो व्यापारीहरुले गरिरहेका छन्।’

देश दौडाहाका क्रममा आफूले जनस्तरबाट अझै पनि सरकारको गतिबारे प्रश्न सुनिरहेको उनले बताए । ‘सरकार अझै पनि कहाँ अल्झिएको हो? जनअपेक्षा अुनसार काम भएको छैन’, उनले भने, ‘केही ढिलो पक्कै भएकै हो। तर उद्योग व्यापारको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरामा सरकारले प्रतिवद्धता जनाएको छ। पार्टीको तर्फबाट मैले पनि प्रतिवद्धता गरेको छु।’

अध्यक्ष दाहालले सरकारको गति सुस्त भए पनि अबको ५ वर्ष भित्रमा नेपालका व्यवसायीको सबै अपेक्षा पूरा हुने दाबी गरे। ‘व्यवसायीका सबै अपेक्षा ५ वर्षमा पूरा हुनेछन्’, उनले भने, ‘भैरहवाका व्यवसायी देश भित्र बस्ने भन्दा बाहिरिनेतिर लागेको सुन्दा दुःख लाग्यो । आर्थिक विकासको अवसर गुम्नु दिनु हुँदैन। यो अवसरलाई सदुपयोग गर्न देशमै बसेर उद्यम गर्नुपर्छ’

अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन देश र जनताका लागि समर्पित गरेको पनि उल्लेख गरे। ‘मेरो बाँकी जीवन सम्पूर्णरुपमा समर्पण गर्न तयार छु’, उनले भने, ‘सरकारमा नमिलेका कुरा मिलाएर जाने कुरामा शंका छैन। हामीलाई प्राप्त अवसर सदुपयोग गर्नैपर्छ ।’

उनले अब नयाँ उत्साहका साथ सरकारले विकासको लहर ल्याउने दाबी गरे। ‘नयाँ उत्साहका साथ अब सरकारले विकासको लहर ल्याउनेछ’, उनले थपे, ‘तपाईंहरु ढुक्क हुनुस्,  अब देखिने गरी काम हुनेछ।’

राजधानीबारेमा चलाखी

अध्यक्ष दाहालले प्रदेशको राजधानीबारेमा आफुले कहीँ पनि ठाउँ नतोकेको बताए। उनले प्रदेश ५ को राजधानी पनि आफूले यहीँ हुनुपर्छ भनेर किटान नगरेको दाबी गरे। 

‘राजधानीका लागि सहयोग गर्ने कुरा छँदैछ। राजधानीबारेमा पक्कै पनि विभिन्न जिज्ञासा छन्। मानिसहरुबीचमा अनेक प्रश्न छन्’, उनले थपे, ‘बाँके बर्दिया, नेपालगञ्ज जाँदा एउटा भावाना छ। दाङमा अर्को भावना छ । रुपन्देही र लुम्बिनी आउँदा अर्को भावना छ। राजधानी सबैलाई लाभ हुने गरी निर्धारित गर्नुपर्छ।’

अध्यक्ष दाहालले सबैलाई सबैभन्दा बढी सुविधा जहाँ हुन्छ, त्यहीँ राजधानी तोक्नुपर्ने भन्दै कूटनीतिक जवाफ दिए । ‘पूर्वाधार भएकै ठाउँमा राजधानी हुनुपर्छ भन्ने छैन। नयाँ सहर बनाएर पनि राजधानी बनाउन सकिन्छ,’ उनले थपे, ‘मेरो भनाइ गलत होइन, मैले यहीँ नै राजधानी हुनुपर्छ भनेर कहीँ बोलेको छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.