|

बैतडी : मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा नमूना मतदानको आयोजना गरिएको छ। उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौंडी नगरपालिका ४ मा नमूना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। 

मंगलबार सुर्नया गाउँपालिका १ हटैराजमा भएको नमूना मतदानमा एक मात्रै भोट बदर गएको छ। मतदाताले दिएको मत बदर नहोस भन्नका लागि आयोजना गरिएको नमूना मतदानमा सहभागी ३६ जनामध्ये ३५ भोट सदर भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए। 

मतदातालाई मतदानको महत्व, मतदान गर्ने तरिकालगायतका विषयमा जानकारी दिनका लागि नमूना मतदानको आयोजना गरिएको हो। यसअघि सोमबार बैतडीको दोगडाकेदार ४ मा आयोजना गरिएको नमूना मतदानमा भने ६ जनाको मत बदर गएको निर्वाचन अधिकारी फुँयालले बताए। बुधबार पुर्चौंडी नगरपालिका ४ स्थित पहोरोल मावि बागा भटनामा नमूना मतदानको आयोजना गरिने भएको छ। 

चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए

उपनिर्वाचनमा बैतडीमा ४ हजार बढी मतदाता सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने ३ वडामा कुल ४ हजार ३३६ मतदाता सहभागी हुने भएका छन्। जसमा दोगडाकेदार गाउँपालिका ४ मा १ हजार ८०८ सुर्नया गाउँपालिका १ मा ६१९ र पुर्चौडी नगरपालिका ४ मा १९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए। 

निर्वाचन हुने ३ वडामा ५ वटा मतदान केन्द्र तोकिएका छन्। दोगडाकेदार ४ मा केदारनाथ मावि पिपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका १ मा गाविस भवन गुर्केली र पुर्चौडी नगरपालिका ४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदानकेन्द्र तोकिएका छन्।  

पिपलकोट माविमा १ हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा १०४४ मतदाताले मतदान गर्न पाउने भएका छन्। यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन्।

८ जना चुनावी मैदानमा

मंसिर १४ मा हुने उपनिर्वाचनका लागी बैतडीमा ८ जना चुनावी मैदानमा रहेका छन्। जिल्लाको दोगडाकेदार ४ मा नेकपावाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीले उम्मेदवारी दिएका छन्। यस्तै सुर्नया १ मा नेकपाबाट धनवहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

उता पुर्चौडी ४ मा नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोबिन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन्। वडा अध्यक्ष रित्त रहेका बैतडीका ३ वडामा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका उम्मेदवारी दिएका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन्।

जनशक्ति विवरण माग

अगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा जनशक्ति विवरण माग गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले बैतडीका सरकारी कार्यालयबाट निर्वाचनमा खटाउनको लागि जनशक्तिको माग गरेको हो। जिल्ला निर्वाचन अधिकारी माधव फुँयालका अनुसार सरकारी कार्यालयको काममा बाधा नपुग्ने गरी मतदानमा खटिनको लागि कर्मचारीको माग गरिएको हो।

संकलित कर्मचारीको विवरण मुख्य निर्वाचनमा पठाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले कति जनशक्ति पठाउने भन्ने टुंगो जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.