२१ महिनामा सरकार पुरै असफल भएको जिकिर

|

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी जनतालाई बन्दुक बोकाउँदा नेपाली कांग्रेसले जनताको हातमा पासपोर्ट थमाएको बताएका छन्। 

मंगलबार सानेपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शर्माले नेपाली कांग्रेसलाई जनताको हातमा पासपोर्ट थमाउने पार्टीका रुपमा ब्याख्या गरेका हुन्। 

'माओवादीले जनयुद्धका नाममा हजारौँ युवाहरूलाई बन्दुक थमाउँदै गर्दा कांग्रेसले ती युवालाई पासपोर्ट थमाएर विदेश पठायो, कुनै गल्ती गरेन', उनले भने, 'बिपी कोइराला गम्भीर बिरामी भएर विदेश जान खोज्दा शासकहरूले पासपोर्ट दिएका थिएनन्। तर कांग्रेले हजारौँ युवाहरूको हातमा पासपोर्ट थमाएर साउदी, कतार, मलेसिया पठायो। आज तिनै युवाले पठाएको रेमिट्यान्सले यो मुलुक चलेको छ।'

नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकांक्षा भए पनि कांग्रेस रहेसम्म पूरा हुन नदिने प्रवक्ता शर्माले बताए। 'अधिनायकवादी आकांक्षा त छ तर नेपालमा कांग्रेस पार्टी पनि छ,'उनले भने,' कांग्रेस रहेसम्म लोकतन्त्र खतरामा पर्दैन।'

शर्माले सरकार बनेको २१ महिनामा पुरै असफल भएको पनि दाबी गरे। ‘यो सरकार बनेको २१ महिनामा २१ प्रतिनिधिमूलक घटना र तथ्यमा सरकार असफल भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने। उपनिर्वाचन जितेर सरकार फेरबदल नहुने उनको भनाइ थियो। तर, सरकारले जे गरिराखेको छ, त्यो गलत छ भनेर सच्याउन सन्देश दिनु जरूरी रहेको उनले प्रष्ट पारे ।

शर्माले सरकार असफल हुनुमा राष्ट्रियतादेखि सुरक्षाका कारण रहेको बताए। ‘भारतले नक्सामा नेपालका भूमि समावेश गरेको यतिका दिन हुँदा भारतसँग कुनै संवाद सुरू भएन,’ उनले भने, ‘मिडिया खपतका लागि मात्रै प्रधानमन्त्रीले बोलेको सुनेका छौं।’

काठमाडौंमा युवा संघले गरेको एकता भेलामा आइतबार प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए। सरकारले संविधान संशोधन गरी संविधानप्रतिको दायरा विस्तार गर्न नसकेको पनि उनले आरोप लगाए। ‘मधेसकेन्द्रित दललाई सरकारमा लगियो तर डेढ वर्षअघि गरेको सहमतिअनुसार संविधान संशोधन गर्न सरकार तयार देखिएन,’उनले भने।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा केही नेताको नैतिकता लिलाम भएको कांग्रेसको भनाइ छ। तर, कांग्रेसले उपसभापति विजयकुमार गच्छदारको नाम मिडियामा जोडिएकोमा भने उनले असन्तुष्टि जनाए ।

कम्युनिष्ट पार्टीका नेताको छोराको नाममा जग्गा भेटिन्छ अनि अनुसन्धान कांग्रेसतिर सोझ्याएर विषयान्तर गर्ने र पूर्वाग्रही हुन खोजे जस्तो देखिएको छ,’ शर्माले भने। कम्युनिष्ट उकालो लाग्दा सेयरबजार ओरालो झरेको भन्दै उनले कटाक्ष गरे। प्रधानमन्त्रीले नै कार्यकर्तालाई अरिंगालजस्तो बनेर जाइलाग्न निर्देशन दिनु सरकारको गतिविधि असफल दिशातर्फ गइरहेको उनले बताए ।

सरकारले २१ महिना पूरा गरेको अवसरमा कांग्रेसले २१ बुँदामा सरकारको टिप्पणी गरेको छ। सरकार राष्ट्रियताको विषयमा कमजोर रहेको, संविधान संशोधन गर्न नसकेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, वाइडबडीलगायतका अनियमितताको घटना छानबिन गर्न नसकेको उनले बताए। बुढीगण्डकी आयोजनामा कम्युनिस्ट सरकारको राष्ट्रघात देखिएको प्रवक्ता शर्माले भनाइ थियो ।

मेलम्ची आयोजना समयमा पूरा गर्न नसकेको, निजगढ विमानस्थल अन्योलमा रहेको, चिकित्सा शास्त्रका विद्यार्थी टगी गर्नेलाई कारबाही गर्न नसकेको, प्रेसमाथि नियन्त्रण गरेको, धर्मका विषयमा विवादास्पद काम गरेको, सरकारको अभिव्यक्ति नै असहिष्णु रहेको शर्माको भनाइ छ।

‘कहिले जाइलाग भनेर अपिल गर्छ, कहिले प्रधानमन्त्रीले अरिगाल बन भनेर निर्देशन दिनुहुन्छ, यसले लोकतान्त्रिक संस्कार संकृतिलाई बलियो बनाउँदैन,’ उनले भने ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.