गुणस्तरीहन बनाइएपछ स्थानीयबासी आक्रोशित

|

विराटनगर : सडक निर्माणमा ढिलाइ गरेपछि दिक्क भएका स्थानीयबासीले विराटनगर महानगरपालिकामा मेयर भीम पराजुलीको तस्बिरसहितको ब्यानर बिजुलीको पोलमा टाँगेका छन्।

विराटनगर–६ का स्थानीयले सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्बिर बिजुलीको पोलमा टाँगेका हुन्। 

कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने बाटोका बिजुलीको पोलमा मेयरको तस्बिरसहित ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ लेखिएको पोष्टर टाँगेका हुन्।

ढल बिच्छयाउन भत्काएको सडक दुई वर्षसम्म नबनेपछि स्थानीय आक्रोशित बनेका छन्। यसअघि काठमाडौंमा ठेकेदारको फोटो राखेर विरोधको शैली सुरु भएको थियो। त्यही सिको गर्दै विराटनगरमा भने महानगर प्रमुखको फोटो टाँसेर विरोध जनाइएको हो। 

विराटनगरमा क्षेत्रीय सहरी विकास परियोजना सन् २०१७ नोबेम्बरमा सुरु भएको सम्झौता सकिएकोले म्याद थप गर्ने प्रक्रियामा महानगरपालिका पुगेको छ। 

आयोजनाले कालोपत्रे ५३ प्रतिशत, ढलको काम ८८ प्रतिशत र सडक नाला निर्माणको काम सबै पुरा भएको जनाएको छ। 

धूलोमा ‘प्राइमर कोट’

विराटनगरस्थित ‘रोडशेष चौक–रानी सडक’ निर्माण गुणस्तरहीन पाइएको छ। सघन सहरी विकास परियोजना अन्तर्गत निर्माण भएको उक्त सडक रमण कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ। कन्ट्रक्सनले धूलो नउडाई ‘प्राइमर कोट’ लगाएको पाइएको स्थानीयले गुनासो गरेका छन्।

सडक गुणस्तर र टिकाउ बनाउन कालोपत्रे (पिच) गर्नुभन्दा अगाडि प्राइमर कोट (सडकको बेस बनाएपछि धूलो उडाउनु) गरिन्छ। तर, रोडशेषचोक–रानीसम्मको करिब ५ किलोमिटर सडक लापरबाही तरिकाले निर्माण भइरहेको अनुगमन टोलीको ठहर छ। 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरका अध्यक्ष सागर थापासहित प्राविधिकहरूको टोलीले मंगलबार गरेको अनुगमनको क्रममा ‘रोडेशषचौक-रानी’ सडक खण्ड अन्तर्गत १ हजार ३ सय मिटरमा गुणस्तरहीन काम भइरहेको भेटिएको हो।

गुणस्तरहीन काम भइरहेको स्थानीयले गुनासो गरेपछि प्राविधिकसहितको टोलीले अनुगमन गरिएको थियो। अनुगमनको क्रममा गुणस्तरहीन काम भएको पाइएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए।

पराजुलीले महानगरपालिकाको कार्य क्षेत्रमा नपरेकोले सहरी विकास परियोजनालाई भन्दा पनि सुनवाइ नभएको बताउँदै आफूहरु कारबाहीको प्रक्रियामा जाने बताए। 

‘आजित भइसक्यौं, सहरी विकासलाई हामीले पटक-पटक भनेका छौं, मुख्यमन्त्री शेरधन राईलाई जानकारी दिएका छौं, माइन्यूट गरेका छौं, तर राज्यका कुनै पनि संयन्त्रलाई नटेरेको देखियो,’ पराजुलीको भनाइ छ, ‘अब हामी सबै संयन्त्रलाई बोलाएर बैठक गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने या कारबाही गर्ने निर्णय गर्छौं।’

‘पिच गर्नुभन्दा अगाडि सडक सफा गरि धूलोरहित तरिकाले प्राइमर कोट गरिनुपर्ने हो,’ अनुगमन टोलीका सदस्य तथा नेकपा विराटनगरका अध्यक्ष थापाले भने, ‘यहाँ निर्माण कम्पनीले धूलो सडकमा प्राइमर कोट गर्दै आएको भेटियो।’ 

टोलीले कमसल काम भएकोले तत्काल सुधार गरि पुन गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। 

‘बेस बसाएको ठाउँ-ठाउँमा पानी जमेर जलमग्न भएको छ। त्यही बिचमा निर्माण कम्पनीले पिच गर्न प्राइमर कोट लगाउने तयारी गरेको अनुगमनमको क्रममा भेटियो,’ थापाको भनाइ छ। साढे पाँच किलोमिटर सडक पिच गर्न रमण कन्स्ट्रक्सनले १७ करोड ९२ लाखमा ठेक्का लिएको हो। 

२०७४ जेठ २८ गतेदेखि निमार्ण सुरु गरेको कम्पनीले भर्खर १३ सय मिटर पिचको तयारी सुरु गरेको हो। पिचको तयारी सुरु गर्दा गुणस्तरीहिन भेटिएको विराटनगर १२ कोशीप्रोजेक्टका स्थानीय भिमबहादुर केसीले बताए।

संघीय आयोजना कार्यन्वयन ईकाइ मोरङका इन्जियनियर राजु शर्माले पिच गर्नुभन्दा अगाडि धूलो सफा नगरी प्राइमर कोट गरिँदा सडक टिकाउ नहुने बताए। ‘धूलो नउठाइ प्राइम कोट लगाउँदा पिच गर्दा अलकत्रा राम्रोसँग बस्दैन र उप्किन थाल्छ।’ 

यता रमण कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर प्रमोद साहले १ सय मिटरमा प्राइम कोट परीक्षणको रुपमा गरिएको बताए। ‘हामीले मेसिन नयाँ ल्याएका हौं,’ उनले भने, ‘त्यसको परीक्षण गरिएको हो। सफा गर्ने क्रममा धूलो देखिएको हो।’ प्राइम कोट गरिएको ठाउँमा धूलो देखिएपछि सुधार गरि गुणस्तरीय काम गरि अगाडि बढाउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.