|

दोलखा : कामचोर ठेकेदारको विरोधमा दोलखाका स्थानीयले सडकमा मानवसाङ्लो प्रदर्शन गरेका छन्। खाडीचौर–चरिकोट सडकको जिम्मा लिएका ठेकेदारविरुद्ध स्थानीयले नैतिक दबाब दिन सडकमा मानवसाङ्लो प्रदर्शन गरेका हुन्।

दोलखा जिल्लाको चरिकोटमा सर्वसाधारणले मानवसाङ्लो प्रदर्शन गरे। खाडीचौर-चरिकोट सडकखण्डको मुडे-चरिकोट खण्डको काम ढिलाइ गरको भन्दै उनीहरू ठेकेदारको विरोधमा उत्रिएका हुन्।

समयमै काम पूरा नगर्ने सडक निर्माण कम्पनीका ठेकेदार शंकरमाली निर्माण सेवाका सञ्चालक दीपक सापकोटाविरूद्ध मानवसाङ्लो बनाएर प्रदर्शन गरे। मंगलबार बिहान कालो मास्क लगाएर दोलखाका सर्वसाधारणले ठेकेदारको विरोध गरेका हुन्।

दिनयता सर्वसाधारणले सडक निर्माण नगर्ने ठेकेदारलाई दबाब दिनका लागि विरोधका शैली परिवर्तन गरेका छन्। सडक निर्माणमा ढिलाइ भएको भन्दै दोलखाका स्थानीले शनिबार ठेकेदारको फोटो सडक, सवारी साधन र सार्वजनिक स्थलमा टाँसेर विरोध जनाएका थिए। यो शैली सुरुवाता भक्तपुरवासीले गरेका थिए।

सिन्धुपाल्चोक हुँदै दोलखा, रामेछापलगायत चार जिल्लाको लाइफलाइनसँग यो सडक जोडिएका छ। तर, ठेकेदारले तोकिएको समयमा काम सकेका छैनन्।

सर्वसाधारणले सडक निर्माण नगरेकाले सास्ती खेप्नुपरेको भन्दै मुडे चरिकोट सडकखण्डका ठेकेदार शंकरमाली निर्माण सेवाका प्रोप्राइटर ‘दीपक सापकोटा मै हु’, ‘कालोपत्रे सहितको बाटो कहिले बन्छ? चार वर्षसम्म बाटो किन नबनेको हो?’ भन्ने प्रश्‍नसहितको फोटो टाँसा गरेका थिए।

दुई वर्षमा निर्माण सक्ने सम्झौताअनुसार ठेक्का लिएको चार वर्षमा पनि सम्पन्‍न गर्न सकेको छैन। २०७२ सालमा दुई वर्षमा सक्नेगरि मुडे-चरिकोट सडकखण्डको जिम्मा सापकोटाको कम्पनीले लिएको थिए। करिब ३० किलोमिटर सडक दुई लेन बनाएर कालोपत्रे गर्ने जिम्मा सो निर्माण कम्पनीले लिएको थियो।

दैनिक हजारौँ यात्रुले यात्रा गर्ने यो सडक निर्माण नहुँदा सर्वसाधारणले समस्या झेल्दै आएका छन्। भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा यो सडक निर्माण सुरु भएको थियो। खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार ठेकेदारकै लापर्वाहीकै कारणले निर्माण हुन सकेको छैन।

साताअघि भक्तपुरको नगरकोट सडकको काम ठेकेदार कम्पनीले समयमै काम नगरेको भन्दै फोटो टाँसे गरि विरोध गर्ने प्रक्रिया सुरु गरेका थिए। ठेकेदारको विरोध गर्ने यस्तो शैली अहिले चर्चाको विषय बनेको छ।

भक्तपुरको नगरकोटबाठ सुरु भएको नैतिक दबाब दिने विरोधशैली मोरङको विराटनगर पनि पुगेको छ। मंगलबार स्थानीयले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको पनि फोटो टाँस गरे विरोध गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.