|

भद्रपुर : झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा उजुरी परेको छ।

गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग रहने सेवा इकाइका लागि सूचीकृत फिल्ड सहायक कर्मचारी नियुक्ति मनपरी दंगबाट गरेको भन्दै अख्तियारमा उजुरी परेको हो।

सीप परीक्षण तथा अन्तर्वार्ता लिँदा गाउँपालिकाले ऐन तथा नियम मिचेको भन्दै सूचीकृत फिल्ड सहायक पदमा उम्मेदवारी दिएका जितेशकुमार यादवले सोमबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपीन्द्र थापामाथि अख्तियारमा उजुरी दिएका हुन्। उम्मेदवार यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै राष्ट्रिय अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय झापामा समेत बोधार्थ दिएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सेवा इकाइको लागि जनशक्ति छनोटसम्बन्धी मापदण्ड २०७६ को अन्तर्वार्ता समिति (१) दफा (८) बमोजिम प्रमुख प्रशासकीय अधिकृत संयोजक, जिल्ला प्रशासन कार्यालयले तोकेको अधिकृत प्रतिनिधि सदस्य र सम्बन्धित स्थानीय तहको सूचना प्रविधि अधिकृत वा संयोजकले तोकेको प्रविधि सम्बन्धी दक्षता भएको व्यक्ति सदस्य रहने व्यवस्था छ।

त्यसविपरीत गाउँपालिकाका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष थापाले समेत अन्तर्वार्ता लिएको समयमा कोठामा पसेको र उपाध्यक्ष थापाले प्रश्‍नसमेत सोधेको अख्तियारमा दिएको उजुरी पत्रमा यादवले आरोप लगाएका छन्।

गाउँपालिकाले २०७६ साल कार्तिक १७ गते अन्तर्वार्ताका लागि सूचना जारी गरे पनि २०७६ कार्तिक २६ गते अर्को सूचना प्रकाशित गरी परीक्षाको समय परिवर्तन गराएको यादवको भनाइ छ। गाउँपालिकाले सूचीकृत फिल्ड सहायक पदमा उजरीकर्ता यादव, प्रकाश अधिकारी र ऋतु पौडेल उम्मेदवार बनेका थिए। त्यसमध्ये गाउँपालिकाले ऋतु पौडेललाई नियुक्ति गरेको छ।

यता, गाउँपालिका अध्यक्ष श्रेष्ठले आफूहरूले सूचीकृत फिल्ड सहायकको अन्तर्वार्ता निष्पक्ष रूपमा लिन लगाएको बताए। ‘अन्तर्वार्ताका समयमा हामी अनुगमनको रूपमा कोठामा प्रवेश गएका थियौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘परीक्षालाई प्रभावित हुने खालको कुनै गतिविधि गरेका छैनौँ।’

त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष थापाले उम्मेदवारको अन्तर्वार्ता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सेवा इकाइको मापदण्डअनुसार लिएको दाबी गरे। ‘अन्तर्वार्ता निष्पक्ष र नियमसंगत भएकाले अख्तियारमा परेको उजुरीको कुनै अर्थ छैन’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.