उदयपुर : उदयपुरको बेलका नगरपालिकाका स्थानीयले पाँच दिनअघि देखिकाे चक्काजाम लगायतका कार्यक्रमहरू स्थानीयले फिर्ता लिएका छन्। जथाभावी नदिजन्य पदार्थ उत्खनन गरेको भन्दै स्थनीयले विरोधस्वरुप सडकमा चक्का जाम गरी विरोध प्रदर्शन गरिरहेका थिए।
स्थानीयसँग जिल्ला समन्वय समितिमा भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको स्थानीय रोशन धिमालले जानकारी दिए। गत शनिबारदेखि स्थानीयले प्ले कार्डमा ’ढुंगा बेच्न पाइँदैन, यस्तो मेयर चाहिँदैन’ भन्ने चर्काे नारासहित प्रदर्शन गर्दै आएका थिए।
आन्दोलनका क्रममा स्थानीयले नगरपालिकाको ४ र ६ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलाबाट ढुंगा ढुवानी गर्ने २० ओटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएका थिए। सोमबार प्रहरीले टिपर लगेपछि स्थानीयसँग झडप हुँदा केही सेल अश्रु ग्यास प्रहरीले प्रहार गरेको थियो।
झडपमा केही स्थानीय घाइते समेत भएका थिए। ठेकेदार र प्रहरीले बल प्रयोग गरेको भन्दै स्थानीयले बुधबार पूर्व-पश्चिम वैकल्पिक राजमार्गको रुपमा रहेको कोशीपुल-रुपनगर सडकमा सवारी साधन चल्न दिएका थिएनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।