|

धनकुटा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट नेतृत्वको सरकार असफल भइसकेको बताएका छन्। 

कम्युनिस्ट पार्टीको सरकारले विकासको प्राथमिकता र जनताका आवश्यकता छुट्याउन नसकेर असफल भएको उनले बताए। प्रदेश १ कोे पाँचथर र तेह्रथुमको कार्यकर्ता भेला सकेर धनकुटा पुगेका नेता पौडेलले प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारले हावादारी कुरा गरेर समृद्धिको यात्रामा ध्यान नदिएको आरोप लगाए।

वरिष्ठ नेता पौडेलले अहिलेको सरकारले पुराना सरकारले गरेका कामको उदघाटन मात्रै गरेको र नयाँ योजना शिलान्यास गर्न नसकेको दाबी गरे। उनले सरकार गठनपछि जनतालाई सुशासनसँगै न्याय दिन नसकेको, पक्षपातपूर्ण शासन गरेको, स्वदेशी लगानीकर्ता, दाता र सहयोगीहरू भाग्न थाल्दा समृद्धिका बाटाहरू रोकिन थालेको आरोप लगाए। 

अधिकांश समय सरकारको विरोधमा खर्चिएका पौडेलले सरकारका कुरा मात्रै ठूला काम केही नभएको हुनाले सरकार असफल भएको पटकपटक दोहो¥याए। 

फरक प्रसंगमा नेता पौडेलले मुलुकमा अब कांग्रेस र कम्युनिस्ट पार्टी मात्रै रहेकाले जनताले एकपटक कम्युनिस्टलाई रोजिसकेको तर काम केही नभएकाले अब कांग्रेसले आफूभित्रको कमजोरी हटाएर जनताको भरोसा बन्नुपर्ने र बनाउने अभियानमा लागेको बताए। 

यस्तै, सीमा विवाद मिलाउने काम सरकारको भएकाले त्यसमा सरकारले राम्रो गरे कांग्रेसले सहयोग गर्ने बताए। सरकारले प्रदेश प्रमुख हटाएको विषयमा तपाईहरुको केही धारणा आएन त भन्ने प्रश्नमा उनले सरकारले प्रदेश प्रमुख हटाएर मत्ताहात्तीको रवैया देखाएको आरोप लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.