काम नगर्ने र विवादितलाई विदेश जान प्रतिबन्ध

|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको नियमित आन्तरिक बैठक बुधबार बिहान नेपाल पर्यटन बोर्ड कार्यालय भृकुटीमण्डपमा बसेको छ। 

उक्त बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विभागको कामप्रति कडा तीव्र असन्तुष्टि जनाएका छन् मन्त्रालय मातहतका विभागहरुले सन्तोषजनक काम नगरेको भन्दै उनले कडा टिप्पणी गरेका हुन्। 

बैठकमा मातहतका कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले प्रभावकारी काम गर्न नसक्नेहरुलाई स्पष्टीकरण सोधिने बताएका छन्। 'सन्तोषजनक काम गर्न नसक्नेहरुले स्पष्टीकरणका लागि तयार रहनुहोला', बैठकमा बोल्दै उनले भने, 'यदि काम गर्न नसक्ने हो भने पद छाडिदिनु होला, नत्र म आफैँ परिवर्तन गर्न बाध्य हुन्छु।'

मन्त्री भट्टराईले सन्तोषजनक काम नभएका कार्यालय प्रमुखहरुलाई फेर्ने जानकारी पनि दिएका छन्। 'सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरुलाई मन्त्रालयले परिवर्तन गर्छ', उनले भने, 'परिवर्तनका क्रममा पद गुमाउनेहरुले मन नदुखाउनुहोला।'

बाटो खाली गर्नू 

उनले मन्त्रालय अन्तर्गतका विभिन्‍न संस्थान र कार्यालयहरुमा राजनीतिक नियुक्ति लिएर बसेकाहरुलाई पनि तत्काल बाटो खाली गरिदिन निर्देशन दिएका छन्। 
'विभिन्‍न पदमा राजनीतिक नियुक्ति लिएर सन्तोषजनक काम नगरेकाहरुले तत्काल बाटो खाली गरिदिनु होला', उनले भने, 'खाली नगरे कामका आधारमा आफैँ हटाउन बाध्य हुनेछु। हटाएको खण्डमा अदालत पुगेर नरुनु होला।'

मन्त्री भट्टराई बैठकका क्रममा राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहनस्वरुप सुविधा थप गर्ने पनि बताए। 'राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहनस्वरुप सुविधान उपलव्ध गराउन मन्त्रालय तयार छ', उनले भने, 'तर देखाउनकै लागि मात्रै काम गर्ने प्रवृत्ति मेरा लागि स्वीकार्य छैन।'

मन्त्री भट्टराईले बुधबारको बैठकमा मन्त्रालय अन्तर्गतका विभिन्‍‍न विभाग र कार्यालयले प्रस्तुत गरेका कार्य प्रगति विवरण काम चलाउ मात्रै भएको भन्दै आक्रोश पोखेका छन्। 'तपाईंहरुले पेश गरेका कार्यप्रगति विवरण काम चलाउ मात्रै भए', उनले भने, 'काम देखिने गरी कदम चाल्नुस्, मलाई काम देखिने गरी अर्को प्रतिवेदन चाहियो।'

मन्त्री भट्टराईले मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुको प्रतिवेदन चित्त नबुझेपछि अर्को बैठक पुन: यही ११ र १२ गतेका लागि बोलाएका छन्।

भ्रमण वर्षको खाका 

मन्त्री भट्टराईले आसन्‍न नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पूर्ण योजनासहितको खाका ल्याउन निर्देशन दिएका छन्। 'भ्रमण बर्ष सफल बनाउन मन्त्रालय मातहतका सबैले के के गर्ने योजनासहित आउनु होला', उनले भने, 'मंसिर ११ र १२ गते बस्‍ने बैठकमा खाका प्रस्तुत गर्नु होला।'

विवादित कर्मचारीलाई विदेश जान रोक

मन्त्री भट्टराईले कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्न निर्देशन दिएका छन्। उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउने जानकारी पनि बैठकमा दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.