सरकारमै सम्मानजनक हैसियतको खोजी

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि तनावमा रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिल्लीमा राजनीतिक भेटघाट तीव्र पारेका छन्। 

करिब तीन महिनादेखि बोलचाल बन्द भएपछि प्रधानमन्त्री ओलीले यादवलाई मन्त्रीबाट हटाउने जनाऊ तीन साताअघि नै दिइसकेका थिए। 

तर यहीबीचमा यादव सोमबार भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका थिए। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिन भन्दै दिल्लीतर्फ लागेका थिए। 

पार्टीको केन्द्रीय समिति बैठक सकिएलगत्तै उनी दिल्लीतर्फ लागेका उनले राजनीतिक भेटघाट तीव्र बनाएका हुन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि व्यवस्थापनसम्बन्धी तीन दिने कार्यक्रमा भाग लिन भारततर्फ लागेका उनी आगामी शुक्रबारसम्म भारतमै रहने छन्। 

पाँच दिनसम्म दिल्लीमा रहँदा उनले त्यहाँ राजनीतिक भेटघाट थालेका हुन। यही क्रममा उनले बुधबार भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटघाट गरेका छन्। 

माधवकै कार्यालयमा भेटघाट गरिरहेको तस्बिर बुधबार सार्वजनिक भएको छ। असन्तुष्ट रहेका ओलीले मन्त्री हेरफेरसँगै यादवलाई स्वास्थ्यबाट विनाविभागीमा पठाउने चर्चाका बीच भारतको सत्तारुढ दलका नेताहरुसँग यादवले भेट तीव्र पारेका हुन्। 

संविधान संशोधनको विषयलाई लिएर यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बोलचाल बन्द रहेको अवस्था छ। ओलीले मन्त्री पदमै बसेर सरकारको आलोचना बन्द गर्न नत्र बाहिरिन भन्दै यसअघि नै यादवलाई कडा सन्देश दिएका थिए। 

तर केही दिनअघि बसेको समाजवादी पार्टीको बैठकले सरकार छाड्ने या नछाड्ने निर्णय यादवलाई नै दिएको थियो। 

प्रधानमन्त्रीसँग सम्बन्धन चिसिए पनि यादवले तत्काल सरकार नछाड्ने निर्णय लिएका छन्। भारतले मिचेको नेपाली भूमिबारे देशभर विरोधको स्वर चर्किरहेका बेला यादव दिल्लीतर्फ लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो। 

ओली मन्त्री हेरफेरको रस्साकस्सीमा लागेका बेला यादवले भारतीय सत्ता पक्षसँग तत्काल सम्मानजनक हैसियतमा सरकारमै रहने वातावरणका लागि पहलको अनुरोध गरेको स्रोतको दाबी छ। 

उनको सचिवालयले यादव विशुद्ध स्वास्थ्यसम्बन्धी कार्यक्रममा गएको दाबी गरेका बेला राजनीतिक भेटघाटको तस्बिर बाहिरिएको हो।

सीमा समस्या समाधानका लागिसमेत संविधान संशोधन आवश्यक रहेको तर्क गरिरहेको सत्ता साझेदार दलका प्रमुख नेता यादवको भारत भ्रमणलाई समाजवादी पार्टी र बाहिर पनि अर्थपूर्ण रुपमा हेरिएको थियो।

यसअघि पनि अन्य मुलुकमा हुने स्वास्थ्यसम्बन्धी कार्यक्रमा यादव छानेर जाने गरेका थिए। तर भारतमा हुने स्वास्थ्यसम्बन्धी सानातिना कार्यक्रममा सहभागी हुन उनी आफैँ जाने गरेका छन्। ओली मन्त्रिपरिषद्मा सबैभन्दा धेरै विदेश भ्रमण गर्ने मन्त्रीमध्ये यादव एक हुन्। 

को हुन् राम माधव?

भाजपाका महासचिव राम माधव एकजना शक्तिशाली नेता हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अध्यक्ष अमित शाहसँगै माधव पनि भाजपाको शीर्ष र निर्णायक नेतामध्ये एक हुन्। 

आरएसएसका पूर्वप्रवक्ता उनी भाजपाको शक्तिशाली महासचिव रहेका छन्। उनलाई नेपाल मामिलामा सबैभन्दा जानकार नेताका रुमपा लिइएको छ। नेपालका हिन्दुवादीहरुमाझ राम माधव चर्चित नाम पनि हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.