|

डडेल्धुरा/गुल्मी : जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जिल्लाका विभिन्न विद्यालयमा साइबर अपराध, मानव बेचबिखन, महिला हिंसा र सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ।

पछिल्लो समयका युवायुवतीमा बढ्दो साइबर अपराध, लागू औषध सेवनलगायतका विभिन्न समस्या देखिन थालेपछि त्यसलाई न्यूनीकरण गर्नका विद्यार्थीमाझ यो कार्यक्रम संचालन गरिएको हो।

जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्षित गरी सो अभियान थालिएको हो। विद्यार्थीले आफूले सिकेको कुरालाई अभिभावक र समाजसम्म पुर्‍याउने हुँदा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा पुगेर प्रहरी यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो। यसैक्रममा बुधबार डडेल्धुरा सदरमुकाममा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त आयोजनामा ‘समुदाय–प्रहरी साझेदारी र समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला सदरमुकामको क्याम्ब्रिज पब्लिक स्कुलका कक्षा ११ (कानुनसंकाय) का विद्यार्थीसँग अपराधको परिचय, जिल्लाको वर्तमान अपराधको अवस्था, अपराधिक घटना घटेपश्चात अनुसन्धानको प्रकृया, मानिस अपराधमा संलग्न हुने कारणलगायतका विषयमा जनचेतनामूलक छलफल एवं अन्तरक्रिया गरिएको हो।

जिल्ला अदालत डडेल्धुराका जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा (उपाध्याय पङ्गेनी)को प्रमुख आतिथ्यतामा, जिल्ला सहायक न्याधिवक्ता कविराज शर्मा (उपाध्याय), क्याम्व्रिज पब्लिक स्कुलका प्रधानाध्यापक हर्केस साँकी, अधिवक्ता युवराज जोशी, तीर्थराज जोशी, रोहित देउवालगायत संचारकर्मी तथा शिक्षकहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको हो।

जिल्लाका विभिन्न स्थानीय तहका  विद्यालय गई साइबर अपराध, महिला हिंसा, लागुऔषध, मानव बेचबिखन र सडक सुरक्षासँगै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्य गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

प्रहरीले सिकाएका विषय विद्यार्थीमा गहिरो छाप पर्ने उनले बताए। प्रहरीले सिकाएका विषय विद्यार्थीले विद्यालय, परिवार र समुदायमा सहजै लागू गर्ने उनको ठम्याइ छ।

प्रहरीले सञ्चालन गर्ने यस्ता कार्यक्रमले विद्यालयलमा मात्रै नभएर समुदायमा समेत सकारात्मक सन्देश जाने क्याम्व्रिज पब्लिक स्कुलका प्रधानाध्यापक हर्केस साँकीले बताए। विद्यार्थीलाई कानुन र कुलतबारे जानकारी गराउँदा त्यसको असरबारे सचेत हुने भएकाले हरसमय उनीहरू सजग हुने उनको भनाइ छ।

बढ्दै अपराधिक घटना

डडेल्धुरा जिल्लामा विगतका वर्षहरूमा सबैभन्दा बढी झुण्डि तथा विष सेवनगरि, आत्महत्या, जवरजस्तीकरणी, सवारी दुर्घटना, सार्वजनिक अपराध, कर्तव्य ज्यान जस्ता घटनाहरु घट्ने गरेका छन्।

आर्थिक वर्ष २०७३/७४ मा विभिन्न शीर्षकमा ५० वटा मुद्दा दर्ता भएका थिए भने २०७४/७५ मा ५१ वटा र २०७५/७६ मा ८० वटा मुद्घा दर्ता भएका छन्। चालु आर्थिक वर्ष ०७६/७७  हालसम्ममा ३१ वटा मुद्दा दर्ता भएका छन्। विगतको तथ्यांक हेर्दा प्रत्येक वर्ष अपराधिक घटनाहरू बढिरहेका छन्।

जनस्तरमा कानूनी ज्ञानको प्रभाव, मादब पदार्थ र लागुऔषध सेवनमा वृद्घि, साधुँरो सडक र चालकको लापर्बाही, प्रहरीलाई समयमै खबर नपुग्नु, भौगलिक विकटताका कारण सबै ठाउँमा प्रहरीको पहुँच नहुनु तथा समाजमा अपराधिक घटनालाई ढाक छेप गर्ने प्रवृति कायमै रहनुलगायतका कारणले अपराधिक क्रियाकलाप बढिरहेको डीएसपी न्यौपानले जानकारी दिए।

गुल्मीमा पनि विद्यार्थी पढाउँदै प्रहरी

त्यस्तै, जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि गाउँका विद्यालय पनि यस्तै कार्यक्रम संचालन गरेको छ। जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पछिल्लो समयका युवायुवतीमा बड्दो साइबर अपराध देखिएको र त्यसलाई न्यूनीकरण गर्नका लागि पहिले विद्याथीमार्फत यो कार्यक्रम प्रभावकारी हुने भएकाले यसरी अभियान नै संचालन गरेको बताए। 

घलेका अनुसार  जिल्लाका विभिन्न स्थानीय तहका  २३ वटा विद्यालय गई साइबर अपराध, महिला हिंसा, लागुऔषध, मानव बेचविखन र सडक सुरक्षासँगै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्य गरिएको जानकारी दिए।

विद्यार्थीमार्फत यो कार्यक्रमलाई समाजमा लैजादा घरपरिवार र समाजमा सजिलैसँग जान सक्ने भन्दै यसरी माध्यमिक तहका विद्याथीलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.